११ मंसिर, काठमाडौं । नेपाल राष्ट्र बैंकले कर्जा र निक्षेप बीचको स्प्रेड दर अर्थात ब्याजदर अन्तर घटाएको छ ।
आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षा गर्दै राष्ट्र बैंकले स्प्रेड दरलाई ०.४ प्रतिशत विन्दुले घटाएको छ । यसअघि ४.४ प्रतिशत रहेको ब्याजदर अन्तर वाणिज्य बैंकहरुको ४.४ प्रतिशतबाट ४ प्रतिशत कायम गरेको राष्ट्र बैंकले जनाएको छ ।
यस्तै ५ प्रतिशत रहेको विकास बैंक र वित्त कम्पनीहरूको ब्याजदर अन्तर (स्प्रेड दर) अब ४.६ प्रतिशतमा झारिएको राष्ट्र बैंकको जनायो ।
यसबाट बैंक तथा वित्तीय संस्थाहरुले कर्जाको ब्याजदर तय गर्दा लिने प्रिमियम दर घट्न गई कर्जाको ब्याजदरमा समेत सन्तुलन आउने अपेक्षा गरिएको छ । प्रिमियमसम्बन्धी व्यवस्थाको नियमित अनुगमन समेत गरिने त्रैमासिक समीक्षामा जनाइएको छ ।