२२ मंसिर २०७९, बिहीबार
सरुवा-बढुवा
नेपाल प्रहरी

प्रहरीमा एआईजी बढुवा र आकर्षक स्थानमा सरुवाको चिन्ता

प्रकाशित मिति :  ९ आश्विन २०७९, आईतवार ११:२५


९ असोज, काठमाडौं । नेपाल प्रहरीमा भटाभट एआईजीहरुले अवकाश पाउन लागेसँगै रिक्त पदमा बढुवा र खाली भएका स्थानमा सरुवाको सरगर्मी बढेको छ । प्रहरी एकेडेमीमा कार्यरत एआईजी मुकुन्दराज आचार्यले अवकाश पाएपछि त्यहाँ कार्य विभागमा कार्यरत एआईजी सहकुलबहादुर थापाको सरुवा भएको छ । आचार्यको अवकाशसँगै प्रहरीमा एआईजीका दुई पद रिक्त भएका छन् ।

विश्वराज पोखरेलको अवकाशसँगै यसअघि नै एक पद रिक्त भइसकेको थियो । एकल बढुवा गर्दा विवाद हुने भएकाले दुईजनाको बढुवा गर्न गृह मन्त्रालयमा दबाब सिर्जना भएको छ । आचार्यको अवकाश भएसँगै एआईजी बढुवा हुने सम्भावना छ । जसमा ठूलो आर्थिक चलखेल हुने देखिएको छ । एआईजीमा बढुवामा एक दर्जन डीआईजीहरु दाबेदार छन् ।

वरियताका आधारमा वसन्त कुँवर, अशोक सिंह, टेकप्रसाद राई, दीपक थापा, श्यामलाल ज्ञवाली, किरण बज्राचार्य, उमेशराज जोशी, रामदत्त जोशी, मीरा चौधरीलगायत छन् । तर उनीहरुमध्ये अशोक सिंहले बाजी मार्न खोजिरहेका छन् । त्यसैगरी थापाले पनि आफ्नो शक्ति केन्द्रित गरिरहेका छन् । डीआईजी बढुवामै वरियता धेरै तलमाथि भएकाले त्यसको ठूलो अर्थ छैन । जसले पावर र पैसा लगाउँछ, उही बढुवा हुनेछ भन्ने कुरा डीआईजी बढुवामा भएको चलखेलले नै देखाइसकेको छ । त्यसकारण पैसा र पावर लगाएर वरियतामा अघि पुगेकाहरुकै सेटिङ अहिले पनि बलियो देखिएको छ ।

‘विगतबाटै यो नजिर बसेको छ, अहिले बढुवाको अर्थ छैन’, स्रोतले भन्यो । स्रोतका अनुसार पहिलो वसन्त कुँवर र अशोक सिंहलाई एआईजी बढुवा गर्न बालुवाटार निकट बिचौलियाहरु सक्रिय छन् । सिंहलाई १ नम्बर र कुँवरलाई २ नम्बरमा बढुवा गर्ने योजना बनिरहेको छ । कुँवर सिधासादा भएकाले उनलाई बढुवा गरे सिंहलाई पछि सहज हुने गरी यसरी योजना बनाइएको स्रोतको दावी छ । सिंह अहिले विशेष व्यूरोमा छन् भने कुँवर निर्वाचन सेलमा छन् । यस्तो योजनाविरुद्ध अन्य डीआईजीहरु पनि सक्रियताका साथ शक्तिकेन्द्रमा धाइरहेका छन् ।

बढुवाको यस्तै अस्वच्छ प्रतिस्पर्धाले केही समयपछि अवकाश पाउने दुई एआईजीहरु रवीन्द्र धानुक र अरुण बिसीले अवकाशपछि मात्र चार जनाको एकैपटक बढुवा गर्नुपर्ने भनेर केही दौडधुपमा छन् । जसकारण चुनावको मुखमा बढुवाको राजनीति चर्किएको छ । एक महिनापछि यी दुवै जनाले अवकाश पाउँदैछन् । प्रहरीमा चुनावअघिनै बढुवा गर्नुपर्ने विषयले प्राथमिकता पाउन थालेको छ । तर यही बीचमा प्रहरी महानिरीक्षक धीरजप्रताप सिंह इन्टरपोलको बैठकमा भाग लिन देश बाहिर जाने कार्यक्रम भएकाले केही समय अवरोध हुने संभावना बढेको छ ।


3.94k
Shares
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा