१३ माघ २०७९, शुक्रबार
राजनीति
राजनीति

गण्डकी प्रदेशमा मुख्यमन्त्रीका चार आकांक्षी, संसदीय दलको नेतामा अर्यालको सम्भावना बढी

प्रकाशित मिति :  १८ मंसिर २०७९, आईतवार १३:४७


१८ मंसिर, काठमाडौं । निर्वाचन परिणाम आएसँगै गण्डकी प्रदेशको मुख्यमन्त्रीका लागि नेपाली कांग्रेसबाट चारजनाले आकांक्षा देखाएका छन् । मुख्यमन्त्रीका लागि पहिला संसदीय दलको नेतामा चयन हुनुपर्ने भएकाले चारै जना दलको नेताका लागि पार्टीको शक्तिकेन्द्रसँग कसरतमा लागेका छन् । मुख्यमन्त्री बन्ने पालो नेपाली कांग्रेस गण्डकी प्रदेशका सभापति शुक्रराज शर्माको भएपनि उनी समानुपातिमा नपर्ने सम्भावना रहेको छ । संवैधानिक व्यवस्था अनुसार ३३ प्रतिशत महिला संख्या अनिवार्य पुर्याउनुपर्ने भएकाले शर्मा समानुपातिकमा नपर्ने भएका हुन् ।

कांग्रेसमा पुरानो नेताको रुपमा रहेका शर्मा सांसद नबन्ने भएपछि उनीपछि दोस्रो नम्बरमा रहेका भोजराज अर्यालको सम्भावना बढेको छ ।कोइराला समूहका अर्याललाई संसदीय दलको नेतामा अगाडि सारिने पक्का जस्तै भएको छ । प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति देउवाले गण्डकी प्रदेशको मुख्यमन्त्रीमा गोरखाबाट प्रदेशसभामा निर्वाचित सुरेन्द्रराज पाण्डेलाई अघिसार्ने तयारी गरेका थिए । तर, अर्याल स्याङजा क्षेत्र नम्बर २ को (१) बाट निर्वाचित भएपछि उनले पनि अर्याललाई सहमति जनाउने बुझिएको छ ।

कांग्रेसबाट केन्द्रीय संसदीय दलको नेतामा सभापति देउवा पुनःउठ्ने र देउवालाई कोइरालाको साथ चाहिने भएकाले पनि संस्थापनइतर समूहका नेता डा. शेखर कोइराला र देउवाबीच अर्याललाई संसदीय दलको नेतामा उठाउने र सरकार गठन गर्दा पाण्डेलाई रोजेको मन्त्रालय दिनेगरी दुई नेताबीच सहमति हुनसक्ने बताइएको छ । प्रधानमन्त्री देउवा अहिले सातै प्रदेशमा गठबन्धनको सरकार बनाउने कसरतमा रहेका छन् । यसका लागि उनले पार्टीभित्र कोइराला समूहसँग अन्य प्रदेशमा पनि मुख्यमन्त्रीका लागि कांग्रेसले पाउने प्रदेशमा मिलेर जाने सहमति हुने बताइएको छ ।

प्रत्यक्षतर्फ १८ सीटमा जित हासिल गर्दै गण्डकी प्रदेशमा सबैभन्दा ठुलो पार्टी बनेको नेपाली कांग्रेसभित्र संसदीय दलको नेता बनाउने कसरत पनि सुरु भएको छ । मुख्यमन्त्रीको दावी गरिरहेका स्याङजा २ को (१) बाट निर्वाचित अर्याल, गोरखा क्षेत्र नं. २ (ख) बाट निर्वाचित सुरेन्द्रराज पाण्डे, कास्की २ (ख) बाट दोस्रो कार्यकालका लागि पुनः निर्वाचित भएका विन्दुकुमार थापा र नवलपुरबाट निर्वाचित भएका महेन्द्रध्वज जि.सीलाई राखेर अर्याललाई सहमति जनाउन केन्द्रले पहल गर्ने भएको छ । यसका लागि उनीहरुलाई देउवा र कोइरालाले संयुक्त रुपमा राखेर छलफल गराउने तयारी गरेको बताइएको छ ।

स्याङजा २ को (१) बाट निर्वाचित अर्याल कांग्रेसभित्रका सरल र इमान्दार नेताको रुपमा परिचित छन् । उनी शुक्रराज शर्मापछि सबैभन्दा सिनियर नेता पनि हुन् । सादगी नेताको रुपमा चिनिएका नेता अर्याल भ्रष्टाचार विरोधी नेता पनि हुन् । सुरुमा गाविस अध्यक्षदेखि मेयर हुँदै प्रदेश सांसदमा विजयी भएका अर्याल निष्ठाको राजनीतिका धरोहर मानिन्छन । उनले एक थान सांसदका लागि मात्र आफु निर्वाचित नभएको भन्दै गण्डकी प्रदेश सरकारको नेतृत्व गरेर भ्रष्टाचाररहित शासन चलाउने बताउँदै आएका छन् । उनले सो क्षेत्रबाट पपुलर भोटसमेत राम्रो पाएका छन् ।

उनलाई मुख्यमन्त्री बनाउँदा गण्डकी कांग्रेस विवाद नआउने, पहिलो पटक सांसद बनेका कारण पनि अर्याललाई मुख्यमन्त्री बनाउने विषयमा देउवा सकारात्मक देखिएका हुन् । उनी गाविस अध्यक्ष भएको ३० बर्षपछि प्रदेश सांसद भएका हुन् । स्याङ्जा निर्वाचन क्षेत्र २ (१) मा अर्यालले २७३० मतान्तरले एमालेका मोहन रेग्मीलाई पारजित गरेका थिए । अर्यालले १५,१६१ मत ल्याएर विजयी भएका हुन् । २०४९ मा वालिङ गाविसको गाविस अध्यक्षमा चयन भएका अर्याल ०५४ मा वालिङ नगरपालिकाको मेयरमा निर्वाचित भएका थिए । अर्याल वालिङ नगरपालिकाको संस्थापक मेयर समेत हुन् । झण्डै १० बर्ष स्थानीय तहको नेतृत्व गरेका अर्याल झण्डै २४ बर्ष पछि पुनः जननिर्वाचित जनप्रतिनिधिमा निर्वाचित भएका हुन् ।

गण्डकी प्रदेशहमा ठुलो दल नेपाली कांग्रेस भएकाले उसकै नेतृत्वमा सरकार गठन हुने निश्चित छ । शशांक काेइराला निकट नवलपुरबाट विजयी भएका महेन्द्रध्वज जि.सी.ले पनि स्याङ्जाका भोजराज अर्याललाई समर्थन जनाउने छन् । पाण्डे संसदीय दलको नेतामा प्रतिस्पर्धा गर्ने हुँदा मात्रै उनले पनि आफुलाई दावेदारको रुपमा प्रस्तुत गर्ने मनस्थिति बनाएका थिए । प्रदेशको केन्द्र पोखराको समग्र विकासका लागि आफुले मुख्यमन्त्री दावी गरेको अर्का आकांक्षी थापाको भनाइ छ ।

गोरखाबाट निर्वाचित पाण्डेलाई सभापति देउवाले नै अर्याललाई समर्थन गर्न दवाव दिने भएकाले पनि गण्डकी कांग्रेसको संसदीय दलको नेतामा भोजराज अर्याको सम्भावना बढेको हो । उता नेकपा एमालेले पनि संगठन विभाग प्रमुख समेत रहेका पूर्वमन्त्री खगराज अधिकारीलाई मुख्यमन्त्रीका रुपमा अगाडि सार्ने तयारी गरेको छ । तर, गण्डकी प्रदेशसभामा गठबन्धनको बहुमत छ । एमाले १२ सीटमा खुम्चिएकोले उसको सरकार बनाउने सम्भावना न्यून छ ।

अहिलेसम्म प्रदेशसभामा नेपाली कांग्रेस १८, नेकपा एमाले १२, नेकपा माओवादी ४, माओवादीकै चुनाव चिन्हमा चुनाव लडेको जसपा १, स्वतन्त्र सांसद १ गरी ३६ जना सांसद छन् । प्रत्यक्षतर्फ ३६ सीट रहेको गण्डकी प्रदेशसभामा २४ सीटको समानुपातिकतर्फ नेपाली कांग्रेस ८, नेकपा एमाले ९, नेकपा माओवादी ४ र बाँकी ३ सीट अन्य दलको पाउने अनुमान छ । गण्डकी कांग्रेसमा संसदीय दलको नेता बन्ने ब्यक्ति नै मुख्यमन्त्री बन्नेछ ।


89.88k
Shares
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा


बजारमा मैदा-आँटाको चरम अभाव
नेपालबहस संवाददाता