१८ मंसिर २०७९, आईतवार
स्थलगत रिपाेर्ट

कोइराला निवासको विशेष कोठामा शेखरसँग हाम्रो भलाकुसारी

प्रकाशित मिति :  २२ कार्तिक २०७९, मंगलवार १२:२८


२२ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय सुरक्षा परिचालन समन्वय उपसमितिका दुई सदस्य पूर्वएआईजी सुबोधकुमार अधिकारी र कांग्रेस नेता एवं वरिष्ठ पत्रकार इन्द्रबहादुर रिजालसहित हामी पाँच जना प्रदेश नम्बर १ का केही जिल्लाको भ्रमण गर्न कात्तिक १९ गते शनिबार काठमाडौंबाट प्रस्थान गर्ने तयारीमा थियौं । पुल्चोक कार्यलयमा त्यसको तयारी हुँदै गर्दा विराटनगरबाट हरि फुँयालको फोन आयो । मैले विराटनगर नै आउन लागेको र उतै भेट हुने भन्दै त्यहाँको वस्तुस्थितिका बारेमा सोधे ।

उनले चुनावका विषयमा चर्चा गरे, कुरा हुँदै जाँदा डा.शेखर कोइरालाका विषयमा कुरा भए । उनले भने, “डा. कोइरालाले जितुन भन्ने चाहना धेरै हो । म त त्यस क्षेत्रको मतदाता हैन तर, उनलाई हराउन कांग्रेसका केन्द्रीय नेताहरु नै लागेका छन् । कोइराला जितेर माथि गएमा भोली सभापतिसँग टक्कर पर्ने भन्दै कांग्रेसको संस्थापन समुह उनलाई हराउने अभियानमा लागेका छन् । तपाईहरुले यो कुरा कोइरालालाई भन्नु होला ।” फुँयाल क्षेत्र न. ४ का मतदाता रहेछन् । उनी माओवादी निकट वरिष्ठ कानून व्यवसायी पनि हुन् ।

सुरक्षा अनुगमनसँग सम्बन्धित प्रदेश १ को हाम्रो चुनावी अभियानलाई यो एउटा मसाल भयो । हामी दिउँसो २ बजे ललितपुरबाट नर्भिक अस्पताल हुँदै वीपी राजमार्गलाई लक्ष्य बनाउँदै अगाडि बढ्यौ । नेपालथोक पुगेर चिया खाने सहमति भयो पाँचै जनाको । गाडीबाट ओर्लिएर नजिकैको पसलमा गयौँ । त्यहाँ सुरुमै राजनीतिक कुरा सुरु भए । पसल साहुँजी सिन्धुली दुम्जाका रमेश कोइराला रहेछन् । तर, उनी कडा एमाले परेछन् । परिवारका सबै सदस्य कांग्रेस भएपनि आफु सुरुदेखि नै एमालेमा लागेको र हाल डीसीएमको जिम्मेवारीमा रहेको बताए ।

उनले सिन्धुलीको राजनीतिक कहानी सुनाउँदै गए । गठबन्धनले दुवै क्षेत्रमा जित्ने सम्भावना छ तर, उनीहरुबीच अन्तर्घातको ठूलो सम्भावना रहेकाले एमालेलाई सजिलो भएको छ । गठबन्धन दलका कार्यकर्ता धेरैले स्वतन्त्रलाई मत हाले भने एमालेका उम्मेदवारले सहजै जीत निकाल्ने तर्क उनको थियो । फेरी फर्कदा चिया खाने र उताका राजनीतिक गतिविधि सुनाउने आश्वासन उनलाई दिँदै हामी अगाडी बढ्यौ । भिमान पुग्दा साँझको साढे सात हुन लागेको थियो । कुन बाटो जाने भन्नेमा हामी अलमलियौँ । केही छिनको घोत्लाइपछि गाईघाट गएर बास बस्ने निधो भयो ।

राती साढे ९ बजेको लक्ष्यसहित हामी अगाडी बढ्यौँ । कटारीमा सामान्य खानपानपछि १० बजेको आसपास हामी गाईघाट पुग्यौँ । बाटौमै सशस्त्रको एक टोली हामीलाई लिन बसेको रहेछ । सिधैं त्यही टोलीको पछि लागेर हामी सशस्त्रको कार्यलयमा पुग्यौँ । अघिल्लो दिन मधेशप्रदेशको सुरक्षा समितिको बैठक रहेछ । बैठक सकेर फर्किएका सबैलाई त्यहाँ भेट्यौँ । बंशीधर दाहाल एआईजी, एसपी सिडिओ लगायत केही व्यापारीसँग पनि हाम्रो भेट भयो । केहीबेर खानपान र राजनीतिक विषयमा कुराकानी भए ।

भोलिपल्ट बिहान उदयपुर क्षेत्र न. २ का उम्मेदवार कांग्रेस नेता एवं परराष्ट्रमन्त्री डा. नारायण खड्कादेखि मधेश प्रदेश र प्रदेश १ का सबै क्षेत्रका विषयमा छलफल भयो । यो छलफलपछि हामीले बाहिर सोचेको भन्दा भित्र राजनीतिक आवरण फरक रहेको पायौँ । यिनै अनेक परिदृष्यले हामीलाई डा. नारायण खड्कासँँग भेट्नै पर्ने परिस्थिति बन्यो । खानपान सकेर नजिकैको पूर्वमन्त्री हरिबहादुर बस्नेतको ओल्डदरवारमा हाम्रो सुत्ने व्यवस्था गरिएको रहेछ । आइतबार बिहान निर्वाचन सम्बन्धी कार्यक्रम लिएर मुख्य निर्वाचन अधिकृत आए । उनी विराटनगरका जिल्ला न्यायाधीश रहेछन् ।

केहीबेरको छलफलपछि हल्का नास्ता लिएर हाम्रो टोली अगाडी बढ्यो । गाईघाट बजारको मुख्यचोकमा हामी रोकियौँ । डा. खडका चुनावी अभियानका क्रममा जलजले पुगेका रहेछन् । उनका केही कार्यकर्ताहरुले हामीलाई जलजले पुर्याएर उनीसँग भेट गराए । खडकाको अनुहार मलिन थियो, चमक थिएन, निरास जस्तै थियो । उनलाई सुरक्षा मुल्याकंनमा आएको जानकारी गरायौँ । उनले छोटो प्रतिक्रिया दिए । तपाईहरु आएपछि मलाई केही सहज भयो । परिस्थितिलाई बुझेर काम गर्नू भनेर उनी मतदातातिर लागे । हामीले पनि बिदा माग्यौं र विराटनगर तिर लाग्यौं ।

बिहान साढे ११ बजे हामी इटहरी नजिकै पकलीमा पुग्यौं । त्यहाँ केही समय रोकिनुपर्ने आवस्था आयो । सुनसरी क्षोत्र न. ३ र ४ का विषयमा हामीले रिपोर्ट लिनु थियो । त्यहाँ एकजना सिनियर पत्रकार मित्रले हामीलाई वस्तुस्थितिबारे जानकारी गराए । साथै सुरक्षा निकाय समक्ष पनि गयौँ । त्यहाँबाट पुरै पूर्वाञ्चलको समिक्षा पायौं । यहाँ पनि विपक्षी उम्मेदवारलाई कसरी पराजित गर्नेभन्दा पनि आफ्नैलाई कसरी मनाउने भन्ने चिन्ता उम्मेदवारहरूमा रहेछ । अर्को सुनसरीको नेतृत्व कसले गर्ने भन्ने विजयकुमार गच्छदार र ज्ञानेन्द्रबहादुर कार्कीबीचमा पनि टक्कर ।

हाम्रो टोलीको मुख्य निशाना भने विराटनगर नै थियो । इटहरीबाट हामी दिउँसो १ बजेतिर कोइराला निवास विराटनगर पुग्यौं । हामी पुग्नुभन्दा ५ मिनेट अगाडि नेपाली कांग्रेसका वरिष्ठ नेता एवं मोरङ ६ का गठबन्धनका उम्मेदवार डा। शेखर कोइराला निस्किएका रहेछन् । कोइराला बुढीगंगाका अध्यक्ष जीत नारायण थापाको घरमा भएको सूचना पाएपछि हामी उतै लाग्यौं । भित्र बैठक चलिरहेको रहेछ । निर्वाचनको विषयमा । बाहिर केही कार्यकर्ताहरु बसेका थिए । उनीहरुसँग हामीले परिचय गर्यो । कुरा हुँदै जाँदा वडा न। ४ र ५ को विषयमा कुरा भए । यो क्षेत्रमा सडकको विषयलाई लिएर मतदाताहरु कोइरालाप्रति नेगेटिभ रहेछन् ।

म पनि पाँचको मतदाता हुँ भनेपछि कुरा निस्कियो । मैले ४ र ५ नम्बर वडालाई कसरी मिलाउने भन्ने प्रश्न राखे । पल्लिो समय केही सुल्टदै गएको त्यहाँ भएका मध्ये धेरैले बताए । भित्र बैठक सकियो र डा। शेखर बाहिर आए । हामीले आत्मियता आदानप्रदान गर्यौँ । यँही केहीबेर कुरा गर्ने हामीले प्रस्ताव गर्दा कोइरालाले मानेनन् । व्यस्तताका बीच उनले कोइराला निवासको चिया नखाइ कहाँ जाने भन्दै घरमै गएर कुराकानी गरौँ भनेपछि बुढीगंगाका अध्यक्षको गाडी लिएर हामी कोइराला निवास पुग्यौँ । उनका सहयोगी दिनेश थपलियाले बाहिर बार्दलीमा कुराकानीको व्यवस्था मिलाएका थिए । तर, डा। कोइराला बाहिर बस्न मानेनन् । उनले भने,‘ आज म तपाइहरुसँग गिरिजाबाबुको बैठक कोठामा बसेर कुरा गर्छु भन्दै भित्र बोलाए ।

कोइरालाले हामीलाई गिरिजाबाबुको बैठक कोठामा बोलाउँदा त्यहाँ रहेका धेरैले अचम्म पनि माने । हमेसी कसैलाई पनि त्यो कोठामा जान अनुमति रहेनछ । हामी भित्र छिर्यौ । नजिकै गिरिजाबाबु बस्ने कुर्ची रहेछ । त्यो भन्दा अलग कुर्चीमा कोइराला बसे । हामी नजिकैको सोफामा बस्यौँ । कुराकानीको सुरुवात इन्द्र दाईबाट भयो । हामीले बाहिर सुनेका सबै कुरा उनलाई सुनायौँ । उनले पनि आफुले चारैतिरबाट जानकारी लिइरहेको बताए । उनलाई भेटनु अगाडि हामीले कोइरालाका बारेमा केही अटो चालकहरुसँग पनि बुझेका थियौँ ।

धेरै जसो अटो चालकहरुले वास्तविकता बताए । कोइरालालाई पार्टीबाटै समस्या छ । हामी यो पटक उनलाई नै जिताउने पक्षमा छौं । अरु धेरै आए तर, केही गरेनन् । अब कोइराला नै विराटनगरका सान हुन् । उनले जितेर गएमा भोलि केन्द्रमा पनि पहुँच पुग्ने र विराटनगरबासीका लागि पनि राम्रो हुने उनीहरुको भनाई थियो । यो विषय पनि हामीले कोइरालासँग राख्यौँ । उनले मौन समर्थन जनाउँदै भने, सबैले घरघरमा बोलाउँछन् । पुग्ने अवस्था छैन, नजाँदा रिसाउँछन् ।

कुराकानी चल्दै जाँदा बरगाछी पश्चिमका वडाहरुको कुराकानी भयो । बरगाछीबाट पश्चिम केसलिया हुँदै सुनसरी निकाल्ने हुलाकी राजमार्गको अवस्था धेरै अगाडीदेखि नाजुक छ । यसै विषयलाई लिएर वडा न. ४ र ५ का स्थानीयले नेता प्रवेशमा रोकसमेत लगाएका थिए । अहिले त्यो व्यानर हटाइएको छ । उनले भने,‘ यो हुलाकी राजमार्ग हो । यो महानगरले पनि बनाउन सक्दैन् । प्रदेशलाई पनि अधिकार छैन् । केन्द्रले बनाउनुपर्छ । तर, म केन्द्रमा छैन, लालबाबुजीले केही गर्नु भएन, अहिले मलाई समस्या परेको छ ।

आफु निर्वाचत भएर गएमात्रै यो सडकलाई पुर्णता दिनसक्ने उनले बताए । त्यो वातावरण तपाइहरुले मिलाउनुपर्यो भन्दै कोइरालाले अहिले तत्काल नै जामुनागाछी क्षेत्रका जनताको लागि केही गर्नसक्ने अवस्था नै नभएको उनको भनाइ थियो । आफ्ना निर्वाचन क्षेत्रका अरु धेरै ठाउँमा पनि एमाले नेतृत्वको सरकारले केही नगरेको, नदिएको उनको गुनासो थियो। हामीसँगै काठमाडौंबाट रघूबीर कामत भाई पनि गएका थिए । उनी १२ न। वडाका मतदाता हुन । उनीसँग जातियताका धेरै मत छन् । उनको क्षेत्रमा सकुम्बासी समस्या पनि रहेछ । कोइरालाले त्यो समस्या समाधान गर्न सकिने बताए ।

उनीमाथि हुने अन्तर्घात र बरगाछी पश्चिम क्षेत्रमै हामी बढी केन्द्रीत भयौं । म स्थानीय मतदातासमेत भएकाले उनलाई उक्त क्षेत्रमा लिएर जानेदेखि वातावरण मिलाउने आश्वासन दिए । उनी केही आश्वस्थ पनि भए । नेता कोइरालालाई अर्को कार्यक्रममा जान हतार थियो । हामीले  करिब घण्टा कुराकानी गर्यौं । उनले निस्कदै भने, उहाँहरु दुईजनाको फोन नम्बर नोट गर्नु ,सहयोगी दिनेशलाई यो निर्देशन थियो । उनी निस्किएपछि हामी पनि बरगाछीतिर लाग्यौं ।

विराटनगर– ६ वटा निर्वाचन क्षेत्र भएको मोरङमा धेरैको चासोचाहिं क्षेत्र नम्बर ६ मा रहने गर्छ । कांग्रेस संस्थापनइतर पक्षको नेतृत्व गर्दै आएका शेखर कोइराला २०७४ को निर्वाचनमा त्यहींबाट पराजित भएका थिए । यसपटक पनि उनी नै उम्मेदवार बनेर गएका छन् । कांग्रेस केन्द्रीय सदस्य डिला संग्रौलाले पनि सोही क्षेत्रबाट उम्मेदवार बन्ने चाहना राखेकी थिइन् । नेपाल महिला संघकी पूर्वकेन्द्रीय अध्यक्ष समेत रहेकी संग्रौला दुईपटक समानुपातिकतर्फ निर्वाचित भइसकेकी छन् । पार्टीमा उनी सभापति शेरबहादुर देउवाको निकट मानिन्छिन् । तर, त्यहाँ उनको खासै उपस्थिति नरहेको स्थानीय कार्यकर्ताहरुले बताए ।

एमालेका लालबाबु पण्डितले यसअघि कोइरालालाई ६७५ मतान्तरले पराजित गरेका थिए । यो मतका विषयमा पनि उनीसँग कुरा भए । कहाँ गल्ती भएको थियो भनेर मैले सबै कुरा उनलाई सुनाउँदा उनले यसलाई स्वीकारे । बाम गठबन्धनका साझा उम्मेदवार पण्डितले ३३ हजार ९४१ मत पाउँदा कोइरालाले ३३ हजार २६६ मत मात्रै पाएका थिए । सो निर्वाचन क्षेत्र अन्तर्गतका प्रदेशसभाका दुवै क्षेत्रमा भने कांग्रेसकै उम्मेदवार निर्वाचित भएका थिए । त्यसबेला कोइरालामाथि पार्टी पंक्तिबाट अन्तर्घातसमेत भएको थियो ।

मोरङ– ६ अन्तर्गत बुढीगंगा गाउँपालिकाका सबै वडा पर्छन्। त्यस्तै, विराटनगर महानगरपालिकाका वडाहरु ४, ५, ६, ७, ९, ११, १२ तथा सुन्दरहरैंचा नगरपालिकाका वडाहरु २, ३, ४, ५, ६ र ७ पर्छन् । वैशाख ३० मा सम्पन्न स्थानीय तहको निर्वाचनमा मोरङ ६ अन्तर्गत पर्ने विभिन्न पालिकाका २० वटा वडामध्ये कांग्रेसले १२ वटाको अध्यक्षमा जीत निकालेको छ । त्यस्तै, एमालेले ५, माओवादी केन्द्रले १, जसपाले १ र स्वतन्त्र १ वडाको अध्यक्ष जितेका छन् । २० वटै वडाका वडाध्यक्षका उम्मेदवारहरुले पाएको एकीकृत मतमा कांग्रेस अगाडि छ । उसले २८ हजार ४२८ मत पाएको देखिन्छ ।

त्यस्तै, एमालेले २५ हजार २३६, माओवादी केन्द्रले ५ हजार ३५६, जसपाले ३ हजार ९३९, राप्रपाले ३ हजार ६८९, एकीकृत समाजवादीले २ हजार ३६९ मत पाएका छन्। अन्य पार्टी तथा स्वतन्त्र उम्मेदवारको एकीकृत मत ५ हजार ७४१ छ ।


2.24k
Shares
नेपालबहस डटकमका कार्यकारी सम्पादक केदार भट्टराई दुई दशकदेखि नेपाली पत्रकारितामा क्रियाशील छन् । भूगोल साप्ताहिकबाट पत्रकारिता शुरु गरेका पत्रकार भट्टराईले साप्ताहिक बिमर्श, देशान्तर, रेडियो नेपालवाणी नेटवर्कमा काम गरिसकेका छन् । भट्टराईले आर्थिक, राजनीतिक, भ्रष्ट्राचार एवं विकृति र विसंगतिका बिरुद्ध तीखो कलम चलाउँदै आएका छन् ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा