१३ माघ २०७९, शुक्रबार
आम निर्वाचन-२०७९
राजनीति

टिकट पाएर पनि गठबन्धनको आशिर्वाद नपाएका यी कांग्रेसी उम्मेदवार !

प्रकाशित मिति :  १९ मंसिर २०७९, सोमबार १२:१९


१९ मंसिर काठमाडौं । मंसिरि ४ मा सम्पन्न प्रदेश र प्रतिनिधिसभाको निर्वाचन दोलखाको अन्तिम नतिजासँगै सकिएको छ ।समानुपातिकतर्फको केही मतगणना बाँकी रहेपनि मंगलबार अबेरसम्ममा पूर्ण नतिजा सार्वजनिक गर्ने निर्वाचन आयोगको तयारी छ । सत्ता गठबन्धनको नेतृत्व गरेर चुनावमा गएको नेपाली कांग्रेसले प्रतिनिधिसभातर्फ ५७ सीट जितेको छ भने उसका ३४ उम्मेदवार पराजित भएका छन् ।

निर्वाचनको समीक्षा सोमबार नै सत्ता गठबन्धनको बैठकमा हुँदैछ । प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा गठबन्धन गर्नुपर्ने र गर्न नहुने भन्ने पार्टीभित्र विवाद कायमै रहेका बेला चुनावमा होमिएको कांग्रेसका दुई गुटमध्ये संस्थापनइतर समूहले भागबण्डामा कम सीट पाएपनि नतिजा भने संस्थापन पक्षको भन्दा राम्रो निकालेको छ । गठबन्धन गरेर नै जानुपर्छ भन्ने समूहका धेरै उम्मेदवारले चुनाव हारेका छन् । कांग्रेसका २१ उम्मेदवारलाई एमालेका उम्मेदवारले हराएका छन् । उनीहरु गठबन्धनमा रहेको दलहरुको मत नपाएकै कारण हारेको बताउँछन् ।

पार्टी सभापति शेरबहादुर देउवाले गठबन्धन नगरौँ भन्नेहरूलाई जितेर देखाउनुपर्ने चुनौती नै दिएका थिए । तर, कांग्रेसका चार पदाधिकारीसहितका केही उम्मेदवारहरु आफ्नै कारणले पनि पराजित भएका छन् । कांग्रेस उम्मेदवार पराजित हुनुमा टिकट वितरणमा असमानुपातिक प्रक्रिया पनि हारको प्रमुख कारण बनेको छ । कांग्रेसमा एकथरी नेताले गठबन्धन नगरे चुनाव नजितिने तर्क राख्दा अर्काथरीले भने गठबन्धन गर्दा पनि मत ट्रान्सफर होला वा नहोला भन्ने शंका व्यक्त गरेका थिए । उनीहरुको आशंकाकेही हदसम्म सही रुपमा देखियो पनि ।

केन्द्रीय समितिमा बहुमतमा रहेका सभापति देउवाले गठबन्धन गरेर जाने मनसाय राखेपछि पार्टीको बहुमत सदस्यबाट अनुमोदन पनि भयो । सुरुमा एक्लै चुनाव लड्नुपर्ने पक्षमा देखिए पनि केन्द्रीय समितिको निर्णय अनुसार इतरसमूहको नेतृत्व गरिरहेको डा. शेखर कोइराला पनि गठबन्धनकै पक्षमा उभिए । उनले तलका कार्यकर्ता मिलाउन आफु र सभापतिबीच कुरा मिलिसकेको समेत बताएर कार्यकर्तालाई एक भएर चुनावमा लाग्न आग्रह गरेका थिए ।

चुनाव हारेका कतिपय नेताहरुले सभापति देउवाले टिकट दिएको तर, आर्शिवाद नदिएका कारण हार व्यहोर्नु परेको पनि बताएका छन् गठबन्धन गरेर जाँदा कम्तिमा ७५ जनाभन्दा बढी कांग्रेसका उम्मेदवारहरुले जित निकाल्ने विश्वासमा देउवा रहेका थिए । तर‚ देउवाले भनेबमोजिम गठबन्धन गरेरै चुनावमा जाँदा पनि यसपटक कांग्रेसका चार पदाधिकारीसहित ३४ उम्मेदवार पराजित भए ।

जसमा २१ जना एमालेका उम्मेदवारसँग हारेका छन् । ४ सीटमा राप्रपाले जित निकालेको छ भने बाँकी ३ सीटमा रास्वपा, २ सीटमा जसपा, २ स्वतन्त्र र नागरिक उन्मुक्ति पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीले १–१ सीटमा कांग्रेसका उम्मेदवारले नै हराएका छन् । २०७४ कांग्रेस २३ सीटमा सीमित थियो । चार दलसँग गठबन्धन गर्दा कांग्रेसको भागमा ९१ सीट परेका थिए । जसमा ५७ जनाले मात्रै चुनाव जितेका छन् ।

यो चुनावमा कांग्रेसका सहमहामन्त्रीहरु महालक्ष्मी उपाध्याय, महेन्द्र यादव, भीष्मराज आङ्देम्बे, र उमाकान्त चौधरी पराजित भए । बाँके–२ मा सुदीप नरसिंह राणाको त जमानत नै जफत भएको छ । चितवन–१ मा डा. विश्वराज पौडेल, काठमाडौं–६ मा भीमसेनदास प्रधान र सप्तरी–१ मा रामदेव साह तेस्रो भए । बाँकी ३० जना नेताहरू भने निकटतम प्रतिद्वन्द्वीको रुपमा पराजित भएका छन् ।

सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाका विश्वासपात्रसमेत रहेका गृहमन्त्री बालकृष्ण खाँणले गठबन्धन हुँदा पनि चुनाव जित्न सकेनन् । पूर्वउपसभापति विजयकुमार गच्छदार, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, पूर्वसहमहामन्त्री सुनीलबहादुर थापा र पूर्वकोषाध्यक्ष चित्रलेखा यादव पराजित भए । सुजाता कोइराला, बलबहादुर केसी, पद्मनारायण चौधरी, अर्जुनप्रसाद जोशी, सीताराम मेहत्ता, राज्यमन्त्री उमेश श्रेष्ठ, सुरेन्द्रप्रसाद चौधरी र केन्द्रीय सदस्य शिवप्रसाद हुमागाई पनि पराजित भए ।

यस्तै भरतकुमार शाह र प्रमोदकुमार यादव पनि यसपटक पराजित भए । पूर्व उपसभामुख पुष्पा भुसाल, केन्द्रीय सदस्यहरू अभिषेकप्रताप शाह, देवेन्द्रराज कँडेल र रामजनम चौधरी पनि पराजित भए । इलाम जिल्ला सभापति डम्बर खड्का, झापा सभापति देउकुमार थेवे, नेताहरू खगेन्द्र अधिकारी, नागेन्द्र कुमार, मोहम्मद फिरदोस आलम, किशोरदत्त बराल र ज्ञानबहादुर गाहा पनि पराजित भए । उनीहरूमध्ये चितवन–२ मा उमेश श्रेष्ठ सबैभन्दा धेरै मतान्तरले पराजित हुन पुगे ।

हारपछि सबै नेताहरुले गठबन्धनमा रहेका दलको मत नपाएको गुनासो गरेका छन् । मत ट्रान्सफरमा पनि माओवादीबाट कांग्रेसलाई भन्दा कांग्रेसबाट माओवादी र समाजवादीलाई बढी गएको देखिन्छ । कतिपय निर्वाचन क्षेत्रमा २ हजारभन्दा कम पार्टीको मत भएका माओवादी र समाजवादीका उम्मेदवारहरु पनि विजय भएका छन् । डोटीमा कुल ११ सय मत भएको नेकपा एकीकृत समाजवादीका उम्मेदवार प्रेम आले निर्वाचित भएका छन् । त्यहाँ कांग्रेसकाे ३५ हजार मत थियो ।

कतिपय कांग्रेसको अन्तर्घातका कारण पनि हारेका छन् भने कतिपयले टिकट दिएका सभापति देउवाले आशिर्वाद नदिएका कारण चुनाव हारिएको बताएका छन् । हारेका उम्मेदवारहरुको गुनासो र उजुरीका आधारमा कांग्रेस केन्द्रीय अनुशासन समितिले देशभरका अन्तर्घातिहरुलाई कारवाही गरेर केन्द्रमा विवरण पठाउन निर्देशन दिइसकेको छ । उनीहरुमाथि कारवाही पछि कांग्रेसको आन्तरिक कहल झन बढ्ने देखिएको छ ।


30.25k
Shares
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा


बजारमा मैदा-आँटाको चरम अभाव
नेपालबहस संवाददाता