१८ मंसिर २०७९, आईतवार
ठगी
सहकारी

करोडौं रुपैयाँ हिनामिना गरी नमस्ते सहकारीका अध्यक्ष र प्रबन्धक सम्पर्कविहिन

प्रकाशित मिति :  २१ कार्तिक २०७९, सोमबार १८:२८


♦दीपक शर्मा

२१ कार्तिक, बर्दिया । पछिल्लो केही बर्षदेखि नमस्ते बचत तथा ऋण सहकारी संस्था लिमिटेडका संचालक समितिका पदाधिकारी र प्रबन्धकको जीवनशैली परिवर्तन भएको थियो । दैनिक जसो मदिरापान तथा घुमफिर र मोजमस्ती लगायतका क्रियाकलापले केही सन्देश दिइरहेको भएपनि आम बचतकर्ताले त्यसतर्फ ध्यान दिएका थिएनन् । बचतकर्ताले १ लाख होइन, ५ लाख होइन, १ करोडसम्म विश्वास गरेर रकम जम्मा गरेका थिए । अहिले त्यही आफनो रकम पाउनका लागि प्रहरीलाई गुहारिरहेका छन ।

ग्राहकको विश्वास जित्न आफनो सहकारीमा बचत गर्न बाध्य पार्नका लागि पदाधिकारी तथा प्रबन्धकले बेला बेलामा देखावटीका लागि गाँउघरका सानातिना दर्ता समेत नभएका क्लबहरुलाई २ वटा फुटवल, केही थान टिसर्ट दिदै आफुतर्फ आकर्षित गराउँदै आएका थिए । अन्य सरकारी तथा प्राइभेट बैंकहरुको भन्दा बढी ब्याजदिने भन्दै ठुला व्यापारीदेखि सामान्य नागरिकको समेत मन जिति सहकारीमा बचत गराउन बाध्य पारेको थियो ।

तर नमस्ते बचत तथा ऋण सहकारी संस्थाले उक्त विश्वास तोडदै एक हप्तादेखि बर्दियाको गुलरियामा रहेको उक्त सहकारी संस्थाका संचालक समितिका अध्यक्ष नगेन्द्र रिमाल र प्रबन्धक संजिव महतो सम्पर्कविहिन भएका कारण बचतकर्ताहरु अहिले दिनहु प्रहरीकहाँ धाइरहेका छन । संचालक समितिका अध्यक्ष तथा प्रबन्धकले बर्दियाको गुलरियामा सुविधा सम्पन्न कृष्णसार रिसोर्ट नामक होटल पनि चलाई रहेका छन ।

अन्य जिल्लामा पनि सो संस्थाको नाममा भवन तथा जग्गा रहेको बताइएको छ । लामो समयदेखि नमस्ते बचत तथा ऋण सहकारी संस्था लिमिटेडले गुलरियामा मुख्य कार्यालय स्थापना गरी काम गर्दै आइरहेको थियो । संचालकदेखि अन्य कर्मचारी सबै स्थानीय स्तरका छन ।

बर्दियाको गुलरियामा मुख्य कार्यालय तथा बारबर्दियाको जयनगरमा शाखा कार्यालय राखेको सो सहकारीले करोडौं रुपैयाँ हिनामिना गरेको आरोप लागेको छ । बचतकर्ताहरुले प्रहरीलाई उजुरी गरेपछि संचालक तथा प्रबन्धकको खोजीमा प्रहरी लागेको बर्दियाका प्रहरी नायव उपरीक्षक हिक्मतबहादुर बोहराले बताए ।


4.88k
Shares
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा