१८ मंसिर २०७९, आईतवार
गण्डकी प्रदेश

बागलुङ, चितवन क्षेत्र नं ३ र पर्वतमा थालियो मतगणना

प्रकाशित मिति :  ५ मंसिर २०७९, सोमबार १७:१०


५ मंसिर, बलेवा । बागलुङ निर्वाचन क्षेत्र नं १ र क्षेत्र नं २ को मतगणना सुरु भएको छ । आज दिउँसो साढे ४ बजेदेखि मत गन्न सुरु भएको हो ।

मुख्य निर्वाचन अधिकृतको कार्यालय, जिल्ला समन्वय समितिको भवन बागलुङमा क्षेत्र नं १ र निर्वाचन अधिकृतको कार्यालय ढोरपाटन नगरपालिका–१ बुर्तिबाङमा क्षेत्र नं २ को मतगणना भइरहेको छ ।

आइतबारको निर्वाचनमा बागलुङमा ५५ प्रतिशत मतदान भएको बताइएको छ । गत स्थानीय निर्वाचनमा ६९ प्रतिशत मतदान भएको थियो । जिल्लामा प्रतिनिधिसभा र दुईवटा प्रदेशसभा क्षेत्र रहेको छ ।

प्रतिनिधिसभाको क्षेत्र नं १ मा राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी र नेकपा एमालेका केन्द्रीय सदस्य डा सूर्य पाठकलगायत चुनावी मैदानमा छन, भने क्षेत्र नं २ मा शिक्षामन्त्री तथा नेकपा माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेललगायत चुनावी मैदानमा छन ।

यस्तै, पर्वत जिल्लामा प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनको मतगणना अपराह्न ४ः३० बजेदेखि सुरु भएको छ ।प्रतिनिधिसभाका एक प्रदेशसभा दुई निर्वाचन क्षेत्र रहेको पर्वतमा ६६ हजार दुई सय ७३ मत खसेको छ ।

जिल्ला निर्वाचन कार्यालयका अनुसार यहाँ एक लाख २२ हजार छ सय ४९ जना मतदाता छन् । निर्वाचनमा ५४ प्रतिशत मात्रै मत खसेको कार्यालयले जनाएको छ । पर्वतमा सत्तारूढ गठबन्धन, नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा लगायतका दलका उम्मेदवार मैदानमा छन् ।

पर्वतमा प्रतिनिधिसभा सदस्यमा लोकतान्त्रिक–वाम गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार अर्जुन जोशी र नेकपा एमालेका उम्मेदवार पदम गिरीबीच प्रतिस्पर्धा हुने बताइएको छ ।

यता, चितवन क्षेत्र नं ३ को प्रतिनिधिसभाको मतगणना सुरु भएको छ । कृषि तथा वन विज्ञान विश्वविद्यालयमा गणना सुरु गरिएको हो । भरतपुर महानगरपालिका–६ को शहीद स्मृति मावि पारसनगर र दिवज्योति आधारभूत विद्यालय देवनगरको ९क० केन्द्रको मतगणना सुरु भएको हो ।

यस क्षेत्रमा ६५ दशमलव ४१ प्रतिशत मात्रै मत खसेको निर्वाचन अधिकृत हरिसिंह धामीले जानकारी दिए । यस क्षेत्रमा एक लाख ४४ हजार दुई सय ८३ मतदाता छन् । क्षेत्र नं १ र २ को मतगणना भइरहेको छ । जिल्लाभर चार लाख आठ हजार तीन सय ४२ मतदाता रहेका छन् । एक सय ६१ मतदानस्थलमा रहेका चार सय ६० मतदान केन्द्रबाट उनीहरूले मतदान गरेका हुन् ।


65
Shares
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा