११ असार २०७९, शनिबार

पुँजीगत खर्चमा निराशाः छुट्याएको तीन खर्ब ७८ अर्ब, खर्च भयो एक खर्ब ४० अर्ब

प्रकाशित मिति :  ६ असार २०७९, सोमबार ०८:०४


♦ रमेश लम्साल 

६ असार,काठमाडौं । चालु आर्थिक वर्ष सकिन अब २६ दिन बाँकी छ । सरकारले कूल तीन खर्ब ७८ अर्ब नौ करोड ७७ लाख बराबरको पुँजीगत खर्च गर्ने लक्ष्य राखेको थियो । हालसम्मको विवरण हेर्दा मात्रै एक खर्ब ४० अर्ब १६ करोड ४५ लाख बराबर मात्रै पुँजीगत खर्च गरिएको छ । प्रतिशतका आधारमा हेर्दा यो ३७ दशमलव शुन्य सात मात्रै हो ।

सरकारले विकास निर्माणको काममा हुने खर्च बढाउने र त्यसका लागि सबै उपाय अवलम्बन गर्ने भने पनि त्यसअनुसार हुन सकेको छैन । अर्थमन्त्री जनार्दन शर्माले मासिक १० प्रतिशत बराबरको खर्च गर्ने घोषणा गरेका थिए । तर, घोषणाअनुसार काम हुन सकेन ।

सरकारको खर्चको हिसाब किताब राख्ने महालेखा नियन्त्रक कार्यालयका अनुसार सरकारले अपेक्षाकृतरुपमा विकास निर्माणको काममा खर्च गर्न सकेको छैन । यही असार ४ गते शनिबारसम्म सरकारको कूल खर्च ६४.५५ प्रतिशत बराबर भएको छ । त्यसमा चालुतर्फको खर्च सबैभन्दा बढी छ । त्यसका कर्मचारीको तलब भत्ता, दैनिक खर्च जोडिएको हुन्छ ।

चालु खर्च ७७.२ प्रतिशत बराबर भएको छ । त्यो भनेको आठ खर्ब २२ अर्ब ४५ करोड ६५ लाख बराबर हो । सरकारले चालु आवमा चालुतर्फ कूल १० खर्ब ६५ अर्ब २९ करोड ३९ लाख बराबर खर्च गर्ने लक्ष्य राखेको थियो ।

यस्तै वित्तीय व्यवस्थातर्फ हालसम्म कूल ९१ अर्ब ३७ करोड ६८ लाख बराबर खर्च गरिएको छ । चालु आवमा सरकारले एक खर्ब ८९ अर्ब ४३ करोड ७६ लाख बराबरको बजेट वित्तीय व्यवस्थाका लागि छुट्याएको थियो । त्यसमा दातृ निकायलाई तिर्नुपर्ने ऋणको साँवा र ब्याजको हिस्सा रहेको छ ।

सरकारले विभिन्न दातृ निकायसँग लिएको ऋण तिर्ने विभिन्न समयसीमा हुन्छ । सोही आधारमा दायित्व भुक्तानी गर्नुपर्छ । कूल लक्ष्यमध्ये हालसम्म ४८.२४ प्रतिशत बराबरको वित्तीय व्यवस्थातर्फको खर्च भएको छ । चालु आवमा कूल ११ खर्ब ० अर्ब ६० करोड चार लाख बराबरको राजस्व संकलन गर्ने लक्ष्य राखेको छ ।

त्यसमध्ये हालसम्म नौ खर्ब ४ अर्ब २० करोड ९७ लाख बराबरको राजस्व संकलन गरेको छ । यो कूल लक्ष्यको ०.२३ प्रतिशत बराबर हो । त्यसमा कर राजस्व आठ खर्ब ७ अर्ब ३३ करोड एक लाख बराबर संकलन भएको छ ।

यसमा भन्सारलगायतका राजस्व समावेश छन् । चालु आवमा कर राजस्वतर्फ १० खर्ब ६७ अर्ब ९६ करोड २५ लाख बराबर संकलन गर्ने सरकारको लक्ष्य छ । कूल लक्ष्यमध्ये हालसम्म ८२.२४ प्रतिशत संकलन भएको छ ।

गैरकरतर्फ एक खर्ब १२ अर्ब ६३ करोड ७९ लाख बराबर संकलन गर्ने लक्ष्य राखेकामा हालसम्म ६९ अर्ब ८७ करोड ९६ लाख बराबर अर्थात् ६२.०४ प्रतिशत संकलन भएको छ ।

यस्तै अनुदानतर्फ ५९ अर्ब ९१ करोड ९९ लाख संकलन गर्ने लक्ष्य राखेकामा १३ अर्ब ८८ करोड ३३ लाख बराबर संकलन भएको छ । यो कूल लक्ष्यको २३.१७ प्रतिशत हो । अर्थमन्त्री शर्माले गत जेठ १५ गते सार्वजनिक गरेको आगामी आवको बजेटमा चालु आजको अन्त्यसम्म कूल सरकारी खर्च १४ खर्ब ४७ अर्ब ५१ करोड अर्थात् ८८.६ प्रतिशत बराबर हुने संशोधित अनुमान छ ।

कुल सरकारी खर्चमध्ये चालु खर्च नौ खर्ब ७१ अर्ब ८६ करोड अर्थात ९१.२ प्रतिशत, पुँजीगत खर्च तीन खर्ब नौ करोड अर्थात् ७९.४ प्रतिशत र वित्तीय व्यवस्थातर्फ एक खर्ब ७५ अर्ब ५६ करोड अर्थात् ९२.७ प्रतिशत खर्च हुने संशोधित अनुमान अर्थमन्त्रीको छ ।

चालु आर्थिक वर्षमा राजस्व परिचालन लक्ष्यको हाराहारीमा नै रही ११ खर्ब ५२ अर्ब ४२ करोड संकलन हुने अनुमान छ । जुन अघिल्लो आर्थिक वर्षको तुलनामा १८ प्रतिशतले बढी हो ।

चालु आर्थिक वर्ष वैदेशिक सहायता तर्फ अनुदान २४ अर्ब १ करोड र ऋण एक खर्ब ७२ अर्ब ८ करोड परिचालन हुने संशोधित अनुमान छ । चालु आर्थिक वर्षको वैशाख मसान्तसम्म एक खर्ब ३५ अर्ब आन्तरिक ऋण उठाइसकिएको छ । चालु आर्थिक वर्षमा दुई खर्ब ३१ अर्ब ३० करोड आन्तरिक ऋण परिचालन हुने अवस्था छ । रासस


247
Shares
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा