१६ असार २०७९, बिहीबार
मधेश प्रदेश

पर्सा नापी कार्यालय घुसको अखडाः रंगेहात दलाल पाण्डे पक्राउ

प्रकाशित मिति :  ७ असार २०७९, मंगलवार १८:५८


७ असार, बीरगञ्ज । सरकारी कर्मचारी भन्दै सेवाग्राहीसँग १ लाख २५ हजार लिँदै गर्दा पर्सा प्रहरीले बीरगञ्जबाट एकजना दलाललाई रंगेहात पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बीरगञ्ज १३ मुर्लीका ६० वर्षीय दिनेश पाण्डे भनिने उमा पाण्डे रहेको प्रहरीले जनाएको छ । उनले निजामती कर्मचारीको पोशाक लगाएर आफू नापी कार्यालय पर्सामा कार्यरत कर्मचारी रहेको बताउँदै सेवाग्राहीसँग जग्गाको लालपुर्जा उपलब्ध गराइदिने भन्दै रकम लिन लागेका थिए ।

बीरगञ्जको आदर्शनगरस्थित एभरेष्ट बैंक भित्र सेवाग्राहीसँग १ लाख २५ हजार नगद रुपैयाँ लिँदै गरेको अवस्थामा वडा प्रहरी कार्यालय विर्ताका प्रहरी निरीक्षक विशाल मल्ल नेतृत्वको प्रहरी टोलीले पाण्डेलाई रंगेहात पक्राउ गरेको हो ।

बीरगञ्ज महानगरपालिका वडा नम्बर १५ लक्ष्मणवा निवासी राजनारायण झालाई नयाँ नापीको लालपुर्जा उपलब्ध गराउने भन्दै ३ महिनादेखि अनावश्यक नापी कार्यालयमा दौडाउँदै आईरहेका पाण्डेले लालपुर्जा लिन मंगलबार अपरान्ह ३ बजे बोलाएको र लालपूर्जाका लागि १ लाख २५ हजार रकम दिनुपर्ने माग गरे बमोजिम बैंकबाट रकम झिकी बुझाउने क्रममा निजलाई रंगेहात प्रहरीले पक्राउ गरेको प्रहरी निरीक्षक मल्ले जानकारी दिए ।

नापी कार्यालयका कर्मचारीको मिलोमतोमा पाण्डेले बर्षौदेखि नापी कार्यालयको दोश्रो तल्लामा टेबल कुर्सी राखेर आफू सरकारी कर्मचारी भएको देखाउन कर्मचारीकै पोशाक समेत लगाएर बस्ने गरेका थिए ।

पाण्डेमार्फत नै नापी कार्यालय आउने सेवाग्राहीलाई काम गरेवापत घुस दिन बाध्य पारिने गरेको अनुसन्धानको क्रममा खुलेको पनि प्रहरीले जनाएको छ ।


35k
Shares
आबिद हुसेन नेपालबहस डटकमका मधेश प्रदेश प्रमुख हुन् । बिगत डेढ दशकदेखि विभिन्न सञ्चारमाध्याममा सक्रिय पत्रकारिता गर्दै आएका हुसेनले एफएम रेडियो, टेलिभिजन एवं पत्रपत्रिकामा आबद्ध रही काम गर्दै आएका छन् । हुसेन यसअघि सगरमाथा टेलिभिजन, क्राइम टुडे मासिकको बीरगञ्ज संवाददाता तथा बीरगञ्जबाट प्रकाशित हुने दिशानिर्देश अनलाइनमा सम्बद्ध रहेका छन् ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा

विपद्ले घेरिएकाे कर्णाली
नेपालबहस संवाददाता


खोलामा बगेर बालक बेपत्ता
नेपालबहस संवाददाता