म्याग्दीमा एउटै पालिकामा २१६ पहिरो, बस्ती जोखिममा
नेपालबहस संवाददाता
असार ११, २०७९ शनिबार १५:१५:४५
♦ ध्रुवसागर शर्मा
११ असार, गलेश्वर । म्याग्दीको एउटै गाउँपालिकामा रहेका २१६ पहिरोका कारण बस्ती जोखिममा परेका छन् । स्थानीयवासीले पहिरोका कारण असुरक्षित भएको गुनासो गर्दैआएका छन् ।
उत्तरी म्याग्दीको रघुगङ्गा गाउँपालिकाका आठ वडामा साना ठूला गरी २१६ पहिरो रहेका र ती पहिरोका कारण बस्ती नै जोखिममा छन् । पहिरो रोकथाम तथा नियन्त्रणका लागि पहिराको डीपीआर गरी राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा पठाइएको रघुगङ्गा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले बताए ।
“पहिराको डीपीआर गरी राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा पठाएका छौँ”, उनले भने । कुइनेमङ्गले–८ चौरखानी, चिमखोला–७ मालाङ, पाखापानी–६ रायखोर र दग्नाम–४ को पहिरो रोकथामलाई मुख्य प्राथमिकतामा राखिएको भण्डारीको भनाइ छ ।
यसैगरी रघुघाट गलेश्वर, तिलकेनी, कुइने, चौरखानी, धुपीचौर, अर्कला, बेग, दुलेपानी, सतिपोखरी, खौरेट, रोटेपानी, रिसिनचौतारी, बुडिचौरलगायतका बस्ती बाढी र पहिरोको उच्च जोखिममा छन् । ती बस्तीको संरक्षणका लागि स्थानीय तहले प्राथमिकताका साथ काम गर्ने र थप बजेटका लागि प्रदेश वा सङ्घ सरकारसँग माग गर्ने अध्यक्ष भण्डारीले बताए ।
गाउँपालिकाले सधैँ आश्वासन मात्रै बाँड्ने तर काम नगर्ने प्रवृत्तिले गर्दा दर्जन बढी बस्ती बाढी र पहिरोको उच्च जोखिममा रहेका स्थानीयवासी दीपक कार्कीले बताए । उनले भने, “बर्खा सुरू भएपछि बाढी र पहिरोका कारण सधैँ त्रसित र भयभित रहन्छौँ, राति राम्रोसँग निदाउन सकिँदैन ।”
यसैगरी ५२ घर रहेको रघुगङ्गा–८ चौरखानीमा ३० परिवारको बसोबास छ । पहिरोकै त्रासले आधाले घर छोडेर बेनी, पोखरा, काठमाडौंलगायत ठाउँमा बसाइँ सरेका छन् । गत वर्ष गाउँको बीचमा ठाडो चिरा परेर गएको पहिरोले चौरखानीमा समुदायिक भवन र एउटा घर भत्केको वडासदस्य यामकुमारी घर्तीले बताइन ।
दुई किलोमिटर तल रघुगङ्गा नदीको किनारबाट सुरु भएको पहिरो चौरखानीको शिरमा रहेको पहाडको फेदीमा पुगेको छ । पहिरोले गाउँलाई चिरेर दुई भागमा विभाजन गरेको स्थानीय रैमान छन्त्यालले जानकारी दिए ।
यस्तै रघुगङ्गा–३ गलेश्वरको राहुघाट बस्ती पहिरोले पुरिने जोखिममा छ । गलेश्वर–पिप्ले–भगवती–बेगखोला सडक निर्माणमा गरिएको लापर्बाहीले निम्तिएको पहिरोले पुरिने जोखिम बढेको हो । बस्तीमाथिको पाखोमा जथाभावी सडक खनेपछि पहिरो निम्तिएर गलेश्वपारिको ३० घरपरिवार जोखिममा रहेको स्थानीय मिम थकालीले बताए ।
“पानी पर्न थालेपछि यहाँका बासिन्दा राति सुत्न सक्दैनन् । विकासका नाममा निम्तिएको विनाशका कारण आफ्नो थातथलो छोड्नुपर्ने अवस्था आएपछि यहाँका बासिन्दा चिन्तित छौँ”, उनले भने । कमजोर भ–ूभागमा सडक बनाउन डोजर प्रयोग गरिँदा झन जोखिम बनेको छ । जथाभावी भत्काउँदा त्यसपछि संरक्षणका लागि पर्खाल र नाली समयमै नबनाउँदा पूरै पाखो खस्ने अवस्थामा छ ।
वर्षौंदेखि बसेको घर छाडेर हिँड्नुपर्ने अवस्था छ । यहाँका कतिपय बासिन्दा घर छोडेर गलेश्वर बजारमा भाडामा बस्न थालेका स्थानीयवासी तिलबहादुर पुनले बताए । दुई वर्ष अघिदेखि बस्तीमाथिको जमिन चर्किएर पहिरो खस्न थालेको हो । हिउँदमा कुनै निकायले पनि संरक्षणको पहल नगर्दाको परिणाम यस पटकको बर्खामा देखिन थालेको भन्दै स्थानीयवासी आक्रोशित छन् । सम्बन्धित निकायबाट पहिरो नियन्त्रण, बाढी व्यवस्थापन र बस्ती संरक्षणको काम हुन नसक्दा बस्ती जोखिममा छन् ।
यसैगरी रघुगङ्गा गाउँपालिका–३ पिप्ले गलेश्वरका २१ घर जोखिममा परेका छन् । भिरालो पाखोमा सडक खनेपछि पहिरो जाँदा ती घर जोखिममा परेका हुन् । गलेश्वर–भगवती–बेग सडक कालोपत्र गर्ने क्रममा भिरालो पाखोमा सडक खनिएको थियो । दुई किलोमिटर सडक खनिएको सतीपहरादेखि च्युडीस्वारासम्मको क्षेत्रमा भूक्षय हुन थालेपछि बस्ती जोखिममा परेको छन् ।
चुडीस्वाँरामा दुई वर्षअघिसम्म गाडी गुड्ने सडक थियो । अहिले त्यसको नामोनिसान देखिन्न । निर्माणको दुई वर्षसम्म पनि नियामक पूर्वाधार विकास कार्यालय र ठेकेदार कम्पनीले पहिरो रोकथाममा कुनै काम नगर्दा असुरक्षा बढेको स्थानीयले बताएका छन् । रासस
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपचैते झरीले बाटो हिलाम्य, ३० मिनेटको दूरीलाई चार घण्टा
चैत १६, २०८० शुक्रबार
एसइईमा गण्डकीबाट ४० हजार बढी विद्यार्थी सहभागी
चैत १५, २०८० बिहिबार
म्याग्दीका भिर पहरामा मह सिकार सुरु
चैत १४, २०८० बुधबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार
डीएसपी बढुवा सिफारिसमा किन विवादमा आए प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओली ?
चैत १६, २०८० शुक्रबार
आगामी वर्षको बजेट लेख्न अर्थ मन्त्रालयले बनायो समिति
चैत १६, २०८० शुक्रबार
शुक्लाफाँटामा दुर्लभ मानिएको बाह्रसिङ्गाको गणना हुँदै
चैत १६, २०८० शुक्रबार
नेपाली सेनाको उच्चस्तरीय राष्ट्रिय सुरक्षा तालिम सम्पन्न
चैत १६, २०८० शुक्रबार
सवारी दुर्घटनाः सुदूरपश्चिममा साढे तीन वर्षमा ६ सय ७४ को मृत्यु
चैत १६, २०८० शुक्रबार
राजस्व छलीका गाडी र मोटरसाइकलसहित तीन जना पक्राउ
चैत १६, २०८० शुक्रबार
सर्वोच्चले गरिदियो कांग्रेस सांसद गुरुङको निलम्बन फुकुवा
चैत १६, २०८० शुक्रबार