१३ माघ २०७९, शुक्रबार
आम निर्वाचन-२०७९
राजनीति

सत्ता चलाउने देउवा र ओलीको ‘कोर टीम’: थोरैले जिते, धेरैले हारे !

प्रकाशित मिति :  १६ मंसिर २०७९, शुक्रबार १४:२४


१६ मंसिर, काठमाडौं ।  मंसिर ४ मा सम्पन्न प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा यसपटक नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भन्दा प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई आफ्नो टीम जिताउन बढी सहज भएको छ । कोर टीमभित्र ओलीभन्दा देउवा निकै बलिया देखिएका छन् । २०७४ को आम निर्वाचनमा देउवा झण्डै शुन्य अवस्थामा पुगेका थिए भने ओलीका प्रायः सबैले चुनाव जितेका थिए ।

यतिबेला प्रदेश र प्रतिनिधिसभा निर्वाचन सकिएर देशभरका अधिकांश निर्वाचन क्षेत्रको मतगणना सकिएर परिणाम पनि आइसकेको छ । अब प्रतिनिधिसभाका तीन निर्वाचन क्षेत्रमा मात्र मतगणना भइरहेको छ । जसमा नेपाली कांग्रेसले दुई निर्वाचन क्षेत्रमा अग्रता लिएको छ भने नेकपा माओवादीले एक निर्वाचन क्षेत्रमा अग्रता लिएको छ । मंसिर ४ गतेको निर्वाचनमा उत्पन्न विवादका कारण मतगणना रोकिएका यी क्षेत्रमा अहिले मत गन्ने क्रम चलिरहेको हाे ।

पछिल्लो मत परिणामअनुसार कूल १६५ निर्वाचन क्षेत्रमध्ये १६२ क्षेत्रको अन्तिम मत परिणाम सार्वजनिक भइसकेको छ । जसअनुसार नेपाली कांग्रेसले प्रतिनिधिसभातर्फ हालसम्म ५५ सीटमा जित हासिल गरेको छ । हाल मतगणना चलिरहेको ३ वटा क्षेत्रमध्ये दुई क्षेत्रमा अग्रता लिइरहेको छ । त्यहाँ एमालेका उम्मेदवारहरु पछाडी परेका छन् ।

नेकपा एमालेले ४४ सीट जितेको छ । हाल जितेका सीटहरूमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मासहित उनका किचन क्याबिनेटका अधिकांश नेताहरू चुनावी मैदानमा थिए । देउवा र ओलीका भित्रियामध्येका कतिपय नेताहरूले यस निर्वाचनमा हार व्यहोरेका छन् भने कतिपय विजयी भएका छन् । देउवाको टीम बलियो रुपमा आएको छ भने ओलीको कोर टीमका १० जनाले चुनाव हारेका छन् ।

प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवाको किचेन क्याबिनेटमा उनी निकट थोरै मात्र कोर नेताहरुको पहुँच छ । सोमध्येका कतिपयले टिकट पाए पनि कतिले विविध कारणवश टिकट नै पाएनन् । टिकट पाउने देउवा निकट नेताहरुमध्ये, केहीले जित निकालेका छन् भने कतिपयले हार व्यहोरेका छन् ।

देउवाले निकै पत्याएर कांग्रेस उपसभापति पूर्णबहादुर खड्का सुर्खेत क्षेत्र नम्बर १ बाट विजयी भएका छन् । उनी त्यहाँबाट योसहित पाँचौँ पटक निर्वाचित भएका हुन् । उनले निकटतम प्रतिद्वन्द्वी एमालेका ध्रुवकुमार शाहलाई ११ हजार ६१९ मतान्तरले पराजित गर्दै खड्का विजय भएका हुन् । प्रतिनिधिसभा निर्वाचनमा खड्काले ४२ हजार ६०७ मत ल्याए भने एमालेका शाहीले ३० हजार ९८८ मत ल्याए ।

विद्यार्थी राजनीतिदेखि नै देउवा निकट रहँदै आएका कांग्रेस नेता एनपी साउदले पनि चुनाव जितेका छन् । नेता साउद युवा र शिक्षाको विषयमा देउवा समूहभित्र छलफल गरिने पात्रमा पर्छन् । उनी कञ्चनपुर २ बाट प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित भएका हुन् । साउदले २८ हजार १०० मत ल्याए । उनका प्रतिस्पर्धी नेकपा एमालेका नरबहादुर धामीले २१ हजार ६४५ मत प्राप्त गरेका छन् ।

यस्तै कांग्रेस नेता रमेश लेखक पनि देउवाका भित्रिया हुन् । देउवाका खास सहयोगीमध्येमा पर्ने लेखकले सुदूरपश्चिम र राष्ट्रिय राजनीतिमा देउवालाई सहयोग गरिरहेका हुन्छन् । नेता लेखक यसपटक कञ्चनपुर ३ बाट निर्वाचित भएका छन् । उनले ३० हजार ५२३ मत प्राप्त गरेका छन् । भने, उनकी निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेकी निरुदेवी पालले १८ हजार ४३८ मत ल्याएकी छन् ।

१४ औँ महाधिवेशनमा देउवालाई छाडेपनि विश्वप्रकाश शर्मा देउवाका भित्रिया खेलाडीकै रुपमा मानिन्छन् । गगन थापा, प्रदीप पौडेलजस्ता युवामाझ प्रभावशाली नेताहरूलाई काउन्टर दिनका लागि शर्मालाई देउवाले आफ्नो उपयोगी पात्रका रूपमा उभ्याएका थिए भने अहिले पनि साथ लिने कोसिस गरिरहेका छन् । देउवाले शर्मालाई यसअघि प्रवक्ताको जिम्मेवारीसमेत दिएका थिए ।

पछिल्लो समय कांग्रेस महामन्त्री समेत रहेका नेता शर्मा झापा १ बाट विजयी भएका हुन् । शर्माले ३९ हजार ६ सय २४ मत ल्याएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका अग्नि खरेलले २५ हजार ४ सय ४९ मत ल्याएका छन् । कांग्रेसबाट धरै मतान्तरमा जित्ने नेतामध्ये शर्मा पनि एक हुन् ।

गृहमन्त्रीसमेत रहेका देउवाका भित्रिया बालकृष्ण खाँण भने पराजित भएका छन् । गृहमन्त्री खाँण रुपन्देही ३ बाट पराजित भएका हुन् । सभापति देउवाका खास पात्र मानिने मीन विश्वकर्मा र प्रकाशशरण महतले चुनाव लडेनन् । उनीहरु समानुपातिकमा बसेका थिए । तर, उनीहरुले प्रत्यक्षमा महिला कम भएका कारण सीट नपाउने अवस्था बनेको छ ।

यता नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीका अधिकांश भित्रियाको बिचल्ली भएको छ । ओली किचन क्याबिनेटका अधिकांश नेताहरुले हार व्यहोरेका छन् । ओलीको चार प्रमुख पात्रले मात्र चुनाव जितेका छन् । गोकुल बाँस्कोटा अध्यक्ष ओलीका खास पात्र हुन् । उनले यसअघि सञ्चारमन्त्री हुँदा ७० करोड घुस बार्गेनिङ गरेको अडियो सार्वजनिक भए पनि ओलीले उनको पटकपटक बचाउ गर्दै आएका छन् । ओलीको किचन क्याबिनेटमा पहुँच राख्ने बाँस्कोटाले काभ्रे क्षेत्र २ बाट निर्वाचित भएका हुन् ।

उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार शिवप्रसाद हुमागाईंलाई पराजित गर्दै बाँस्कोटा विजयी भएका हुन् । बाँस्कोटाले ४५ हजार ३४५ मत पाएका थिए । हुमागाईले ३९ हजार ४२८ मत पाएका थिए । अध्यक्ष ओली निकट एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ इलाम २ बाट निर्वाचित भएका छन् । उनले कांग्रेसका डम्बरबहादुर खड्कालाई एक सय १४ मतले पराजित गरेका हुन् । नेम्वाङले ३० हजार २० मत पाउँदा खड्काले २९ हजार नौ सय ६ मत पाएका छन् ।

उनी ०७४ मा पनि यसै क्षेत्रबाट निर्वाचित भएका थिए । तत्कालीन संविधानसभाको सभामुख भइसकेका नेता नेम्वाङ लामो समयदेखि ओलीको कित्तामा रहेर राजनीति गरिरहेका छन् । अध्यक्ष ओलीको किचन क्याबिनेटका नेता एवं विश्वास पात्र विष्णु पौडेलले पनि चुनाव जितेका छन् । रुपन्देही क्षेत्र नम्बर २ मा पौडेल विजयी भएका हुन् । पौडेलले २७ हजार १४८ मत प्राप्त गरेका थिए । पौडेल ओलीको प्रधानमन्त्री कालमा उपप्रधान तथा अर्थमन्त्री समेत भइसकेका पात्र हुन् ।

ओलीको खासपात्र एमाले नेता सूर्य थापा पनि प्रतिनिधिसभा सदस्य निर्वाचित भएका छन् । नेता थापा प्यूठानमा निर्वाचित भएका हुन् । थापाले सत्तारूढ गठबन्धनबाट राष्ट्रिय जनमोर्चाकी उम्मेदवार दुर्गा पौडेललाई पराजित गरेका हुन् । थापाले ४१ हजार ११८ मत र पौडेलले ३५ हजार ८४४ मत प्राप्त गरेका छन् । थापा ओलीको प्रधानमन्त्रीकालमा प्रेस सल्लाहकार थिए ।

यसपटक ओलीको किचन क्याबिनेटका १४ जना हस्तीमध्ये १० जनाले पराजय भोगेका छन् । पराजित हुनेहरू मध्ये वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, महासचिव शंकर पोखरेल, भानुभक्त ढकाल, राजन भट्टराई, विशाल भट्टराई, प्रदीप ज्ञवाली, शेरधन राई, अग्नि खरेल, महेश बस्नेत, निरु पाल रहेका छन् । उनीहरूले टिकट पाए पनि निर्वाचन जित्न सकेनन् ।


3.33k
Shares
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा


बजारमा मैदा-आँटाको चरम अभाव
नेपालबहस संवाददाता