९ आश्विन २०७९, आईतवार
राजनीति
राजनीति

चितवन–३ छाड्न प्रचण्डलाई कांग्रेस नेताहरुको सुझाव, प्रचण्ड अलमलमा

प्रकाशित मिति :  ३० श्रावण २०७९, सोमबार २२:०४


३० साउन, काठमाडौं । चितवनका नेपाली कांग्रेस नेताहरुले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई मंसीर ४ गते हुने निर्वाचनका लागी निर्वाचन क्षेत्र परिवर्तन गर्न सुझाव दिएका छन् ।

नेपाली कांग्रेस चितवनका जिल्ला सभापति राजेश्वर खनाल केन्द्रीय सदस्य दिनेश कोइराला, लगायतका नेताले ४ मंसिरको प्रतिनिधिसभा निर्वाचनमा प्रचण्डले चितवन–३ कांग्रेसलाई छाडिदिनुपर्ने बताएका हुन् । सत्तारुढ गठबन्धनमा रहेका दलहरुले प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा पनि मिलेर जाने निर्णय गरेका छन् ।

त्यसैले गठबन्धन हुँदा कांग्रेसले चितवन–३ प्रचण्डलाई छाड्नुपर्ने आकलन गर्दै चितवनका नेताहरुले प्रचण्डलाई अन्य क्षेत्रमा जान सुझाव दिएका हुन् । केन्द्रीय सदस्य कोइराला प्रचण्डले चितवन–३ बाटै उम्मेदवारी दिन्छु भनेर ढिपी गर्न नहुने बताउँछन् । ‘उहाँले चितवन–३ बाहेक अरुतिर उठ्दिन भन्नुहुँदैन । ठूलो नेताले अरु ठाउँबाट पनि जित्न सक्नुहुन्छ । यसपटक चितवन–३ उहाँले छोडिदिनुपर्दछ’, उनले भने ।

२०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा वाम गठबन्धनका उम्मेदवार बनेका प्रचण्ड चितवन–३ बाट निर्वाचित भएका थिए । कांग्रेसका जिल्ला तहका नेताहरुको अनुसार प्रचण्डलाई चितवन–३ भन्दा अरु निर्वाचन क्षेत्र अनुकुल छन् ।चितवन–३ मा भरतपुर महानगरका १९ वडा र माडी नगरपालिका पर्छ । भरतपुरका १९ वडामध्ये कांग्रेसले ११, एमालेले ४, माओवादी २, एकीकृत समाजवादी र स्वतन्त्रले १÷१ वडाको वडाध्यक्ष जितेका छन् ।

चितवन–३ मा स्थानीय तहको निर्वाचनमा वडाध्यक्षले पाएको मतको आधारमा एमाले पहिलो दल हो । चितवन–३ केन्द्रीय सदस्य कोइरालाको गृह क्षेत्र हो र उनी पनि यहाँबाट प्रतिनिधिसभा सदस्यको उम्मेदवारमा आकांक्षी छन् । यसै क्षेत्रबाट अर्का केन्द्रीय सदस्य टेकप्रसाद गुरुङ पनि उम्मेदवारको आकांक्षी छन् ।

प्रचण्डले सार्वजनिक कार्यक्रममार्फत चितवन–३ बाटै उम्मेदवारी दिने घोषणा गरिसकेका छन्  । यस विषयमा प्रचण्डले केहि प्रतिक्रिया नदिएपनि उनि तनावमा रहेको बुझिएको छ ।


494
Shares
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा