७ असार, काठमाडौं । निजी हवाई सेवा कम्पनीहरुको छाता संगठन नेपाल वायुसेवा संचालक संघले बुधबारदेखि आन्तरिक उडान ठप्प पार्ने भएको छ ।
सरकारले यसअघिको सम्झौतालाई वेवास्ता गर्दै एकपक्षीय रुपमा वायु सेवा सञ्चालनको नयाँ व्यवस्था कायम गरेको, यात्रु सेवा शुल्क, ल्याण्डिङ, पार्किङ, नेभिगेसन लगायतको शुल्क वृद्धि गरिएको भन्दै नागरिक उड्ययन प्राधिकरण (क्यान) विरुद्ध संघ आन्दोलनमा उत्रिएको हो ।
आज उपत्यकामा पत्रकार सम्मेलन गर्दै संघले सरकारले विभिन्न कम्पनीका ५५ वटा जहाज र हेलिकप्टरहरूले राती काठमाडौंबाहिर तोकिएको आधार विमानस्थलमा पार्किङ गर्नुपर्ने निर्णयको विरोधमा यस्तो निर्णय गरेको बताएको छ ।सरकारको निर्णयमा चित्त नबुझेका कारण अत्यावश्यक सेवा बन्द गर्ने घोषणा गरेको संघले जनाएको छ ।
सरकारले काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा वायुयानको चाप बढ्दै गएको र क्षमताले धान्न नसकेकाले काठमाडौं बाहिरका विमानस्थलमा पार्किङका लागि आधार तोकिदिएको हो ।
विमानस्थलका अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा १७ वटा आन्तरिक जहाज राख्न सक्ने क्षमता छ । अहिले ३४ वटा जहाज पार्किङ भइरहेका छन् । उडान सुरक्षालाई व्यवस्थित र सुदृढीकरण गर्न भन्दै आइतबार नागरिक उड्डयन प्राधिकरण (क्यान) ले एयरलाइन्स र हेलिकप्टर कम्पनीहरूलाई तोकिएकै आधारबाट अनिवार्य उडान गर्नुपर्ने निर्णय गरेको थियो ।