११ असार २०७९, शनिबार

धवलागिरि अस्पतालः बिरामी बढे, चिकित्सक घटे

प्रकाशित मिति :  ८ असार २०७९, बुधबार ०९:२२


८ असार, गलकोट । बागलुङको धवलागिरि अस्पतालमा गर्मी लागेसँगै बिरामीको चाप ह्वात्तै बढेको छ । अहिले टोकन लिने, नाम लेखाउने, बिल काट्ने र चिकित्सकलाई भेट्न पालो कुर्नुपर्ने अवस्था छ ।

चाप बढेसँगै फार्मेसी र प्रयोगशालामा बिरामी लामो लाइन बस्नुपर्ने अवस्था छ । पछिल्लो सयम धवलागिरि अस्पतालमा सुधार भएको । अस्पतालमा टोकन प्रणाली राखिएको छ भने सरसफाइमा ध्यान दिइएको छ । चिकित्सकको समस्या भने उस्तै छ ।

दरबन्दीका चिकित्सक नआउँदा करार र छात्रवृत्तिका चिकित्सकको भरमा अस्पताल चलेको छ । चिकित्सक अभावमा बिरामीले गुणस्तरीय सेवा पाउन सकेका छैनन् । अस्पतालमा दैनिक ३०० देखि ४०० बिरामी सेवा लिन आउने गरेका मेडिकल सुपरिटेण्डेन्ट डा. शैलेन्द्र विक पोखरेलले जानकारी दिए । मौसममा आएको परिवर्तनका कारण बिरामीको सङ्ख्या बढेको उनको भनाइ छ ।

छाला सम्बन्धी, ज्वरो, झाडापखलालगायतका बिरामी बढेका छन् । “गर्मी बढेपछि बिरामीको सङ्ख्यामा वृद्धि भएको छ”, डा. पोखरेलले भने, “अस्पतालबाट एकैपटक पाँच मेडिकल अधिकृतले छाडेर जानुभयो, सेवा दिन समस्या भइरहेको छ ।” एक मेडिकल सुपरिटेण्डेन्टसहित १६ विशेषज्ञ र ६ मेडिकल अधिकृतको दरबन्दी रहेको अस्पतालमा मेडिकल सुपरिटेण्डेन्ट बाहेक अन्य दरबन्दी रिक्त छ । करार र छात्रवृत्तिका चिकित्सकले सेवा दिइरहेका छन् ।

पाँच करारका मेडिकल अधिकृत, १० करार र छात्रवृत्तिका विशेषज्ञ चिकित्सक कार्यरत छन् । उनीहरुको सेवाअवधि सकिन लागेको अस्पतालले जनाएको छ । छात्रवृत्तिमा अध्ययन गरेका विशेषज्ञ चिकित्सकले दुई वर्ष दुर्गममा सेवा गर्नुपर्ने नियमानुसार आउने गर्छन् । चिकित्सकको माग गर्दै प्रदेश र सङ्घीय मन्त्रालय धाइरहेको पोखरेलले बताए ।


169
Shares
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा