२२ मंसिर २०७९, बिहीबार
आमनिर्वाचन विशेष

नेपालमा राजासहितको लोकतन्त्र र सनातन हिन्दू धर्म स्थापित हुन आवश्यक छ : कुन्तीदेवी पोख्रेल

प्रकाशित मिति :  ११ कार्तिक २०७९, शुक्रबार १७:१४


कुन्तीदेवी पोख्रेल, प्रतिनिधिसभा सदस्य राप्रपा उम्मेदवार काठमाडौं-२ 

समाजसेवा र व्यवसायबाट राजनीतिमा उदाएकी युवा नेत्रृ हुन् कुन्तीदेवी पोख्रेल । उनले आगामी मंसिर ४ मा हुनगइरहेको आमनिर्वाचनमा प्रतिनिधिसभा सदस्यको लागि काठमाडौं निर्वाचन क्षेत्र नं. २ बाट उम्मेदवारी दिएकी छन् । काठमाडौंकी स्थायीवासी पोख्रेलले राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्पmबाट उम्मेदवारी दिएकी हुन् । राप्रपाको केन्द्रीय सदस्यसमेत रहेकी उनी वरिष्ठ समाजसेवी, सफल व्यवसायी र कुशल नेतृको रुपमा परिचित छन् । उनी सम्पन्न राप्रपाको महाधिवेशनबाट सार्वधिक मतका साथ केन्द्रीय सदस्यमा निर्वाचित भएकी थिइन् । पोख्रेलले देशमा ब्याप्त भ्रष्टाचार, अन्याय, अत्याचार र राष्ट्रघातविरुद्ध आफ्नो उम्मेदवारी रहेको बताएकी छन् । उनै नेतृ पोख्रेलसँग आमनिर्वाचनमा केन्द्रित रहेर नेपाल बहसको लागि कालिका महतले गरेको कुराकानी:

काठमाडौं क्षेत्र २ बाट प्रतिनिधि सभा सदस्यमा उठ्नुभएको छ, तपाईंको उम्मेदवारी केका लागि ?

पछिल्लो समय नेपाल भ्रष्टाचार, हत्या, हिंसा, बलात्कार, मानव बेचविखन, अन्याय, अत्याचार, कुरीति, कुस्कार जस्ता देशद्रोही घटनाक्रमले आक्रन्त छ । त्यसको विरुद्ध लड्नलाई सामाजिक संघसंस्थाबाट आवाज उठाएर मात्रै नसकिने रहेछ । देशको नीतिनिर्माण तहमा पुगेर कानुनी व्यवस्था नै गर्नुपर्ने रहेछ । देशमा व्याप्त विकृति,विसंगतिविरुद्ध बाहिरबाट धेरै आवाज उठाएँ । तर, राज्यपक्षबाट पटक्कै सुनुवाइ भएन ।
यसको विरुद्ध समाजसेवाको माध्यमबाट उपत्यकाबाहेक दूरदराजका धेरै जिल्लामा पुगेर महिला, हिंसा, हत्या र बलात्कारका विरुद्ध लडेँ । तर, आफू देशको नीतिनिर्माणको तहमा नहुँदा ती विषय ओझेलमा पर्दा रहेछन् । त्यसो भएर पनि म काठमाडौं निर्वाचन क्षेत्र नम्बर २ मा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिएकी हुँ । यहाँका नागरिकले यसपालि मलाई भोट दिएर विजय गराउनुहुन्छ भन्नेमा ढुक्क छु ।

यहाँका जनताले तपाईंलाई नै भोट दिनुपर्ने कारण के ?

जब २०४६ सालमा नेपालमा प्रजातन्त्र पुनस्र्थापना भयो । त्यसयता नेपालमा जतिपनि निर्वाचन भए । काठमाडौं २ बाट प्राय बाहिरबाट आयातित टुरिष्ट उम्मेदवार बने । उनीहरु बाहिरबाट फुत्त आए, विभिन्न पार्टीको प्रतिनिधि भएर चुनाव लडे, जिते आफ्नो दुनो सोझ्याएर गए । यहाँबाट नेकपा एमालेका तत्कालीन महासचिव माधवकुमार नेपालले चुनाव जित्नुभयो । उहाँ देशको प्रधानमन्त्री पनि बन्नुभयो । तर, यस क्षेत्रको विकास निर्माण र जनताको आवश्यकता के छ भनेर बुझ्न पुगेको पाइँन । त्यसपछि उहाँलाई जनताले पत्याएनन् हार्नुभयो । अहिले यहाँका जनताले नपत्याएपछि रौतहटतिर लाग्नुभयो ।

त्यसैगरी यसै क्षेत्रबाट माओवादी नेता झक्कुप्रसाद सुवेदीले जनतालाई विभिन्न झुठा आश्वासन बाँडेर चुनाव जित्नुभयो । त्यसपछि आफ्नो निर्वाचन क्षेत्रको भूगोल, जनताको आवश्यकता, स्थानीय महत्व बुझ्न एकपटक पनि जानुभएन । अहिले कुन पार्टीमा हुनुहुन्छ हिजो उहाँलाई भोट हाल्ने जनतालाई थाहा छैन । त्यसैले भूगोल बुझेको, स्थानीय ज्ञान नभएको, यहाँको मौलिक संस्कार, संस्कृति, रितिरिवाज, परम्परा, धर्म, संस्कार, संस्कृति, मौलिक भाषा, भेषभुषा, ऐतिहासिक र पुरातात्विक महत्व बुझेको स्थानीय युवा नेतृत्वको आवश्यक भएको यहाँका जनताले महसुस गरेका छन् । त्यसको लागि काठमाडौं क्षेत्र नम्बर २ बाट मेरो उम्मेदवारी रहेको छ ।

तपाईंले चाहीं यहाँका जनताको समस्या समाधान गर्न सक्नुहुन्छ भन्ने ग्यारेन्टी के ?

म त यहाँ जन्मी, हुर्की, बढी, अध्ययन गरेकी स्थानीय व्यक्ति हुँ । म यो भूगोलको छोरी हुँ । मैले समाजसेवामार्पmत यस क्षेत्रमा धेरै काम गरेकी छु । हरेक, वडा, टोल, घर–घरमा सामाजिक कामको सिलसिलामा पुगेकी छु । मलाई यस क्षेत्रमा बसोबास गर्ने दलित, जनजाति, महिला, जेष्ठनागरिक, अल्पसंख्यक, उत्पीडित, अपाङ्गता भएका व्यक्ति, भूमिहीन, किसान, उद्योगी, व्यापारी, समाजसेवी, बुद्धिजी, विद्यार्थी, कर्मचारी, मजदूरलगायत सम्पूर्ण तह, तप्पाका, वर्ग, समुदायका आवश्यकता थाहा छ ।

त्यसकारण पनि उहाँहरुको इच्छा, आवश्यकता र चाहनाअनुसार काम गर्न सक्छु भन्ने प्रतिवद्धता जनाउन चाहन्छु । त्यसको लागि यहाँका जनताले यसपटक आफ्नो मत परिवर्तन गर्नुपर्छ । विकास र परिवर्तनको लागि मत परिवर्तन गर्नुहुन्छ भन्ने विश्वस्त छु । यसपटक काठमाडौं २ का जनताले मलाई मत दिएर जिताउँछन् भन्नेमा ढुक्क छु ।

गठबन्धनका उम्मेदवारसँग प्रतिस्पर्धा गर्न तपाईंलाई गाह्रो छैन ?

उहाँहरुले राजनीतिक पार्टीका शीर्ष नेताहरु बसेर गठबन्धन गर्नुभएको छ । मलै स्थानीय जनता र भोटरसँग गठबन्धन गरेकी छु । म त यस क्षेत्रका जनताको साझा उम्मेदवार हो । मलाई सबै पार्टीका भोटरले मत दिन्छन् । चुनावमा राजनीतिक पार्टीसँग भन्दा जनतासँग गरेको गठबन्धन बलियो हुन्छ । किन भने भोट हाल्ने जनताले हो । जनताले चुनावका बेला गठबन्धनभन्दा पनि उम्मेदवार हेर्छन् । लोकतन्त्रमा जनताको अभिमत ठूलो हुन्छ । मलाई यहाँका स्थानीय जनता, समाजसेवी, बुद्धिजी, सर्वासधारण सबैको साथ, सहयोग र समर्थन छ । त्यसैले म एउटा पार्टीविशेषको भन्दा पनि आफूलाई सबै दल, तहतप्का, वर्ग, समुदायका नागरिकको साझा उम्मेदवार भन्न रुचाउँछ ।

तपाईंलाई त लोकतन्त्र र संघीयताको विरोधी राजाको एजेन्डा बोकेको उम्मेदवार भन्ने आरोप छ नि ?

मुलुककै लोकतन्त्रवादी नेता विश्वेश्वरप्रसाद कोइरालाको राष्ट्रिय मेलमिलाको सिद्धान्तलाई सम्मान गर्ने व्यक्ति हुँ । उहाँले त्यतिबेला उठाएको राष्ट्रिय मेलमिलापको नीति अहिले यो मुलुकमा खड्किएको छ । म वीपी कोइरालाको मूल्य, मान्यता, आदर्श र सिद्धान्तलाई आत्मसाथ गर्ने व्यक्ति हुँ । उहाँ बहुआयामिक र दूरदर्शी नेता हो । अहिले मुलुकमा भौगोलिक अखण्डता, राष्ट्रिय एकता, अभिव्यक्ति स्वतन्त्रता र समृद्धिका लागि राष्ट्रिय मेलमिलाप आवश्यकता छ । अनि म कसरी लोकतन्त्र विरोधी हुन सक्छु ? म त हरेकमा बृहत लोकतान्त्रिक एकता हुनुपर्छ भन्ने मान्छे हुँ ।

बरु अहिले जसले लोकतन्त्रका कुरा गरिरहनुभएको छ । उहाँहरुले चाहीं बरु वीपी कोइरालाको आदर्श, मूल्य, मान्तयता र सिद्धान्त बिर्सिएजस्तो लाग्छ । म त मुलुकमा राजासहितको वास्तविक लोकतन्त्र हुनुपर्छ भन्ने मान्छे हुँ । बहुसंख्यक नेपालीले मान्दै आएको हिन्दू सनातन धर्म स्थापित हुनुपर्छ भन्न रुचाउँछु । राष्ट्रिय प्रजातन्त्र पार्टी २०४६ सालदेखि स्थापित भएको हो । जसले संवैधानिक राजतन्त्र र बहुदलीय प्रजातन्त्रलाई आत्मसात गरेको थियो । फेरि २०६२÷६३ को परिवर्तनपछि लोकतान्त्रिक गणतन्त्रात्मक संविधानलाईलाई मान्दै आएको छ । अनि कसरी राप्रपा लोकतन्त्र विरोधी हुन्छ ? त्यो त विरोधीहरुले लगाउने आरोप मात्रै हो ।

चुनावका बेला यस्ता आरोप प्रत्यारोप आउँछन् । फेरि त्यसमा लोकतान्त्रिक व्यवस्था नै ठिक छैन भनिएको होइन । लोकतान्त्रिक संविधानभित्र भएका कमीकमजोरीलाई सच्याउनुपर्छ भनिएको छ । संघीयताको विरोध पनि गरिएको छैन । त्यस्थानीय तहलाई अझ अधिकारसम्मन्न, जिम्मेवार र बलियो बनाउने । तर, प्रदेशको चाहीं खासै काम नदेखिएको र सामो मुलुक भएकाले खर्चले धान्न गाह्रो भएको त्यसको खारेजी हुनुपर्छ भन्ने माग हो ।

तपाईं सांसद भइसकेपछि यस क्षेत्रमा गर्नेपर्ने काम के के देख्नुभएको छ ?

सिंहदरबारको नजिक भएर पनि विकास निर्माणका दृष्टिले काठमाडौं २ का अधिकांश ठाउँहरु ओझेलमा परेका छन् । जस्तो कोटेश्वरदेखि पेप्सी, काँडाघारी, मुलपानी, साखुहुँदै जर्सिङपौवा जोडिने सडक नाममा मात्रको छ । त्यसलाई स्तरोन्नति र व्यवस्थपित गर्नुपर्ने देखिन्छ छ । त्यसैगरी डाँछी, भद्रवास, आलापोट, गागालफेदी, नाङ्लेभारेलगायतका सडकको पनि त्यस्तै दूरदशा छ । त्यसैगरी शिक्षा, स्वास्थ्य, खानेपानी, ढलव्यवस्थापनमा धेरै समस्या छ ।

लप्सीफेदी, गागलफेदी, जर्सिङपौवालगायत ठाउँहरु प्राकृतिक सौन्दर्य, ऐतिहासिक र पूरा तात्विक दृष्टिले भूरिपूर्ण छन् । तर, ती महत्व बोकेका ठाउँहरु उचित विकास निर्माण र व्यवस्थापन नहुँदा ओझेलमा परेका छन् । त्यहाँ बाटो, बिजुली, सरसफाइ, शान्तिसुरक्षा, अमनचयनको उचित व्यवस्थापन गर्ने हो भने पर्यटकीय दृष्टिले अत्यन्तै सुन्दर मानिन्छ । त्यो ठाउँको राम्रो विकास निर्माण र व्यवस्थापन हुने हो भने नेपालको स्वीट्जरल्यान्ड बनाउन सकिन्छ ।

अब म प्रतिनिधिसभा सदस्यमा काठमाडौं २ बाट निर्वाचित भएपछि ६ महिनाभित्र त्यो काम गरेर देखाउँछु । मत परिवर्तन गर्दा विकास हुन्छ । जस्तो उदाहरणको लागि काठमाडौंका मेयर बालेन शाहलाई लिन सकिन्छ । काठमाडौं महानगरका जनताले मत परिवर्तन गरे नवनिर्वाचन मेयरले सुरुका दिनदेखि परिवर्तनका काम गरेका छन् । अब प्रतिनिधिसभामा पनि त्यस्ता व्यक्तिको खाँचो छ । त्यसको जिम्मा म लिन्छु । मलाई जनताले मत दिएर त्यो अधिकार दिनुपर्याे । मैले चुनाव जितेको भोलिपल्टबाट मेरो बलबुताले भ्याएसम्म काम गरेर देखाउँछु ।

विदेसिने युवा शक्तिलाई स्वदेशमा स्वरोजगारमुखी बनाउन के गर्नुपर्छ ?

यसरी युवा वर्ग विदेसिनुको प्रमुख कारण भनेको राजनीतिप्रतिको वितृष्षणा हो । किन भने पछिल्लो देशको नीतिनिर्माण तहमा पुगेका नेताहरु भ्रष्टाचार र अनियमिततामा लिप्त भए । जसको कारण मुलुक अन्याय, अत्याचार, हत्या, हिंसा, बलात्कार, कसुशासन र अराजकताको सिकार बन्दै गयो । त्यसकारण युवा जनशक्तिले आफ्नो योग्यता, क्षमता र इच्छाअनुसारको अध्यायन र रोजगारी पाएनन् । आफ्नो बलबुताले नेपालमै केही गर्छु भन्नेलाई पनि यहाँको नीतिनियमले अलमल्याएर गर्न दिएन । शिक्षालयहरु राजनीतिक पार्टीका अखडा बन्दै गए । विद्यार्थीहरुलाई सीमुलक, व्यवसायुक्त र प्राविधिक ज्ञान भएन । त्यसकारण उनीहरु सम्भावनाको खोजीमा विदेसिन वाध्य छन् ।

सरकारमा बस्ने व्यक्तिहरु ती युवाशक्तिलाई विदेश पठाएर रेमिट्यान्स खान व्यस्त छ । त्यसकारण युवाशक्तिलाई स्वदेशमै रोकेर स्वरोजगारमुलक र व्यवसायिक बनाउन सीपमुयुक्त प्राविधिक शिक्षाको व्यवस्था गर्नुपर्छ । व्यवसाय गर्ने युवालाई लगानीको ५० प्रतिशत राज्यले अनुदान दिनुपर्छ । स्वदेशी उत्पादनलाई विशेष प्राथमिकतामा राखेर करको दायरा खुकुलो बनाउनुपर्छ । बजार व्यवस्थापनमा बिचौलियाहरुलाई निरुत्साहित गर्नुपर्छ । विद्यालयहरुलाई राजनीतिकमुक्त क्षेत्र बनाउनुपर्छ । युवा उद्यमी व्यवसायीलाई प्रोत्साहन गर्नुपर्छ । त्यसो भयो भने बेरोजगरी समस्या हल हुन्छ र युवा पलायन निर्मुल हुन्छ । अनि देश समृद्ध र सुखी बन्छ । त्यसको लागि म नीतिनिर्माणको तहमा पुगेर पहल गर्छु ।

यहाँका बेरोजगार महिलाको लागि के गर्नुपर्ने देख्नुहुन्छ ?

यस क्षेत्रमा बसोबास गर्ने सबै तहतप्ताक र वर्ग समुदायका महिलाहरुको लागि उहाँहरुको योग्यता, क्षमता र इच्छा अनुसारको सीपमुलक तालिम दिई आत्मनिर्भर बनाउने छु । त्यो काम मैले यसअघि पनि ‘तारामण्ड सशक्तिकरण अभियान’ नामक गैरसरकारी संस्थामार्पmत गर्दै आएकी छु । त्यो अभियानलाई नीतिनिर्माणको तहमा पुगेपछि औपचारिक कार्यक्रम बनाएर उहाँहरु समक्ष लाने छु । त्यसैगरी उहाँहरुलाई आफ्नो हक अधिकारको लागि आवाज बुलन्द गर्न अभिमुखीकरण तालिमको व्यवस्था गर्ने छु ।

बेरोजगार महिलाहरुको लागि विभिन्न व्यवसायीमा उत्प्रेरित गर्नेछु । त्यसैरी दलित, उत्पीडित, पीछाडा वर्ग, अल्पसंख्यक, ओझेलमा परेका र आवाजबिहीनहरुको आवाज मुखरित गर्न सशक्त पहल गर्ने छु । त्यसैगरी व्यापार, व्यवसायमा संलग्न महिलाहरुका लागि राज्यको तर्पmबाट गर्नुपर्ने व्यवसायिक सुरक्षा, बजार व्यवस्थापन र उत्पादन तथा बजार व्यवस्थाको पक्षमा लागिपर्ने छु । जसको कारण महिलाहरुमा आत्मनिर्भरता बृद्धिहुनुका साथै बेरोजगारी सहमस्या हल हुन्छ । त्यसको लागि राज्यको पहुँचमा मलाई पु¥याउने जिम्मा उहाँहरुको हो ।

काठमाडौं २ का शहरी इलाकामा के के समस्या रहेको पाउनुभएको छ ?

शहरी क्षेत्रमा ट्राफिक जामको सबैभन्दा ठूलो समस्या देखेकेछु । जस्तो कोटेश्वरबाट जडीबुटीहुँदै भक्तपुरतिर जाने र पेप्सीकोलातिर जाने सडक खण्डको ट्राफिक जामले जनता आजित छन् । त्यसलाई व्यवस्थापन गर्नुपर्ने छ । त्यसैगरी भित्री सडकहरमा सडकबत्ती, सीसी क्यामेराको आवश्यकता छ । खानेपानी, सरसफाइ, ढलव्यवस्थापनको ठूलो समस्या छ । त्यसको लागि तत्काल पहल कदमी गर्नुपर्ने देखिन्छ । भित्री सकडहरु खाल्टाखुल्टी, धूलो, धुवा, हिलोले स्थानीयहरु सधैं मारमा परेका छन् । त्यसकालाई कालोपत्रे र पुनर्संरचना गर्न आवश्यक छ । त्यसको लागि पनि सशक्त प्रयास गर्नेछु । सडक जामलाई कम गर्न ठाउँ र आवश्यकता हेरी आकासेपुलको व्यवस्था गर्न पहल गर्नेछु । काठमाडौंमा खानेपानी, ढलनिकास र सरफाइको समस्याले जहिले पनि राष्ट्रिय राजनीतिमा हलचल ल्याउने गरेको छ । त्यो समस्या समाधानको लागि स्थानीय तहसँग समन्वय गरी केन्द्रीय स्तरसम्म पहुँच पुर्याउने छु ।

काठमाडौं २ का धार्मिक, पुरातात्विक र ऐतिहासिक महत्वका ठाउँहरुलाई व्यवस्थित गर्न कस्तो एजेन्डा तय गर्नुभएको ?

काठमाडौंमा नेवार समुदायको ठूलो योगदान र महत्व छ । उहाँहरुको कला, भाषा,साहित्य, भेषभभुषा, संस्कार, संस्कृति, रितिरिवाज, परम्परा नेपालको पहिचान हो । त्यसैले यसको संरक्षण, सम्वद्र्धन र विकासको लागि देशको नीतिनिर्माण तहमा पु¥याउन विशेष पहल गर्नेछु । त्यसैगरी यहाँ निर्मित ऐतिहासिक कलायुक्त मठमन्दिर, गुठीलगायतको क्षेत्रमा विकास र समृद्धिका लागि पनि लागिपर्ने छु । अहिले धेरै त्यस्ता परापूर्वकालदेखि बनेका महत्वपूर्ण मठमन्दिरहरु लथालिङ्ग छन् । धतिपय भूकम्पका बेला भत्किएर अस्तित्व नै लोप हुने अवस्थामा पुगेका छन् ।

तिनको संरक्षण र सम्वद्र्धनका लागि पहल गर्नेछु । किन भने यस्ता पुरातात्विक र ऐतिहासिक तीर्थस्थल हाम्रो देशको टुरिजम क्षेत्रमा ठूलो योगदान गरेको छ । यहाँ जति पनि विदेशीहरु आउछन् उनीहरु नेपालको कला, संस्कार, संस्कृतिमा विशेष खान राख्ने गर्दछन् । नेपाल कला, साहित्य, धर्म, संस्कार, संकृतिले भरिपूर्ण देश हो । अझ काठमाडौंलागयत उपत्यकालाई मन्दिरैमन्दिरको शहर भनेर चिनिन्छ । यति ठूलो महत्व बोकेको क्षेत्रमा राज्यले बेवास्ता गर्दा पुरै ओझेलमा छ । त्यसलाई म राज्यको नीतिनिर्माणको तहमा पुगेपछि विकास, निर्माण र पुनर्संरचनाको लागि विशेष पहल गर्ने प्रतिवद्धता जाहेर गर्दछु ।


338
Shares
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा