९ आश्विन २०७९, आईतवार
नेपाल प्रहरी
मधेश प्रदेश

प्रहरीकै संलग्नतामा बीरगञ्जबाट हुँदैछ दैनिक करोडौँको तस्करी, निन्द्रामा छ सुरक्षा घेरा

प्रकाशित मिति :  ३१ श्रावण २०७९, मंगलवार १५:३२


३१ साउन, बीरगञ्ज । देशकै मुख्य प्रवेशद्वार हो बीरगञ्ज । यही प्रवेशद्वार हुँदै देशभर नुनदेखि सुनसम्मका वस्तु भित्रिने गर्छ । मुख्यद्वार भएर पनि होला, यहाँ सुरक्षाकर्मीको बाक्लो घेरा तैनाथ गरिएको छ । सीमावर्ती बजार रक्सौलबाट यहाँ प्रवेश गर्ने द्वारको रुपमा छ शंकराचार्य गेट ।

देशभर भित्रिने हरेक सामानले यो गेट गुजार्नै पर्छ । हुन त खुला सीमाका कारण अन्य स्थानबाट पनि सामान नभित्रिने होइन । तर अधिकांश सामान यो गेट नगुज्री भित्रिन सक्दैन । सुरक्षाकर्मीको घेरा, भन्सार जाँचपास हुँदै पुन सुरक्षाकर्मीको घेरा गुजारेपछि मात्रै यो गेटबाट भित्रिएको सामान बल्ल बीरगञ्जको मुख्य बजारसम्म आइपुग्छ । त्यसपछि यहाँबाट देशका विभिन्न भागमा सामान पुग्ने गर्दै आएको छ ।

भन्सार जाँचपासमा आइपुग्नुभन्दा पहिले २ वटा सुरक्षा घेरा पार गर्नुपर्छ । पहिलो घेरामा भारतसँगको सीमा कट्ने वित्तिकै सशस्त्र प्रहरी छ । सशस्त्र प्रहरीको टोलीले सामान्य जाँच गरेपछि नजिकै इनर्वा प्रहरी चौकीबाट खटिने प्रहरीले जाँच गर्छन् । अनि बल्ल भन्सार एरियामा पुग्न पाइन्छ । कतिपय सामान भन्सार जाँचपासका लागि गोदाम छिर्छन भने कतिपयलाई जाँचपासको आवश्यकता नै पर्दैन ।

भन्सार सुरक्षार्थ भनेर सशस्त्र प्रहरीको डफ्फा नै राखिएको छ । भन्सार गेटमा सशस्त्र प्रहरी र नेपाल प्रहरी दुबैको टोलीले भित्रिने र बाहिरिने सवारी साधनका साथै व्यक्तिहरुलाई जाँच गर्ने गर्छन् । शंका लागे नियन्त्रणमा लिने, नभए छाड्ने व्यवस्था हो । त्यसपछि त्यहाँबाट ५ सय मिटर बीरगञ्जतर्फ बढ्दा रजतजयन्ति चोकमा फेरि नेपाल प्रहरीको चेक प्वाइन्ट छ । त्यहाँ पनि चेक हुन्छ । यो सबै सुरक्षा घेरा पार गरेपछि मात्रै बीरगञ्ज बजारमा भित्रिन संभव छ ।

भारतबाट बीरगञ्ज छिर्दा सीमानादेखि करिब एक किलोमिटरकै दुरी आसपासमा यी सबै सुरक्षा घेरा तैनाथ छ । नेपाल प्रहरी र सशस्त्र प्रहरीको यो सुरक्षा घेरो पार गरेर मात्रै कुनै पनि सामान भित्रिन र बाहिरिन सम्भव छ । तर यति ठूलो सुरक्षा घेराको बाबजुद पनि अहिले दिनहुँ यही मार्ग हुँदै करोडौँ मूल्यका विभिन्न सामानहरु खुलेआम भन्सारको आँखै अगाडीबाट राजश्व छलेर तस्करीमार्फत भित्रिरहेको छ । रिक्सा, टेम्पो, साइकल मोटरसाईकलमा राखेर तस्करहरुले भन्सार गेटै अगाडीबाट करोडौँका सामान बिना भन्सार भित्र्याइरहेका हुन् ।

यहाँ तैनाथ चारै वटा सुरक्षाघेरामा रहेका सुरक्षाकर्मी मस्त निन्द्रामा छन् भन्ने घटना पछिल्ला दिनका घटनाक्रमले प्रष्ट पार्छ । केही दिन अघि एक व्यक्तिको हत्या गरी बोरामा प्याक गरी मोटरसाइकलमा राखेर यही मुख्य बाटो हुँदै भारत लगेर छाडिएको घटनाले यहाँ तैनाथ सुरक्षा घेरा कतिसम्मको निन्द्रामा रहेछ भन्ने स्पष्ट पार्छ ।

सामान्य व्यक्ति आउजाउ गर्दा सोधपुछ गरेर हैरान गर्नेले तस्करी गर्दा तथा यस्ता अपराधिक काम गर्दा भने सुइकोसम्म नपाएको भान गर्छ । तस्करीका सामान अहिले इनरुवा प्रहरी चौकीका प्रहरीले नै स्कर्टिङ गर्दै पार गराउने गरेको त्यहीँका स्थानीय बताउँछन् । यहाँ खटिएका प्रहरी बरु भन्सारका कर्मचारी कुट्न व्यस्त हुन्छन् तर दिएको जिम्मेवारी पुरा गर्न होइन तस्करहरुसँग मिलेर पैसा कमाउन डिउटी खटिरहेको स्रोतको दावी छ ।

इनरुवा प्रहरी चौकीको इन्चार्ज प्रहरी नायव निरीक्षक हिमाल भण्डारी हुन् । भण्डारीकै निर्देशनमा उनी मातहतमा रहेको प्रहरी नै तस्करसँगको हिमचिममा लागेर उनीहरुकै सामान छुटाउन तल्लिन हुने गरेका हुन् । नेपाल प्रहरी मात्रै नभई त्यहाँ खटिएका सशस्त्र प्रहरी पनि आफ्नो जिम्मेवारी निर्वाह गर्नुको सट्टा कसरी हुन्छ पैसा कमाउने चक्करमा तस्करको संरक्षक भइरहेका छन् ।


5.36k
Shares
आबिद हुसेन नेपालबहस डटकमका मधेश प्रदेश प्रमुख हुन् । बिगत डेढ दशकदेखि विभिन्न सञ्चारमाध्याममा सक्रिय पत्रकारिता गर्दै आएका हुसेनले एफएम रेडियो, टेलिभिजन एवं पत्रपत्रिकामा आबद्ध रही काम गर्दै आएका छन् । हुसेन यसअघि सगरमाथा टेलिभिजन, क्राइम टुडे मासिकको बीरगञ्ज संवाददाता तथा बीरगञ्जबाट प्रकाशित हुने दिशानिर्देश अनलाइनमा सम्बद्ध रहेका छन् ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा






पहाड झरे भेडीगोठ
नेपालबहस संवाददाता