१६ असार २०७९, बिहीबार
राजनीति
राजनीति

माधव नेपालसँग श्रम मन्त्री श्रेष्ठको दुई घण्टाः एमालेमै फर्किन जोड

प्रकाशित मिति :  ८ असार २०७९, बुधबार २०:४९


८ असार, काठमाडौं । नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र)सँगको गठबन्धनमा एक महानगर र एक उपमहानगरपालिकासहित २० स्थानीय तहको नेतृत्वमा स्थापित भएको नेकपा (एकीकृत समाजवादी) पार्टीले वर्तमान गठबन्धनप्रति असन्तुष्टि जनाएसँगै पार्टीभित्र एमालेमै फर्किन जोड दिन थालिएको छ । पार्टीले सरकारबाट फर्काउने प्रस्ताव गरेका श्रममन्त्री किसान श्रेष्ठले एमालेमै फर्किदा मात्रै सबैको हित हुने र कम्युनिष्ट आन्दोलनले पनि उचाई प्राप्त गर्ने भन्दै पार्टी अध्यक्ष माधव नेपाललाई जोड गरेका छन् ।

दुई दिन अघि सचिवालयको बैठक हुनु अघि श्रममन्त्री श्रेष्ठले माधवकुमार नेपाललाई उनकै निवासमा पुगेर भेटघाट गरेका थिए । सो भेटघाटको क्रममा मन्त्री श्रेष्ठले एमालेबाट विभाजित भएका कारण भिन्न विचार र सिद्धान्त नभएको र संगठन पनि बलियो बन्न नसकेकाले एमालेका नेताहरुसँग कुराकानी गरेर ‘एकता’ गरेर जानुपर्ने सुझाव दिएका थिए । ‘सोमबार विहान दुई घण्टा कुराकानी भयो, कम्युनिष्ट आन्दोलन र अहिलेको परिस्थितिबारे छलफल भयो, मन्त्रीबाट फिर्ता हुने वा अन्य विषय भन्दा पनि पार्टीको समग्र अवस्था र त्यसले पार्ने प्रभाव तथा बाम गठबन्धन र त्यसभन्दा पहिला दुई पार्टीको एकिकरणको विषयमा कुराकानी भएको थियो’, निकट स्रोतले भन्यो ।

एस पार्टीले गठबन्धनले सोचेजति सहयोग नगरेको भन्दै असन्तुष्टि जनाएको र वाम गठबन्धनमा आकर्षण देखाएको बेला श्रेष्ठले एमालेबाट आउनसक्ने प्रस्ताव र पार्टीको रणनीतिबारे पनि छलफल गरेको स्रोतको दाबी छ । श्रेष्ठले भेट्नु अघि आइतबार दिउँसो सञ्चारकर्मीहरुसँग कुरा गर्दै एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफ्नो दललाई गठबन्धन दलहरुले छुट्टै सिट नछुट्याएको र छुट्याइएका सीटमा पनि इमानदारपूर्वक मत नदिएको बताएउदै गठबन्धनप्रति असन्तुष्टि प्रकट गरेका थिए ।

‘पहिलो कुरो भनेको यो स्थानीय निर्वाचनमा हामीले के पाठ सिक्यौँ, गठबन्धन नै गर्न हुँदैनथ्यो भन्ने पाठ हो कि ? शिक्षा हो कि ?’, उनले भने, ‘कि गठबन्धन गर्दा अहिलेको अवस्थाको विचार पुर्याउनुपर्ने हुन्थ्यो ? वास्तवमा कहीँ न कहीँ त्रुटी छ, यसलाई अब आउने दिनमा सुधार गर्नुपर्छ । गठबन्धन दलहरुले महशुस गरेका छन्,’ नेपालले भनेका थिए । श्रममन्त्री श्रेष्ठले पनि यही सेरोफेरोमा बसेर कुराकानी गरेका थिए । तनहुमा रामचन्द्र पौडेललाई हराएर सांसद बनेका श्रममन्त्री श्रेष्ठलाई आगामी दिनमा कांग्रेसले सहयोग गर्ने संभावना कम हुँदै गएको बेला उनले एस पार्टीलाई एमालेतर्फ एकता गर्ने प्रयासमा लागेको स्रोतको दावी छ ।

तर माधव नेपालले पार्टीलाई आगामी चुनावसम्म गठबन्धन गरेर लैजानु पर्ने भन्दै सार्वजनिक रुपमा धारणा राखिरहेका छन् । पार्टी अनुभवी तथा आफूहरुको पार्टी नयाँ भएकाले पनि समस्या भएको बताउँदै आगामी निर्वाचनसम्म गठबन्धनमा सहभागी हुने सार्वजनिक रुपमा दाबी गरेका छन् । ‘पहिलो सन्दर्भ हाम्रो के भएको थियो भने, अरु सबै पार्टीहरुले विगतको निर्वाचनमा भाग लिइसकेको अवस्था थियो ।

जनता समाजवादी पनि पुरानै थियो तर, एकीकृत समाजवादी पार्टी मात्रै नयाँ बनेको कारणले विगतको चुनावको प्रशंसाबाट उसको शक्तिको आकलन गर्न सक्ने अवस्था थिएन,त्यसो हुनाले विद्रोहमा साथ दिएका, एकीकृत समाजवादीको पक्षमा दृढतापूर्वक उभिएका, जनप्रतिनिधिको हकमा उहाँहरुलाई समर्थन गर्ने कुरामा साथ रहन्छ भन्ने कुरा सुन्नमा आएको थियो । मेरै कानले पनि सुनेको थियो । तपाईंहरुले पनि सुन्नु भएको होला । तर, जब गर्नुपर्ने काम गर्नुपर्ने बेलामा हामीलाई पूरा सहयोग भएन,’ उनले भनेका छन् । श्रममन्त्रीसँगको कुराकानीमा एमाले अध्यक्ष केपी शर्मा ओलीले साह्रै दुख दिएको र केपी ओली साह्रै कपटी भएका कारण पार्टी एकता गरेपनि ओलीको बानीमा सुधार नआउने जवाफ दिएका थिए । ‘ओलीमा कुनै पनि प्रकारको सुधार आउने अवस्था देख्दिन पार्टी एकता वा विलय जे भन्नुस त्यसमा ओली नै बाधक हुन’, अध्यक्ष नेपालको भनाई उद्यृत गर्दै स्रोतले भन्यो ।

आइतबार सञ्चारकर्मीहरुसँग उनले आफूलाई प्रस्तुत गर्दा एमालेतिरै ढल्केको महशुस पनि गराएका थिए । स्थानीय तहको निर्वाचनमा कांग्रेस र माओवादी मिलेर पेलेको पीडा पनि उनमा झल्किएको थियो । त्यतिमात्र होइन दुई साता अघि आफ्नै निर्णयलाई लागु गराउन कांग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी अध्यक्ष प्रचण्ड मिलेकोमा उनी निकै सशंकित देखिन्थे । पार्टीको निर्णयबारे प्रधानमन्त्री शेरबहादुर देउवालाई जानकारी गराउँदै नेता नेपालले मन्त्रीहरु हेरफेर गरिदिन पटक–पटक ताकेता गर्दै आएका छन् । तर, देउवाले कहिले माओवादीलाई देखाएर त कहिले अन्य कारण देखाएर एकीकृत समाजवादीको निर्णय कार्यान्वयन गर्न मानेका छैनन् । त्यसको पीडा पनि रहेका बेला श्रेष्ठले यस्तो प्रस्ताव राख्दा नेपाल निकै भावुक बनेको स्रोतको दाबी छ ।

उनले त्यससँगै कोही कसैप्रति ‘रिजिक्ट’ हुनु छैन, संसद विघटनको विषयमा एउटा धारणा आए वाम गठबन्धन पनि अघि बढ्न सक्ला भनेका थिए । आइतबार अध्यक्ष नेपालले एमाले अध्यक्ष ओलीको नाम नलिइ संसद विघठन गलत भएको महशुस भएको छैन त्यो महशुस हुनुपर्यो नि भनेका थिए । यसले संकेत के दिएको छ भने माधव नेपाल कांग्रेस र माओवादीको स्वाभावमा त्यति सन्तुष्ट छैनन । अबको निर्वाचनमा पनि माधव नेपाललाई पाखा लगाएर कांग्रेस र माओवादीले मात्रै गठबन्धन गर्नेमा शंका रहेको देखिन्छ ।

अध्यक्ष नेपालले संसद विघटन गलत थियो भन्ने स्वीकार गरेमा वाम गठबन्धन हुनसम्मको कुरा बताएका थिए । उनले केपी ओलीको नाम नलिइ संसद विघटनको विषयमा पुर्नविचार गर्ने वा गलत थियो भन्ने बारेमा गल्ती कमजोरी भयो भन्ने अवस्था आएमा वाम गठबन्धन हुनसक्ने समेत बताएर कांग्रेस र माओवादीलाई झट्का दिएका थिए ।


1.09k
Shares
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा

विपद्ले घेरिएकाे कर्णाली
नेपालबहस संवाददाता


खोलामा बगेर बालक बेपत्ता
नेपालबहस संवाददाता