११ असार २०७९, शनिबार
पत्रकार सम्मेलन

धाकधम्की यहाँ चल्दैन, हवाई क्षेत्रमा हड्ताल गर्न पाइदैन : महानिर्देशक अधिकारी

प्रकाशित मिति :  ७ असार २०७९, मंगलवार १७:२७


७ असार, काठमाडौं । नेपाल वायुसेवा सञ्चालक संघले आफूहरूका माग सम्बोधन नभए बुधबारदेखि आन्तरिकतर्फका सबै उडान ठप्प पार्ने तयारी गरेपछि नेपाल नागरिक उड्डयन प्राधिकरणले हवाई उडान नरोक्न चेतावनी दिएको छ ।

मंगलबार पत्रकार सम्मेलन गर्दै वायुसेवा सञ्चालक संघले बुधबारदेखि सबै उडान रोक्ने निर्णय बाहिर आए लगत्तै प्राधिकरणले पनि पत्रकार सम्मेलन यस्तो चेतावनी दिएको हो ।

प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले पत्रकार सम्मेलनमा बोल्दै भने ‘धाकधम्की यहाँ चल्दैन, हवाई सुरक्षाका लागि प्राधिकरणले लिएका नियमहरु कार्यान्वयन गर्छ, हवाई क्षेत्र हड्ताल गर्न नपाइने क्षेत्र हो भन्ने कसैले पनि बिर्सनु हुँदैन ।’

महानिर्देशक अधिकारीले जुन विमान र होलिकोप्टर कम्पनीले एओसी लिने समयमा जुन स्थानका लागि बेस लिएका हुन् सोही स्थानमा राख्नुपर्नेमा क्यान स्पष्ट रहेको बताए । प्राधिकरणले भने कुनै पनि कम्पनीलाई लक्षित नभई सबै वायुसेवा कम्पनीलाई यो नियम ल्याइएको भन्दै कार्यान्वयन हुने बताएको छ ।

यसअघि वायुसेवा कम्पनीलाई आफ्ना जहाजहरुको रात्री बिसान काठमाडौं बाहिरका विमानस्थलमा राख्न अनिवार्य गरिएपछि वायुसेवा कम्पनी आन्दोलित बनेका छन् । आजै वायुसेवा कम्पनी पत्रकार सम्मेलन गरी पाँचबुँदे माग प्रस्तुत गर्दै संघले उडान रोक्ने चेतावनी दिएको थियो ।

सरकारले आन्तरिक उडानलाई मध्यनजर गर्दै यसअघि ल्याएका केही प्रावधानमा संघले आपत्ति जनाएको छ। हेलिकोप्टरमा दुई पाइलट हुनुपर्ने नियम खारेज गर्नुपर्ने, यात्रु सेवा शुल्क, ल्यान्डिङ, पार्किङ, नेभिगेसनलगायतको शुल्क वृद्धि फिर्ता लिनुपर्ने, हेलिप्याड निर्माण गर्नुपर्ने, जहाज मर्मतसम्भारका लागि ह्यांगरलगायतका भौतिक पूर्वाधार निर्माण गर्नुपर्ने, जहाज पार्किङ सहज बनाउनुपर्नेलगायत माग संघले राखेको छ।


429
Shares
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा