बन्दीपुरमा बाघजात्रा सम्पन्न
नेपालबहस संवाददाता
भदौ १, २०७९ बुधबार १६:५७:१७
१ भदौ, दमौली । तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा सोमबारदेखि सुरु भएको ऐतिहासिक बाघजात्रा मंगलबार सकिएको छ । खड्गमाई सांस्कृतिक समूहले बाघजात्राको सुरुआत गरेको थियो । बन्दीपुरका नेवार समुदायका व्यक्तिले तीन वर्षपछि बाघजात्रा मनाएका हुन् । कोभिड–१९ को जोखिमका कारण यसअगाडि बाघजात्रा निकालिएको थिएन ।
बन्दीपुर नेवा पुचःका अध्यक्ष किसन प्रधानले भने, “जात्रामा बाघले दुःख दिने गरेको, मात्तिएर हिँड्ने गरेको, शिकारीले बाघलाई लखेटेर मारेको र मारिएको बाघलाई राजाको जिम्मा लगाइएसँगै जात्रा समापन भएको दृश्य देखाइएको थियो । ” जात्रामा बाघ, डाक्टर, नर्स, शिकारी, पहलवान, राजाको भूमिकामा बन्दीपुरका नेवार समुदायका व्यक्तिले अभिनय गरेका थिए ।
कोभिड–१९ को जोखिमका कारण विगत तीन वर्षदेखि ननिकालिएको बाघजात्रा यो वर्ष निकालिएको खड्गमाई सांस्कृतिक समूहका अध्यक्ष गेहेन्द्र कायस्थले जानकारी दिए । संस्कृति संरक्षणका लागि बाघजात्रा निकालिएको जानकारी दिँदै उनले भने, “ऐतिहासिक संस्कृति संरक्षणका लागि हामी सधैँ क्रियाशील छौँ ।” बन्दीपुरका नेवार समुदायले विभिन्न संस्कृति र जात्राको संरक्षण गर्दै आएका छन् । बन्दीपुरमा भक्तपुरको शैलीमा विभिन्न जात्रा र पर्व मनाउँदै आइएको छ । भक्तपुरबाट बन्दीपुरमा छिरेका नेवार समुदायले यहाँको जात्रा र संस्कृति संरक्षण गर्दै आएको बताइन्छ ।
उनीहरूले बन्दीपुरमा व्यापारमात्रै नगरी पर्व र संस्कृतिको पनि संरक्षण गर्दै आएका छन् । बन्दीपुरका नेवारहरूले नयाँ वर्षमा मनाउने बिस्केट जात्रादेखि हरेक संस्कृति भक्तपुरे शैलीमा मनाउँदै आएका छन् । बन्दीपुरमा बस्ती मगर समुदायले बसालेका हुन् । त्यसैकारण बन्दीपुरको नामाकरण मगर भाषामै गरिएको छ । वन भनेको जंगल र डी भनेको मगर भाषामा पानी हो । विस्तारै मगर समुदाय यहाँबाट पलायन हुन थाले र नेवार समुदायको उपस्थिति बढ्न थालेको बताइन्छ ।
आजभन्दा साढे दुई सय वर्ष पहिला भक्तपुरका नेवार व्यापार गर्न बन्दीपुर बसाइसराइँ गरी आएका जनाइएको छ । भक्तपुरबाट आएका प्रधान, पिया, श्रेष्ठ, मल्ल र जोशीले बन्दीपुरलाई थातथलो बनाए । भक्तपुरबाट उनीहरूमात्रै बन्दीपुर आएनन्, सँगै भक्तपुरे नेवारी संस्कृति पनि भित्रिएको थियो । सन् १७६८ तिर पृथ्वीनारायण शाहले काठमाडौँ आक्रमण गर्दा भक्तपुरका प्रधान, पिया, श्रेष्ठ, मल्ल र जोशीहरू बन्दीपुर पसेको इतिहास छ । व्यापार गर्न बन्दीपुर छिरेका भक्तपुरका नेवारहरूकै कारण बन्दीपुरमा आजसम्म विभिन्न जात्राको परम्परा रहँदै आएको छ ।
कल सेन्टर संचालनमा आउँदै
व्यास नगरपालिकाले भदौ १ गते (आज) देखि कल सेन्टर सञ्चालनमा ल्याउने भएको छ । नगरवासीको गुनासो सुन्नका लागि नगरपालिकाले शुल्क नलाग्ने कल सेन्टर संचालनमा ल्याउन लागेको हो । चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा कल सेन्टर संचालन गर्ने उल्लेख गरिएको थियो । नगरवासीको गुनासो सुनुवाइका लागि कल सेन्टर संचालन गर्न लागिएको प्रमुख प्रशासकीय अधिकृत हरिराम नागिलाले जानकारी दिए ।
“नगरवासीका समस्या तथा गुनासो सुन्नका लागि चौबीसै घण्टा नै खुला रहने गरी कलसेन्टर सञ्चालनमा ल्याउन लागेका हौँ”, उनले भने “गुनासो र समस्या सुनेपछि तत्कालै त्यसको समाधानका लागि प्रयत्न गरिनेछ ।” नगरपालिकाले सबै वडामा सेवाग्राहीलाई आवश्यक निवेदन, फोटोकपी सेवा निःशुल्क प्रदान गर्ने निर्णय गरेको छ । सेवा लिन आउँदा फोटोकपी गर्नका लागि शुल्क तिर्नुपर्ने व्यवस्थाको अन्त्यका लागि वडा कार्यालयबाटै निःशुल्क सेवा दिइने नागिलाले बताए । नगरपालिकाले चालु आर्थिक वर्षमा नै नगरपालिकाको सेवा प्रवाहलाई थप गुणस्तरीय बनाउन र छिटोछरितो सेवा प्रवाह गर्न सबै वडालाई प्रविधिमैत्री गराउने भएको छ ।
बुवाआमाको स्मृतिमा छात्रवृत्ति कोष
भानु नगरपालिका–१३ स्थित अरनिको माध्यमिक विद्यालयका पूर्व प्रधानाध्यापक चक्रबहादुर अधिकारीले बुवाआमाको स्मृतिमा उक्त विद्यालयमा छात्रवृत्ति कोष स्थापना गर्नुभएको छ । अधिकारीले बुवा सन्तबहादुर र आमा मधुमाया अधिकारीको स्मृतिमा सन्तबहादुर–मधुमाया अधिकारी स्मृति छात्रवृत्ति कोष स्थापना गरेका हुन् ।
यसका लागि अधिकारीले विद्यालयका प्रधानाध्यापक शैलेन्द्रकुमार साहलाई हालै रु ५१ हजार एक सय ५१ को चेक हस्तान्तरण गरेका छन् । आफैँले १९ वर्षसम्म अध्यापन गराएको विद्यालयमा अध्ययनरत गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने उद्देश्यस्वरुप कोष स्थापना गरेको पूर्व प्रअअधिकारीले जानकारी दिए ।
विद्यालयका प्रधानाध्यापक साहले अक्षयकोषबाट प्राप्त हुने व्याजबाट गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिने जानकारी दिए । अधिकारी उक्त विद्यालयको संस्थापक प्रधानाध्यापकसमेत हुन् । उनले विसं २०५८ सम्म उक्त विद्यालयमा अध्यापन गराउनुभएको थियो । उनले गत वर्ष नै भानु नगरपालिका–१३ सम्जुरस्थित जनसहयोगी माविमा पनि सासू–ससुराको स्मृतिमा रु ५१ हजार एक सय ५१ को छात्रवृत्ति कोष स्थापना गरेका थिए । अधिकारीले अघिल्लो वर्ष व्यास–१ स्थित जलदेवी माविमा तीन बालबालिकालाई भर्ना गरेर पढ्ने व्यवस्था मिलाइदिएका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएसइईमा गण्डकीबाट ४० हजार बढी विद्यार्थी सहभागी
चैत १५, २०८० बिहिबार
म्याग्दीका भिर पहरामा मह सिकार सुरु
चैत १४, २०८० बुधबार
नौमती बाजा बजाउन तालिम लिँदै बागलुङका आमाहरू
चैत १३, २०८० मंगलबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
सरकारले तोक्यो चैते धानको समर्थन मूल्य
चैत १५, २०८० बिहिबार
‘बिराट गोल्ड कप फुटबल’ काे मुख्य प्रायोजनमा एनआईसी एशिया बैंक
चैत १५, २०८० बिहिबार
स्काउटको जग्गा कब्जामा गृहमन्त्रीको चासो, मन्त्रालयमा आयुक्तसँग छलफल
चैत १५, २०८० बिहिबार
कोशी प्रदेशले आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माणमा पहल गर्ने
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार