५ असार, पर्सा । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले अमेरिकाको स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) लाई चुनावी एजेण्डा बनाउने नेकपा एमालेको रणनीति सफल नहुने बताएका छन् । उनले आफै सरकारमा रहेका बेला काम अगाडप् बढाउने र सरकारबाट बाहिरिएपछि त्यसैमा अनावश्यक विवाद र बखेडा झिकेर एमालेले गैरजिम्मेवारीपूर्ण काम गरेको बताएका छन् ।
नेपाल प्रेस युनियन पर्साले आइतबार वीरगञ्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा प्रवक्ता महतले एमालेले अमेरिकाको स्टेट पार्टनरसीप प्रोग्राम एसपिपीलाई चुनावी एजेण्डा बनाउन खोजेको अरोप लगाए । उनले सन २० १९ मा एमाले सरकारमा रहेको र उक्त समयमा अमेरिकाले एसपीपीमा सहभागि हुन नेपालले गरेको आग्रह स्वीकार गर्दा तत्कालिन प्रधानमन्त्री ओलीले किन अस्वीकार नगरेको भन्दै प्रश्न गरे ।
महतले आफु प्रधानमन्त्री हुँदा चुइक्क बोल्न नसक्ने ओलीले अहिले यसलाई चुनावी एजेण्डा बनाउनु गैरराजनीतिक चरित्र देखाउनु जस्तै भएको बताए । उनले जब ओली सरकारकै पालामा यसमा पत्राचार भएको भन्ने कुरा खुलिसकेको र तर एजेण्डाविहीन बनेको एमालेले एसपीपीलाई आगामी संसदीय निर्वाचनको एजेण्डा नै बनाउन खोज्नु गलत भएको बताए ।
नेकपा एमाले गएको स्थानीय तहको निर्वाचनपछि एजेण्डाविहीन बनेको र त्यसैले सरकारका विरुद्धमा आगामी संसदीय निर्वाचनलाई लक्ष्य गरेर विभिन्न अनर्गल प्रचारमा लागेको आरोप प्रवक्ता महतले लगाएका थिए । पूर्वपरराष्ट्रमन्त्रीसमेत रहेएका प्रवक्ता महतले नेपालले कुनै देश या समय हेरेर नभई स्थायी र सन्तुलित परराष्ट्र नीति संचालन गर्नुपर्नेमा जोड दिए ।
एक अर्को प्रसङ्गमा उनले वीरगंज चिनी कारखाना र कृषि औजार कारखाना पुनःसंचालनको सम्भावना कमै रहेको बताए । निजी क्षेत्रलाई प्रतिस्पर्धीरुपमा अघि बढाउनुपर्ने नीति सरकारको हुनुपर्ने भन्दै नेता महतले स्वास्थ्य, शिक्षा र पूर्वाधार निर्माण जस्ता क्षेत्रमा सरकारले लगानी बढाउनुपर्ने विचार व्यक्त गरे ।
निजी क्षेत्रको सक्रिय सहभागिताविना देशको आर्थिक विकास सम्भव नहुने भएकाले उद्योग व्यापारका क्षेत्रमा सरकारले हात हाल्न नहुने धारणा उनको थियो । स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेससहितको पाँच दलीय गठबन्धनले राम्रो प्रतिफल हासिल गरेकाले आउने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा पनि पाँच दलको गठबन्धन बन्ने उनले बताएका छन् ।