११ असार २०७९, शनिबार
सडक/यातायात

पहिराेले खाँदबारी–किमाथाङ्का सडकखण्ड अवरुद्ध

प्रकाशित मिति :  ६ असार २०७९, सोमबार ११:१०


६ असार, खाँदबारी। लगातारको वर्षासँगै आएको पहिराले सङ्खुवासभाको भोटखोला गाउँपालिका र मकालु गाउँपालिका जाने उत्तर दक्षिण सडकखण्डको खाँदबारी –किमाथाङ्का सडक अवरुद्ध भएको छ ।

मकालु गाउँपालिका–३ नयाँ बस्तीमा पहिरो खस्दा उत्तर दक्षिण सडकखण्ड अवरुद्ध भएको हो । उत्तर दक्षिण सडक अवरुद्ध हुँदा मकालु वडा नम्बर ३, ४ र भोटखोला गाउँपालिका जाने सडक ठप्प भएको उत्तर दक्षिण सडक कार्यालयका प्रमुख इन्जिनियर दीपेश रजकले जानकारी दिए ।

सडकखण्ड अवरुद्ध भएपछि मकालु गाउँपालिका केही वडा र भोटखोला गाउँपालिकामा यातायात सेवा बन्द भएको छ । सडक अवरुद्ध भएपछि भोटखोला गाउँपालिकासँग सम्बन्ध टुटेको छ । पहिराले दुई दिनदेखि मकालुका केही वडा र भोटखोला गाउँपालिका जाने सडक पूर्णरुपमा अवरुद्ध भएको सडक कार्यालयका इन्जिनियर रजकले बताए । पहिराले मकालु ५ र ३ जोड्ने अरुण नदीको मोटररेबल पुलसमेत जोखिममा परेको छ । पहिराले पुल आसपासको भू–भाग कटान गरेपछि अरुण नदीको पुल जोखिमा परेको उनले बताए ।

लगातारको वर्षाले उत्तर दक्षिण सडकखण्डका विभिन्न ठाउँमा पहिरो खसेको सडक कार्यालयका प्रमुख रजकले बताए । सडक कार्यालयका प्रमुख इन्जिनियर रजकका अनुसार त्यस क्षेत्रमा अहिले पनि लगातार वर्षा भइरहेको छ । वर्षा नरोकिएसम्म पहिरो हटाउन सकिने अवस्था नभएको सडक कार्यालयका प्रमुख रजकको भनाइ छ । अहिले सदरमुकाम खाँदबारीबाट भोटखोला जाने यातायात मकालु गाउँपालिकाको फ्याक्सिन्दासम्म मात्रै चलेका छन् ।


78
Shares
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा