१६ असार, काठमाडौं । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले आफु ठूलो सडक दुर्घटना हुनबाट जोगिएको बताएका छन् । उपसभापति गुरुङसहित पाँच जना ओखलढुंगा कांग्रेस केन्द्रीय सदस्य प्रदीप सुनुवारकी श्रीमतीको निधनपछि उनको परिवारलाई भेटेर फर्किंदै थिए ।
नेपालबहसले गुरुङसँग गरेको टेलिफोन कुराकानीमा रामेछाप गोगनेमा स्कोर्पियो दुर्घटना भएको बताए । गुरुङले आफ्नो फेसबुक पेजमा पनि आफु सवार बा १९ च १८३९ नम्बरको स्कार्पियो गाडी आज बिहान रामेछापको गोगनेमा सडक किनारबाट थोरै तल झरेको बताएका छन् ।
अगाडी ठूलो ढुंगा रहेको र यसमै गाडीको अगाडी भाग ओट लागेकाले ठूलो दुर्घटनाबाट जोगिएको उनले जानकारी दिएका छन् । उनले आफूसहित सबै सकुशल रहेको जानकारी दिएका छन् ।
उनले फेसबुपेजमा गाडीको फोटो राख्दै लेखेका छन्, ‘ठूलो घटना हुनबाट जोगियो ! रामेछाप गोगनेमा हामी चढेको गाडी अचानक सडक किनारबाट तल गयो तर अगाडि ढुंगाको ओट लाग्न पुगेकाले ठूलो घटना हुनबाट जोगियो । भगवानको कृपाले हामी सबै सकुशल छौं ।’
गाडीमा उपाध्यक्ष गुरुङसहित रामेछापका महाधिवेशन प्रतिनिधि रत्न कार्की, ललितपुर जिल्ला सदस्य सानुबाबु महर्जन लगायत पाँच जना थिए । उनीहरु ओखलढुंगा घर भएका कांग्रेस केन्द्रीय सदस्य प्रदीप सुनुवारकी श्रीमतीको निधन भएकाले परिवारलाई भेटेर फर्किंदै थिए । अहिले डोजर मगाएर गाडी निकाल्ने काम भइरहेको उनले जानकारी दिए ।