१ भाद्र २०७९, बुधबार
निर्वाचनमा गठबन्धन
राजनीति

प्रचण्ड, नेपाल र उपेन्द्रबीच गोप्य भेटघाटः कांग्रेसलाई गलाउने कसरत

प्रकाशित मिति :  १३ असार २०७९, सोमबार १२:१२


१३ असार, काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीका तर्फबाट नयाँ मन्त्रीहरुको शपथ कार्यक्रम नसकिदै सत्तारुढ दलका तीन नेताहरु गोप्य छलफलमा जुटेका छन् । अहिले बिहान ११ बजे राष्ट्रपति कार्यालय शितलनिवासमा नवनियुक्त मन्त्रीहरूको शपथ हुँदै गर्दा उनीहरु उपेन्द्र यादवको निवासमा गोप्य छलफलमा जुटेका हुन् ।

प्रधानमन्त्री शेरबहादुर देउवाले आईतबार मन्त्रिपरिषद पुनर्गठन गरेका थिए । नेकपा एकीकृत समाजवादीले पठाएका नयाँ मन्त्रीलाई प्रधानमन्त्री देउवाको सिफारिसमा आइतबार नै राष्ट्रपति विद्यादेवी भण्डारीले नियुक्त गरेकी थिईन । पुनर्गठित मन्त्रिमण्डलकाे पर्यटनमन्त्रीमा जीवनराम श्रेष्ठ, स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा भवानीप्रसाद खापुङ, शहरी विकास मन्त्रीमा मेटमणि चौधरी, श्रममन्त्रीमा शेरबहादुर कुँवर र स्वास्थ्य राज्यमन्त्रीमा हीराचन्द्र केसीलाई नियुक्त गरिएको थियो । समाजवादीले गत जेठ २२ मै सरकारमा रहेका मन्त्री फिर्ता बोलाएर नयाँ मन्त्री पठाउने निर्णय गरेको थियो । बजेट पास भएपछि मात्रै मन्त्रिपरिषद पुनर्गठन गर्ने सहमति सत्ता गठबन्धनभित्र भएको थियो ।

समाजवादी पार्टीको रोग अन्य दलहरुमा पनि सरेको भन्दै माओवादी केन्द्रभित्र मन्त्री हेरफेरबारे कुराकानी चलिरहेको छ । समाजवादीका सांसदसमेत रहेका मन्त्रीहरू विरोध खतिवडा, रामकुमारी झाक्री, प्रेम आले र किसान श्रेष्ठले राजीनामा दिएपछि उनीहरुको बारेमा पनि विभिन्न टिका टिप्पणीहरु आएको बखत पार्टीले कस्ता व्यक्तिहरुलाई सरकारमा पठाउने भन्ने बारेमा पनि छलफल हुन थालेको छ ।

संघीय संसदको निर्वाचन मिति घोषणाको चर्चा परिचर्चासँगै तीन दलको गुट भेला हुन थालेको हाे । सत्ता गठबन्धन दलका कांग्रेस बाहेकका मुख्य तीन घटक नेकपा (माओवादी केन्द्र), नेकपा एकीकृत समाजवादी र जनता समाजवादीका शीर्ष नेताहरु बीचको भेटघाटलाई यसअघि पनि अर्थपूर्ण रुपमा हेरिएको थियो । आजको भेटघाटलाई पनि अर्थपूर्ण मानिएको छ । आगामी संघ प्रदेशको चुनावमा गठबन्धनको तयारीमा रहेका सत्ता गठबन्धन दलका यी मुख्य तीन घटक बीच केही साता यता निरन्तर भेटघाट र छलफल भईरहेको छ ।

केही दिन अगाडि मात्रै पनि उपेन्द्रकै निवासमा पुष्पकमल दाहाल प्रचण्ड, माधव नेपाल र उपेन्द्र यादवका बीचमा पटकपटक भेटवार्ता हुने गरेको थियो । आज पनि यी तिनै दलका मुख्य शीर्ष नेताहरु प्रचण्ड, माधव र उपेन्द्रका बीचमा भेटघाट भएको छ । ललितपुर हात्तीवनस्थित उपेन्द्र यादवको निवासमा केही बेर अगाडिबाट प्रचण्ड, माधव र उपेन्द्रका बीचमा भेटवार्ता भएको हो । उनीहरुबीच कुन कुन विषयमा कुराकानी भन्ने बारेमा केही नखुलेपनि अहिलेको सत्ता गठबन्धन र आगामी निर्वाचन बारे छलफल भएको स्रोतको दावी छ ।

जनता समाजवादीमा पनि मन्त्री फेर्न चर्को दवाब भएपनि उपेन्द्र यादव र डा. बाबुराम भटटराईका बीचमा देखा परेको अन्तरविरोधका कारण त्यो सम्भव हुन सकेको छैन । अहिले यो विषय अब टुङगिएपछि उनीहरुका बीचमा आउने संघ प्रदेशको चुनावको गठबन्धनदेखि कांग्रेससँगको सीट वाँडफाँड र नयाँ समाजवादी केन्द्र निर्माणसम्मका विषयमा सिलसिलेवार छलफल भईरहेका छन् । कांग्रेसले स्थानीय तहको निर्वाचनमा धोका दिएको विषयमा तीन दल सहमत भएपनि कांग्रेसबाहेक कुनै पनि स्थानमा एक्लै निर्वाचन लड्ने पक्षमा तीन दल रहेका छैनन् । उनीहरुले कुनै न कुनै रुपमा कांग्रेससँग सहकार्य गर्ने विषयमा यसअघि पनि छलफल गरेका थिए ।

‘आजको भेटघाट पनि कांग्रेससँग कसरी प्रस्तुत हुने भन्ने बारेमा हो’, यादव निवास निकट स्रोतले भन्यो । माओवादी, एस पार्टी र उपेन्द्र यादवको पार्टीले कांग्रेसलाई कसरी गलाउन सकिन्छ भन्ने दाउ हेरेका छन् । तर कांग्रेसले पछिल्लो समय आफ्नै पार्टी भित्र व्यवस्थापन गरेको छैन, जसले गर्दा आगामी निर्वाचनमा गठबन्धनको विषय स्वयं कांग्रेसका लागि पेचिलो बन्दै गएको छ । एकसय ६५ सीट मध्ये कति सीट गठबन्धनलाई दिने भन्नेबारेमा कांग्रेसभित्र ठूलो मतभेद रहेको छ । जसका कारण कांग्रेसले दिने सीट संख्या धेरै न्यून हुने भएकाले पनि माओवादी र एस पार्टी अप्ठेरोमा परेका छन् ।


546
Shares
नेपालबहस डटकमकी समाचार प्रमुख कुसुम सेञ्चुरी राजनीति तथा समसामयिक विषयवस्तुमा कलम चलाउँछिन् । फुलवारी एफएमदेखि रेडियो पत्रकारिता शूरु गरेकी कुसुमले रासस, रेडियो अन्नपूर्ण र देशान्तर एफएममा पनि काम गरेकी छन् । केही समय उनले नाइस टीभीमा समाचार प्रस्तोताको रुपमा पनि कुशलतापूर्वक जिम्मेवारी निभाएकी छन् ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा