९ आश्विन २०७९, आईतवार
राजनीति
राजनीति

प्रचण्ड, गौतम र भट्टराईको एउटै गन्तब्य र उदेश्यः माओवादीको नाम फेर्ने कसरत !

प्रकाशित मिति :  १ भाद्र २०७९, बुधबार ०७:१९


१ भदौ, काठमाडौं। मंगलबार बिहानदेखि नेपाली राजनीतिमा दुई परिदृष्य देखिए । पुष्पकमल दाहाल नेतृत्वको माओवादी केन्द्र र डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीले एउटै चिह्नमा प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा सहभागी हुने निर्णय गरे ।

त्यस्तै एमाले बनाउने र भत्काउने काममा संलग्न रहेका वामदेव गौतमले पनि माओवादीकै चुनावचिन्हबाट प्रतिनीधि सभा र प्रदेश सभामा चुनावमा जान चाहे । माओवादी केन्द्रको बैठकले दुवैलाई स्वीकृति दियो । सात वर्षअघि माओवादी छोडेर वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्न हिँडेका भट्टराई पुनः माओवादीसँग चुनावी सहकार्यका लागि जोडिएपछि यसले अब पार्टी एकताको आधार खडा गरेको आभाष देखिएको छ ।

उता वामदेव गौतमपनि जोडिएपछि एमालेबाट विभाजित भएर बनेको एस पार्टी पनि माओवादीतिरै जाने हो कि भन्ने आशंका जन्माएको छ । आफ्ना नेता कार्यकर्तालाई नेकपा एसमा पठाएर आफू मात्रै एकता संयोजन समितिको व्यानरमा बसेका गौतमले माओवादीको चुनाव चिन्हबाट चुनावमा जाने निर्णय गरे । जुन कुरा उनकै कार्यकर्ताले पनि अनुमान गरेका थिएनन ।

माओवादीलाई दुई नेताहरुले माओवादीको चुनाव चिन्ह लिदा फाइदा हुने अनुमान गरिएको छ । यद्यपि दुवै नेताहरुले यसलाई भोलीका दिनम ासमाजवादी केन्द्र निर्माणमा सहयोग पुग्ने बताइरहेका छन् । दुवै पार्टीका नेताहरुका अनुसार अहिले चुनावी मोर्चाबन्दी भए पनि नाटकीयरुपमा कुनै घटनाक्रम विकसित नभए आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनपछि दाहाल र भट्टराई गौतम एउटै पार्टीका नेता हुनेछन् ।

माओवादी केन्द्रको चुनाव चिह्न हँसिया हथौडाबाट चुनाव लड्ने गौतम र भट्टराईको निर्णय तत्कालका लागि निर्वाचन जित्ने रणनीतिक कदम मानिए पनि यो मंसिरलगत्तै पार्टी एकताको बलियो आधार भएको उक्त पार्टीका नेताहरुले ठानेका छन् । जसलाई पुष्टि गर्नेगरी मंगलबार साँझ भट्टराईले तस्बिरसहित ट्वीट गर्दै भनेका छन् ‘नयाँ यात्राको सुरुवातमा गम्भीरता र खुसी १’उनले माओवादीसँगको मंगलबारको बैठकपछि ’बृहत् अग्रगामी शक्तिको ध्रुवीकरण गर्ने लक्ष्य’ अनुरुप माओवादीको चिह्नमा लड्न लागेको बताएका छन् ।

माओवादी अध्यक्ष दाहालले पनि ’बाबुराम र प्रचण्ड एकै ठाउँमा उभिनु अर्थपूर्ण छ’ भन्दै भावी गन्तव्यको संकेत गरेका छन् । यसैगरी वामदेव गौतमले पनि आफू निर्वाचन जित्नका लागि हसिया हथौडा चुनाव चिन्ह लिएको बताउदै गठबन्धन पूर्ण रुपमा पालाना हुने बताएका छन् ।

मंगलबार आगामी निर्वाचनमा सहकार्य गरेर अर्को पार्टीको चुनाव चिह्नबाट चुनावमा सहभागी बन्नेसम्बन्धी नियम, कानूनबारे जानकारी लिन निर्वाचन आयोग पुगेका उनले जित सुनिश्चित भएपछि माओवादीतिर लागेको बताएका छन् । नेता गौतमले चुनाव जित्ने आधार भनेकै गठबन्धन भएको भन्दै जित्नका लागि माओवादी पार्टीको चुनाव चिह्न लिएको दाबी गरेका हुन् । उनले माओवादी केन्द्रको तर्फबाट चुनाव लडेर जितेपछि संसदमा आफ्नो भूमिका स्वतन्त्र उम्मेदवारको रुपमा रहनेसमेत बताए ।

‘हामी गोलाकारभित्र हँसिया हतौडा चुनाव चिह्न लिएर चुनावमा जाने भन्ने प्रचण्ड र मेरो बीचमा सहमति भयो, समझदारी बन्यो, त्यसअनुसार जाँदा कानूनी प्रक्रियाहरू के छन्, भोलि गाह्रो पर्ने हो की, सजिलो हुन्छ कि, कसरी मिल्न सक्छ भन्ने सन्दर्भमा कानून विभागका प्रमुखसँग सल्लाह गर्न आएको हुँ, माओवादी केन्द्रको तर्फबाट चुनाव लडेर गए पनि म स्वतन्त्र हो, त्यसरी मैले भूमिका निर्वाह गर्छु, सदनमा,’ उनले भने । यस्तै, उनले नेकपा एमालेको चुनाव चिह्न लिएर प्रतिस्पर्धा गर्दा हार्ने सुनिश्चित रहेको बताए, हँसिया हतौडाको पछि गठबन्धन रहेको र गठबन्धन अनेक हिसाबले अरु सबै गठबन्धन र पार्टीभन्दा अघि रहेको दाबी गरे ।

उनले इमान्दारिसाथ गठबन्धन गर्ने हो भने अन्य पार्टीले जित्ने ठाउँ र आधार नरहेको जिकिर गरे । ‘म अहिले सूर्य चिह्न लिएर गएँ भने हार्छु, त्यसो भएर जित्नका लागि म यसमा आएको छु, जित्ने आधार भनेको गठबन्धन हो, हँसिया हतौडाको पछि गठबन्धन छ, गठबन्धन अनेक हिसाबले अरु सबै गठबन्धन र पार्टीभन्दा अघि छ,’ उनले भने ।

यसरी दुवै नेताहरु एउटै चुनाव चिह्नमा लड्नु भनेको आंशीकरुपमा दल एउटै हुनु पनि हो । किनकि एउटै चुनाव चिह्नबाट जितेर आउनेहरुको संसदमा एउटै पार्टीको हैसियत हुन्छ । संसदीय दल एउटै हुन्छ । पार्टीको ह्विप लाग्छ । दलले निष्कासन गर्न सक्छ । बाहिरी मोर्चामा अलग पार्टीको अस्तित्व देखिए पनि संसदीय मोर्चामा एउटै दल हुने भएकाले यो घटना नै एकताको एउटा मुख्य खुड्किलो हो । तीन जना नेताहरुले अहिलेदेखिनै यसको परीक्षण गरेको हुनसक्ने प्रशस्त आधार र कारणहरु देखिएका छन् ।

दाहाल र भट्टराईबीच चुनावपछि समाजवादी केन्द्र बनाउने मोटामोटी सहमति भइसकेको अध्यक्ष दाहालले मंगलबार सार्वजनिकरुपमा बताएका छन् । समाजवादी केन्द्र बनाउन माधवकुमार नेपाल मात्र मिल्नु आवश्यक छ । वामदेव गौतमसँग त अहिले नै गोलाकारभित्र हँसिया हथौडामा चुनाव लड्ने सहमति गरिसकेका छन् । यसले गर्दा तीन नेताहरुले एउटै चुनाव चिन्हमा चुनवामा जाँदा नै सही गन्तब्यमा पुगिने मूल्यांकन गरेको पार्टीका नेताहरुले दावी गरेका छन् ।


364
Shares
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा
यी प्रदेशमा वर्षा भइरहेको छ
नेपालबहस संवाददाता






पहाड झरे भेडीगोठ
नेपालबहस संवाददाता