११ असार २०७९, शनिबार
नेपाल प्रहरी

आईजीपी नियुक्तिविरुद्धको रिटमा सकिएन बहस, फैसला नहुँदै एआईजी पोखरेल अवकाशमा जाने सम्भावना

प्रकाशित मिति :  ५ असार २०७९, आईतवार २१:१२


५ असार, काठमाडौं ।  प्रहरी महानिरीक्षक (आईजीपी) नियुक्तिविरुद्ध एआईजी विश्वराज पोखरेलले दायर गरेको मुद्दा आइतबार पनि हेर्दाहेर्दैमा राखिएको छ । सर्वोच्च अदालतका कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्की र न्यायाधीश कुमार चुँडालको इजलाशमा मुद्दा असार १३ गतेसम्मका लागि हेर्दाहेर्दैमा राखिएको हो ।

यसअघि गत जेठ ३० गते पनि आजका लागि हेर्दाहेर्दैमा राखिएको थियो । मुद्दामा बहस नसकिएकाले फेरि असार १३ सम्म हेर्दाहेर्दैमा राखिएको हो । आइतबार रिटकर्ता पोखरेलका तर्फबाट दुई दर्जन कानुन व्यवसायीले बहस गरेका छन् ।

पोखरेलको तर्फबाट माधव बस्नेत, महादेव यादव, सुनील पोखरेल, रमेश बडाल, शम्भु पोखरेल, कृष्णप्रसाद भण्डारी, पूर्णमान शाक्य, राधेश्याम अधिकारी, हरि उप्रेती, हरिहर दाहाललगायतले बहस गरेका थिए ।

बहस लम्बिदै जाँदा उनले दायर गरेको रिटको फैसला नआउँदै अवकाश पाएर घर जाने सम्भावन प्रवल बन्दै गएको छ । एआईजी पोखरेलले साउन २० गते अनिवार्य अवकाश पाउँदैछन् ।

आईजीपी सिंह, एआईजी विश्वराज पोखरेल, सहकुल थापा र रवीन्द्रसिंह धानुक २०४९ चैत १२ गते प्रहरी निरीक्षकबाट सेवामा प्रवेश गरेका थिए । डीएसपी र एसपीसम्म उनीहरू सँगसँगै बढुवा भएका थिए ।

प्रहरी निरीक्षकदेखि एसपी हुँदासम्मको क्रमसंख्यामा पोखरेलभन्दा सिंह नै अगाडि थिए । प्रहरी निरीक्षक र डीएसपी हुँदा सिंह पहिलो नम्बरमा थिए भने एसपी हुँदा उत्तमराज सुवेदी पहिलो नम्बरमा र सिंह दोस्रोमा थिए । विश्वराज पोखरेल पाँचौं नम्बरमा थिए ।

एसएसपीमा बढुवा हुँदा भने पोखरेलले आफ्ना समकालीन सबैलाई उछिने । उनी एसएसपीको वरीयतामा नवौं स्थानमा थिए भने धीरजप्रताप सिंह १६ र उत्तम सुवेदी १७ औं स्थानमा थिए । त्यसपछि पनि अरूलाई पछाडि पारेर डीआईजी र एआईजीसम्म पोखरेललाई एक्लै अगाडि बढाइएको थियो ।

तत्कालीन डीआईजी सुशील भण्डारीको सवारी दुर्घटनामा निधन भएपछि एउटा डीआईजी पद रिक्त हुन पुगेको थियो । २०७६ वैशाखमा तत्कालीन केपी ओली सरकारले अगाडिको ब्याचका अधिकृतको पालोसमेत मिचेर नवौं वरियतामा रहेका पोखरेललाई एसएसपीबाट डीआईजीमा बढुवा गरेको थियो ।


8.75k
Shares
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा