१८ मंसिर २०७९, आईतवार

पुस्तक बिक्रीबाट आएको पैसा मानवीय सेवामा लगाउने डा. कैनीको घोषणा

प्रकाशित मिति :  १४ कार्तिक २०७९, सोमबार १८:०२


१४ कार्तिक, काठमाडौं । नेपाल क्यान्सर अस्पताल एवं रिसर्च सेन्टरका प्रमुख कार्यकारी अधिकृत प्रा.डा. बच्चुकैलाश कैनीले आफ्ना कृतिहरूको बिक्रीबाट आएको सबै रकम मानवीय सेवामा अर्पण गर्ने घोषणा गर्नुभएको छ ।

हालैमात्र डा.कैनीका अदृश्य मनका सादृश्यहरू ‘निबन्धसङ्ग्रह’, सिमाहीन सिमा र रङ्गको पहिचान ‘कवितासङ्ग्रह’, भिसागर्ल ‘कथासङ्ग्रह’ र प्रतिबिम्ब ‘गजलसङ्ग्रह’ गरी एकै पटक ५ कृति सार्वजनिक भएको थियो । वरिष्ठ साहित्यकार प्रा.डा. अभि सुवेदीलगायतका विशिष्ट व्यक्तिहरुबाट पाँच वटा पुस्तकको एकसाथ विमोचन भएको थियो ।

ती कृतिबाट उठेको रकम असहाय तथा बेसहाराको उद्धारका साथै खाना, नाना र छानाको प्रबन्ध गरी परिवार खोजेर पुनःमिलन गराउँदै आएको मानवसेवा आश्रमलाई दिने घोषणा गरेका हुन् । उनले पहिलो चरणको सहयोगअन्तरगत पुस्तक विमोचनका अबसरमा उठेको रु २१ हजार ८६० आश्रमका केन्द्रिय सदस्य सुमिरा लामालाई हस्तान्तरण गरिसकेका छन् ।

केन्द्रिय सदस्य लामाले यस्तै परोपकारी व्यक्तिहरुको सहयोगबाट नै आश्रमको संरक्षणमा रहेका सहयोगापेक्षी ‘सडकआश्रित’ मानवहरुहरुको पालनपोषण भइरहेको जानकारी गराउँदै डा कैनीको घोषणाले आश्रमलाई थप हौसला मिलेको बताए ।

“मेरा यी पाँच वटै कृति बिक्रीबाट आएको सबै पैसा म मानवसेवा आश्रमका लागि अर्पण गर्नेछु”, डा कैनीले भने, “आश्रमको सेवालाई यसले थोरै भए पनि सहयोग पुग्ने अपेक्षा छ ।” वरिष्ठ मुटुरोग विशेषज्ञ डा। भगवान कोइरालाले एकैपटक पाँच कृति ल्याएकोमा डा. कैनीलाई बधाई दिए ।

मानवसेवा आश्रमले एक दशकदेखि सडकपेटी र सार्वजनिक स्थलहरूमा घरपरिवार र आफन्तविहीन भइ कष्टपूर्ण जीवनयापन गर्न बाध्य भएका सहयोगापेक्षी ‘बेसहारा, अशक्त, असहाय, अनाथ, अभिभावकविहीन, मानसिक तथा शारीरिक रूपमा कमजोर’ सडकआश्रित मानवहरूको उद्धार, उपचार एवं परामर्श गर्दै आइरहेको छ । आश्रमले परामर्शका क्रममा परिवार भेटिएकाहरूको पारिवारिक पुनःमिलन र परिवार नभेटिएकाहरूको संरक्षण गर्दै आएको छ ।


78
Shares
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा