८ असार, काठमाडाैं । लुम्बिनी प्रदेशकी स्वास्थ्य तथा परिवार कल्यान राज्यमन्त्री विमलाकुमारी खत्री ९वली०को घटनामाथि छानबिन गर्न बनेको टोली दाङ पुगेको छ ।
आन्तरिक मामिला तथा सञ्चारमन्त्री तिलकराम शर्मा, महिला, बालबालिका तथा कानुनमन्त्री रमा घर्ती, मुख्य न्यायाधिवक्ता श्रीकृष्ण सुवेदीसहितको टोली दाङ बुधबार दाङ पुगेको हो ।
मन्त्री शर्मा मंगलबार राति नै तुलसीपुर आएका हुन् भने घर्ती र सुवेदी आज बिहान तुलसीपुर पुगेका हुन् । छानविन समितिले आज प्रहरी र परिवारका सदस्यसँग छलफल गर्नेछन् ।
त्यसपछि आवश्यकताअनुसार सम्बन्धित अन्य व्यक्तिहरूसँग छलफल गर्ने बताइएको छ । यस विषयमा छानबिन गरी प्रतिवेदन तयार पारेर प्रदेश मन्त्रिपरिषदमा पठाउने बताइएको छ ।
राज्यमन्त्री वलीले भने वाईसिएल नेता एकराज बस्नेतसंग आफ्नो लेनदेन कारोबार रहेकाले यसै विषयमा कुराकानी गर्न उनको घरमा पुगेको बताएकी छन् । वाईसीएलका नेता एकराजले ३५ लाख रकम अहिलेसम्म फिर्ता नगरेकाले खोज्दै गएको र घरमा उनकी श्रीमतीसंग हातहालाहालको अवस्था सिर्जना भएको बताइन् ।
एकराजकी श्रीमती मिना बस्नेतले भने आफूमाथि हातपात गरेको भनी आरोप लगाउँदै राज्यमन्त्री वलीविरुद्ध प्रहरीमा जाहेरी समेत दिएकी छन् ।