११ असार, काठमाडौं । नेकपा ‘एकीकृत समाजवादी’ को चौथो केन्द्रीय कमिटीको बैठकले पार्टीका तर्फबाट सरकारमा सहभागी चार मन्त्रीलाई फिर्ता बोलाउने सचिवालयको निर्णय सर्वसम्मतले पारित गरेको छ ।
उक्त सचिवालय बैठकले पार्टीका तर्फबाट सरकारमा सहभागी विरोध खतिवडा, प्रेमबहादुर आले, कृष्णकुमार श्रेष्ठ र रामकुमारी झाँक्रीलाई फिर्ता बोलाउने निर्णय गरेको थियो ।
शनिबार बसेको पार्टीको केन्द्रीय कमिटी बैठकपछि प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले अब प्रधानमन्त्रीलाई पर्खिन नसकिने बताएका हुन् । उनले अब मन्त्रीको शपथ ग्रहणमा ढिलाइ नगर्न आग्रह गरिएको पनि बताए ।
त्यस्तै हाल स्वास्थ्य राज्यमन्त्री रहेका भवानी खापुङलाई स्वास्थ्यमन्त्री, जीवनराम श्रेष्ठलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, मेटमणि चौधरीलाई शहरी विकास, शेरबहादुर कुँवरलाई श्रम र हीरा केसीलाई स्वास्थ्य राज्यमन्त्री बनाउने निर्णय गरेको छ । तर निर्णय भएको २१ दिन भए पनि अहिलेसम्म मन्त्री सिफारिस भएकाहरुले शपथ ग्रहण गर्न नपाएकामा एकीकृत समाजवादीले आपत्ति जनाएको हो ।
उनले पार्टीसँग बार्गेनिङ गर्ने छुट मन्त्रीहरुलाई नभएको पनि बताए । शनिबार सुरु भएको केन्द्रीय समितिको बैठक सोमबार पुनः बस्ने छ।
पार्टी केन्द्रीय प्रचार विभाग उपप्रमुख शम्भु श्रेष्ठका अनुसार महासचिव डा. बेदुराम भुसालले प्रस्तुत गरेको प्रतिवेदन परिमार्जनसहित पारित गरेको छ । उक्त प्रतिवेदनमा मुलुकको वर्तमान अवस्थाका साथै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विषयवस्तु समावेश छन् ।
राष्ट्रिय विषयमा संविधान र राजनीतिक व्यवस्था संरक्षणका लागि गठबन्धनको औचित्य र आवश्यकताबारे प्रतिवेदनमा प्रष्ट पारिएको छ । सो प्रतिवेदनलाई यही १३ गते बस्ने केन्द्रीय परिषद् बैठकमा छलफल गरिने छ ।
बैठकले पार्टीका चार केन्द्रीय सदस्य लोकबन्धु काङ्दङ्वा झापा, तरकबहादुर शाही दैलेख, राज्यलक्ष्मी बम मल्ल मुगु र नारद मलासी डोटीलाई साधरण सदस्यसमेत नरहने गरी कारबाही गरेको छ ।
उनीहरूले स्थानीय तह निर्वाचनमा पार्टीको निर्देशन विपरित कार्य गरेको भन्दै बैठकले कारवाही गरेको हो । त्यसैगरी पार्टीको केन्द्रीय सदस्यमा कपिलदेव पटेल, पिताम्बर तिमिल्सिना, तोलाराम विष्ट र शङ्कर कुँवरलाई मनोनित गरेको छ ।