११ असार २०७९, शनिबार

राज्यका हरेक संरचनामा दलित महिलाको समान सहभागिताको माग

प्रकाशित मिति :  ५ असार २०७९, आईतवार १८:२४


५ असार , काठमाडौं । दलित समुदायका महिलाको राज्यका हरेक संरचनामा समान सहभागिताको माग गरिएको छ । दलित महिला संघ ९फेडो० द्वारा यहाँ आज नवनिर्वाचित जनप्रतिनिधि महिला सदस्यका लागि आयोजना गरिएको बधाई, शुभकामना तथा अन्तरक्रिया कार्यक्रममा महिला नेत्री तथा दलित महिला अधिकारकर्मीले उक्त माग गरेका हुन् ।

कार्यक्रमका सहभागीले दलित महिला दोहोरो मारमा परेको भन्दै उनीहरुको लागि राज्यले विशेष आरक्षणसहित प्रत्येक संरचनामा समान सहभागिताका लागि जोड दिनुपर्ने बताए । समाजवादी पार्टीकी सचिव दुर्गा सोवले समाजमा दोहोरो, तेहेरो विभेद भोग्दै आएका दलित महिलालाई स्थानीय तहको निर्वाचनमा निर्णायक तहभन्दा पनि वडा सदस्यमै सीमित गरिएको आरोप लगाए ।

“मुलुक परिवर्तनमा दलित महिलाको अतुलनीय योगदान छ, व्यवस्था परिवर्तन भएको छ तर दलित महिलाको अवस्था उस्तै छ, उनीहरुले हरेक तहमा चरम विभेद भोग्दै आएका छन् । त्यसबारेमा राज्य गम्भीर भएको देखिँदैन”, उनले भने । दलित समुदायका महिलाको आर्थिक, सामाजिक र राजनीतिक समस्याप्रति सरकार र मुख्य राजनीतिक पार्टी नै गम्भीर हुन नसकेको सोवको भनाइ छ ।

फेडोकी अध्यक्ष कला स्वर्णकारले प्राप्त अधिकारलाई सुनिश्चित गर्दै थप अधिकारका निम्ति दलित समुदायका महिलाले एकीकृत रुपमा संघर्ष गर्नुपर्ने आवश्यकता औँल्याए । महासचिव रेणु सिजापतिले देशका विभिन्न स्थानमा जातीय भेदभाव तथा छुवाछूतका कारण दलित समुदायले ज्यानसमेत गुमाउनुपरेको अवस्था उल्लेख गर्दै सरकारले जातीय भेदभाव तथा छुवाछूत (कसुर र सजाय) ऐन २०६८ को प्रभावकारी कार्यान्वयन गर्नुपर्नेमा जोड दिए ।

अधिकारकर्मी जेवी विश्वकर्माले समावेशीकरणको मुद्दालाई अझै बलियो बनाउन सिमान्तकृत समुदायबीचको एकता र सङ्घर्षको आवश्यकता औँल्याए । ललितपुर महानगरपालिका–१४ की दलित महिला सदस्य सङ्गीता अछामीले दलित महिलाको क्षमता भए पनि स्थानीय तहको निर्वाचनमा वडा सदस्यमै सीमित गरिएको भन्दै गुनासो गरे ।


169
Shares
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा