१८ मंसिर २०७९, आईतवार

पाँच वर्षमा सदनमा के भयो, सांसद्हरुले के गरे ?

प्रकाशित मिति :  २८ कार्तिक २०७९, सोमबार १०:५१


♦ अनुसा थापा / भक्तपुर

२०७४ सालमा जनताले आफ्नो अमूल्य मत दिएर पाँच वर्षका लागि सांसद् चुनेर पठाए । कानून बनाउनका निम्ति सांसद् बनाए, सदनमा पठाए । तर, पाँच वर्षे कार्यकालमा कुनैपनि सांसद् राम्रोसँग सदनमा उपस्थित भएनन् । सदन आउने र हाजिर गरेर दौडिहाल्ने सांसद्हरुको देखिए । कतिपय त हाजिर नै गर्न सदनमा नजाने । हाजिर गरेपछि भत्ता आउने भएकाले पनि छिनका लागि सदनमा पुग्ने पनि थिए ।

तर, तल-बभत्ता र सरकारी भत्ताचाँहि निरन्तर लिइरहे । रातो पार्सपोर्ट बोकेर विदेश डुलिरहने । सदनमा नगएपनि बैंक खातामा तलबभत्ता आइरहन्छ । सरकारी सेवासुविधा पनि पाइहालेका थिए । पाँच वर्षको कार्यकालमा जति कानून बन्नुपर्ने थियो, त्यति बन्न सकेन् । विद्येयक पारित गर्ने बेला सांसद्को संख्या नपुग्ने अनि कहाँबाट कानून बन्छ ? देशका शीर्ष भनिएका नेता शेरबहादुर देउवा, केपी शर्मा ओली, पुष्पकमल दाहाललगायतले पनि पाँच वर्षको अवधिमा धेरै सांसद् आएनन् ।

सदन हो कि दोहोरी घर बुझ्नै गाह्रो पर्थ्याे । जहिले झगडा गर्ने, कुटाकुट गर्ने, कुर्सी फुटाउने, हात टोक्नेलगायतका क्रम चलिरह्यो । पाँच वर्षमा सांसद्मा रमिताभन्दा अरु केही देख्न पाइएन् । नेकपा एमालेले नौ महिना सांसद् अवरुद्ध गर्यो । त्यतिबेला सभामुखलाई कुट्न भनेर एउटामाथि अर्को गर्दै रोष्टमसम्म पुग्ने काम भयो । कतिपय सांसद् आफ्नो क्षेत्रमा विकास भएन् भनेर पनि रोए । ओली सरकारले जुम्लामा बजेट दिएनन् भनेर नेकपा माओवादी केन्द्रका सांसद् गजेन्द्र महत धुरुधुरु रोएका थिए । नेपाली कांग्रेसका गगन थापा र एमालेका महेश बस्नेतको सदैव जुहारी चलिरह्यो । सँधै गुण्डागर्दी देखाउनका तम्सिन्थे यी नेता । तँभन्दा म के कम ? भन्दै भनाभन चलिरहन्थ्यो । यिनीहरुले कहिल्यै जनताको आवाज उठाएनन् । व्यथैमा पाँच वर्षको कार्यकाल खेर फाले ।

जनताले मत दिएर सदनसम्म आएका कति सांसद्ले त बोल्नै जानेनन् । चुनाव जितेर आए तर कहिले जनताको कुरा उठाउन सकेनन् । माइक दियो कि थुरुरु भइहाल्थे । अरुले बोलेको सुनेर कुर्सी थामेर बसिरहन्थे । काभ्रेको सांसद् नविना लामा बोल्न नजान्दा हाँसोको पात्रो बनिन् । उनी एकदमै ट्रोल पनि भएकी थिइन् । यता, ओलीले कुर्सीमा बसेर तीन घण्टा भाषण सुनाए । रोष्ट्रममा कुर्सी राखेर तीन घण्टा बसेर अर्कामाथि आरोप लगाउने काम गरिरहे । सदन कुसी राखेर बोल्ने ठाँउ होइन् । उभिएर बोल्नुपर्छ । तर, आफ्नो स्वास्थ्यमा खराबी छ भन्दै उनले बसेर बोले । यस्ता रोगी व्यक्तिलाई जनताले अब मत दिनुहुँदैन् । उनको स्वास्थ्यले उभिन त दिँदैन् भने देशविकास गर्न सक्लान् ? विद्येयकका बारेमा छलफल गर्ने अनि पारित गर्ने बेलामा कुलेलम ठोक्ने ।

विद्येयक पारित गर्न ७१ जना सांसद् चाहिन्छ । तर, ७० जना मात्र भएकाले धेरै वटा विद्येयक पारित हुन सकेन् । एक जनाका कारणले संसद् नै अवरोध गर्नुपर्ने अवस्था बन्थ्यो । नेपाल मजदुर किसान पार्टीबाट निर्वाचित प्रेम सुवाल विद्येयक पारित गर्ने बेलामा टोकिहाल्थे । उनले जहिले पनि अन्तिममा आएर सांसद्को संख्या गर्न सभामुखलाई आग्ह गर्थे । सँधै एक जना सांसद्को अभाव हुन्थ्यो, विद्येयक त्यतिकै रोकिन्थ्यो । यसो गर्दागर्दै पाँच वर्ष फजुलमा गयो । कुनै पनि सांसद्ले हामीले जनताले तिरेको करबाट तलब-भत्ता खाएका छौं, सेवासुविधा लिएका छौं । देश र जनताका लागि हामीले काम गर्नुपर्छ भनेर सोचेनन् । अधिकाश विद्येयक अड्किए, सोचेअनुरुप पाँच वर्षमा धेरै काम हुन सकेन् । प्रत्यक्ष चुनाव जितेर आएका सांसद्हरुले आफ्नो क्षेत्रको जनताको आवाज उठाएनन् ।

जति दिन सदन चल्यो, त्यति दिन उनीहरु सदनमा हुनुपर्थ्याे । तर, त्यो हुन सकेन्, कुनै पनि सांसद् सदनमा खटिएनन् । पार्टीले मनोनित गरेका सांसद्हरुले त जागिर खाएका हुन् । उनीहरुलाई जनताले चुनेका होइनन्, जनताका मनमा परेका व्यक्तित्वहरु पनि होइनन् । पार्टीको अध्यक्षको गुलामी गरेर आएकालाई के जनताको माया लाग्थ्यो ? यिनीहरु कमाउन आएका हुन् । जनताबाट चुनिएर गएकाले त केही गरेनन् भने मनोनितबाट के अपेक्षा राख्ने ? ताली पिट्न बसेकाहरुलाई जनताले के चिन्थे । प्रत्यक्ष चुनाव जितेर आएकालाई त जनताले चिन्न छाडिसके भने पार्टीले दयामाया लागेर मनोनित बनाइदिएकालाई जनताले गन्दा पनि गन्दैनन् । तलबभत्ता खाने, सरकारी सेवासुविधा लिने अनि देशविदेश घुम्ने । पार्टीका झोलेहरुले योबाहेक अरु के नै गर्न सक्छन् ?

सहकारीको साधारणसभामा जाने, एनजिओको कार्यक्रममा प्रमुख अतिथि बन्ने, अनि ठेक्कापट्टा मिलाउने आफ्नो पोल्टो भर्ने । पार्टीमा पहुँच भयो र पार्टीको नेतालाई खुशी बनाउन सकियो भने छिनमै मनोनित सांसद् बन्न पाँइदो रहेछ भन्ने त स्पष्ट भइसकेको छ । अघिल्लो दिनसम्म राष्ट्रिय प्रजातन्त्र पार्टीको झोला बोकेर हिँडेकी कोमल वली भोलिपल्ट एमालेको मनोनित सांसद् बनिन् । पार्टीका अध्यक्षले आफ्नो खल्तीबाट निकालेर थपक्क कुरा दिइहाले, त्योभन्दा अरु के चाहियो ? जनताले चिन्न पनि नपर्ने, पार्टीको लागि योगदान पनि दिनु नपर्ने । अहिले अध्यक्ष ओलीले उनलाई दाङ ३ बाट चुनाव लड्नका लागि टिकट दिएका छन् । महिनौं दिन चलेको सदनमा गगन थापाको एकदिन मात्र उपस्थिति हुन्थ्यो । सभामुखसँग बोल्नका लागि समय माग्ने, ठूल्ठूला कुरा गर्ने अनि दौडिहाल्ने ।

कानून बनाउन छलफलमा भाग नलिने अनि पारित गर्ने बेलामा पनि बैठकमा सहभागी नहुने । कता जानुपर्ने हो, त्यतातिर लागिहाल्ने । सदनमा बस्ने भनेको बोल्न नसक्ने, ठेकेदारहरुसँग लापलुप पारेर खान नसक्ने, व्यापारीहरु नचिन्ने र कार्यक्रममा नबोलाउने, सोझासिधा सांसद् हुन् । मिडियामा अन्तरवार्ता दिन जाऊँ भने बोल्ने आँट छैन् । फेरि मिडियाले पनि अहिले जे बिक्छ त्यही बिकाउने हो । महेश बस्नेत, गगन थापालगायतका नेताका मिडियामै तथानाम गाली गर्न सक्छन् । अपत्यारिलो कुरा गर्न सक्ने क्षमता उनीहरुसगं छ । अनि मिडियाले पनि त्यस्तैलाई खोज्छ । ७० करोड भ्रष्ट्राचारको आरोप लागेका एमालेका नेता गोकुल बाँस्कोटाले झण्डै एक जना कांग्रेसका सांसद्लाई कुटेका थिए । कांग्रेसका सांसद्ले ‘तपाईले ७० करोड कसरी पचाउनुभयो ?’ भनेर व्यङ्ग्य हानेपछि बाँस्कोटाले शौचालयमा कुरेरै उनलाई कुट्न खोजेका थिए ।

यस्ता त सांसद् छन् । यिनीहरु कस्ता कानून बनाउलान् ? ओली, बस्नेत, बाँस्कोटा, थापालगायत अन्य केही नेताको भाषण सुन्दा ठ्याक्कै गुण्डा बोलेकोजस्तो लाग्छ । केही दिन अघि नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले ‘हामीले पार्टी छोडेपछि ओली बौलाए’ भन्दै कटाक्ष गरेका थिए । सर्पको खुट्टा सर्पले नै देख्छ भनेजस्तै तत्कालीन एमाले सांसद् गंगा चौधरीले पनि रामकुमारी झाँक्रीलाई पुग्नेगरी सुनाएकी थिइन् ।

उनले झाँक्रीलाई व्यङ्ग्य हान्दै भनेकी थिइन्,‘मुखभरि लाली घसेर आउनेले के विकास गर्लान् ?’ हिरोइनले भन्दा बढी अनुहारमा लालीपाउडर धसेर आउने झाँक्रीलाई चौधरीले भित्ता पुग्ने गरी सुनाइन् । दिनभर टिकटक बनाएर बस्ने सांसद् भइन्, शहरी विकास मन्त्री बनिन्, अन्ततः पद छोड्ने बेला रोइकराई गर्न पनि भ्याइन् । पाँच वर्षको कार्यकालमा राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेन २० चोटि पनि सदनमा उपस्थित भएनन् ।

सरकारले सदनको म्याद थप्ने भनेपछि राजनीमा घोषणा गर्दै उनले ठूल्ठूला भाषण सुनाए । जो आजसम्म पूरा समय सदनमा बसेका छैनन्, उनलाई ठूल्ठूला कुरा गर्न सुहाउँछ ? निक्लिने बेलामा उनले भने,‘म अबदेखि सदनमा आउँदिन, सेवासुविधा र तलबभत्ता पनि लिँदिन ।’ पाँच वर्षको कार्यकालमा एक महिना जति पनि सदन नगएका उनले त पहिलेदेखि नै तलब भत्ता नलिने घोषणा गर्नुपर्ने हो । सांसद्हरु जनता र राष्ट्रका लागि होइन्, आफ्नो र पार्टीका लागि सदनमा आएका थिए ।

जनताहरुले अमेरिकी परियोजना एमसीसी पास गर्नुहुँदैन् भनेर चर्को आन्दोलन गरे । पार्टीले एमसीसी पास गर्ने भनेर ह्वीप जारी गर्यो तर कोही पनि त्यसको विरोधमा बोल्न सकेनन् । पार्टीले जे निर्णय गर्यो त्यही मान्ने औलाछापहरुबाट जनताले के अपेक्षा राख्ने ? नेपालका सांसद् एउटा भेडा भीरबाट हामहाल्यो भने अरु पनि हामफाल्छन् भनेझैं भएका छन् ।

पार्टीको अगाडि यिनीहरु निरीह बनिहाल्छन् । जनताबाट चुनेर आएपनि काम गर्ने पार्टीकै लागि हो ? सही गलत त छुट्याउन नसक्ने के कानून बनाउँछन् ? जनताबाट चुनिएर आएको सांसद् हुँदाहुँदै ओलीले सांसद् नै नरहेका युवराज खतिवडालाई अर्थमन्त्री बनाए । कांग्रेसले गोविन्द शर्मा काेइरालालाई कानूनमन्त्री बनायो । अनि किन मत दिनुपर्यो ? निर्वाचन किन गरिराख्नुपर्यो ? जसले गुलामी गर्न सक्यो सांसद् नभएपनि उनीहरुले मन्त्री पद पाइहाल्छन् । अरु हेरेको हेर्यै । अनि जनताले किन भोट हाल्ने ? घामपानी नभनिकन भोट दिनु बेकार छ ।


156
Shares
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा