४ कात्तिक, काठमाडौं । नेपाल बुद्धिचाल संघ र समृद्धि फाइनान्स कम्पनीबीच प्रायोजन सम्झौता भएको छ ।
नेपाल बुद्धिचाल संघले १९ देखि २१ कात्तिकसम्म आयोजना गर्ने नेसनल भेट्रान्स चेस च्याम्पियनसीपका लागि प्रायोजन सम्झौता गरिएको हो ।
शुक्रबार एक समारोहबीच नेपाल बुद्धिचाल संघका अध्यक्ष विदुरप्रसाद गौतम तथा समृद्धि फाइनान्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत टीकानिधि लोहनीले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।
करिब सात लाख ५० हजारको लागतमा सम्पन्न हुने च्याम्पियनसीपको मुख्य प्रायोजकका रूपमा समृद्धि फाइनान्सले नेपाल बुद्धिचाल संघलाई तीन लाख रुपैयाँ प्रदान गर्नेछ । सिइओ लोहनीले चेस संघसँगको प्रायोजन सम्झौतालाई निरन्तरता दिन आफू प्रतिवद्ध रहेको बताए ।
बुद्धिचाल संघका अध्यक्ष गौतमले विभिन्न विधाका करिब १५ वटा राष्ट्रिय प्रतियोगिताहरु नियमित रुपमा सञ्चालन गर्न प्रयासरत रहेको जानकारी दिए । उनले कर्पोरेट सेक्टरको प्रत्यक्ष सहभागितामा मात्र नेपालमा चेस खेललाई व्यावसायीकरण गर्न सकिने बताए ।
संघले आगामी मंसिर महिनामा नेसनल बी तथा नेसनल सिटी च्याम्पियनसीपको समेत तयारी सुरु गरिसकेको सचिव उमेश केसीले बताए ।