१२ असार २०७९, आईतवार
निर्माणमा ढिलाई
पूर्वाधार/विकास

दश अर्बभित्र सक्ने अनुमान गरिएको निर्माणाधिन नयाँ संसद भवनको डेटलाइन सकियो, काम आधा मात्रै

प्रकाशित मिति :  ५ असार २०७९, आईतवार १२:३६


♦ गोमा विष्ट 

५ असार, काठमाडौं । शुक्र अन्ध भएको समयमा सिलान्यास गर्दा अशुभ हुने ज्योतिषहरुले बताइरहँदा २०७६ असोज १ गते तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले सिलान्यास गरेको संघीय संसद भवनको निर्माण कार्य सम्पन्न गर्ने समय तालिका सकिएको छ । तोकिएको समयभित्र सक्ने भनिए पनि यसको निर्माण कार्य आधा पनि सकिएको छैन ।

यसअघि सिंहदरबारमा छुट्टै संसद परिसर निर्माणका लागि २०२५ सालमा समेत डिजाइन बनाउन सुरु गरिएको थियो । तर २०३० सालमा सिंहदरबारमा भएको आगलागीका कारण सो निर्माण कार्य रोकिएको थियो । अहिले गृह मन्त्रालय रहेको भवन त्यस बेला नै निर्माण गरिएको संसद् सचिवालयको भवन हो ।

ओलीले सिंहदरबारको पुतली बगैंचामा निर्माण भइरहेको संघीय संसद् भवनको शिलान्यास गर्दा २० ७८ असारभित्र निर्माण सम्पन्न गर्ने बताएका थिए । संघीय संसद लामो समयदेखि भवनविहीन रहँदै आएको छ । सिंहदरबाभित्रै भएको प्रतिनिधिसभा भवन काम नलाग्ने भएपछि लामो समयदेखि संसद बैठक बानेश्वरस्थित अन्तरर्राष्ट्रिय सम्मेलन केन्द्रमा भाडामा बस्दै आइरहेको छ ।

सहरी विकास मन्त्रालयले सिंहदरबारको पुतली बगैँचामा संसद भवन बनाउनका लागि डिजाइन तयार पारेको हो । मन्त्रालयका अनुसार उक्त भवन निर्माणको लागत १० अर्ब रुपैयाँ अनुमान गरिएको थियो । अब लागत पनि दोब्बरले बढ्ने देखिएको छ ।

सहरी विकासले गराएको डिजाइनमा दलको कार्यालय, संसद सचिवालय, राष्ट्रिय सभा तथा प्रनिनिधिसभा नजिकै राखिने गरी निर्माण भइरहेको छ । संसद भवनको क्षेत्रको मध्यभागतिर भीभीआईपीका लागि प्रवेशद्वार राखिएको छ । त्यसकै छेउमा कर्मचारी तथा अन्यका लागि प्रवेशद्वार राखिँदैछ ।

डिाजाइन अनुसार मुख्य गेटबाट प्रवेश गरेपछि प्लाजामा पुगिनेछ । त्यसको एकापट्टि संसद सचिवालय र अर्कोेतिर प्रतिनिधिसभाको हल राखिनेछ । सचिवालय र प्रतिनिधि सभाको पछिल्लो भागमा एकापट्टि दलको कार्यालय र अर्कोपट्टि राष्ट्रियसभा हुने गरी मन्त्रालयले डिजाइन तयार पारिएको छ । संसद् भवनकै क्षेत्रभित्रमा बगंैचा, तथा सानो चौरसमेत रहने छ ।

इन्टरनेशनल स्टेट अफ द आर्टको मोडलमा बनाउन लागिएको संघीय संसद भवनको काम अहिले धमाधम चलिरहेको छ । संसद भवन १ सय ७३ रोपनी ८ आना क्षेत्रफलमा बनाइको हो ।

संसद भवन परिषरलाई भवन क्षेत्र, खुल्ला, हरियाली क्षेत्र र पार्किङ्ग क्षेत्र तथा सडक पूर्वाधार क्षेत्र गरि तीन वटा क्षेत्रमा विभाजन गरिएको छ । भवनले २७, खुल्ला हरियाली क्षेत्रले ४५ र २८ प्रतिशत क्षेत्रफल सडक पूर्वाधारले ओगटेको हुनेछ । परिसरको मूल ढोका दक्षिण तर्फ रहने छ । उत्तर पश्चिमको गेटबाट सांसदहरुलाई प्रवेश गराईने छ भने दक्षिण पुर्वमा कर्मचारी तथा सर्वसाधरण प्रवेशको लागि गेट रहने छ । सबै गेटमा जाँचका लागि आधुनिक सुरक्षा प्रविधि जडान गरिएको हुनेछ ।

नयाँ वानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको भवन प्रयोग गरेवापत संसद् सचिवालयले अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र विकास समितिलाई अहिलेसम्म भाडा वापत एक अर्बभन्दा बढी रकम बुझाइसकेको छ । सचिवालयले अहिले भाडा वापत वार्षिक पन्ध्र करोड रुपियाँ तिर्ने गरेको छ । संसद् सचिवालय र समितिबीच भएको सम्झौतामा प्रत्येक दुई वर्षमा दश प्रतिशत भाडा वृद्धि गर्ने समेत उल्लेख गरिएको छ ।

अहिलेसम्म तिरिएको भाडा हिसाब गर्ने हो भने एउटा छुट्टै सम्मेलन केन्द्र नै निर्माण बराबरको रकम खर्च भइसकेको छ । निर्माण सम्मपन्न गर्ने समय सकिएको र अधा पनि काम नसकिएकाले तोकिएको लागतमा निर्माण नहुने देखिएको छ । निर्माण सामाग्रीको मुल्य उच्च रुपमा बढेकाले पनि लगत बढ्ने मन्त्रालयको भनाइ छ ।


1.24k
Shares
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा