१३ माघ २०७९, शुक्रबार
सरकार गठनको गृहकार्य
राजनीति

नयाँ सरकार गठनमा ओलीभन्दा बलियो बन्दै देउवा

तथष्ट बसेका जसपा र उन्मुक्ति पार्टी सत्ता गठबन्धनकै पक्षमा आउने संकेतः एमालेलाई रास्वपा, राप्रपा,नेमकिपा र स्वतन्त्रले साथ दिएपनि संख्या नपुग्ने

प्रकाशित मिति :  १९ मंसिर २०७९, सोमबार १६:२४


१९ मंसिर, काठमाडौं । प्रदेश र प्रतिनिधिसभाको प्रत्यक्षतर्फकाे निर्वाचन परिणाम आइसकेपछि मुख्य दलहरु नयाँ सरकार गठनको प्रक्रियामा लागेका छन् । प्रत्यक्षतर्फ ५७ सीटसहित नेपाली कांग्रेस पहिलो दल बनेको छ भने ४४ सीटसहित नेकपा एमाले दोस्रो दल बनेको छ । निर्वाचनबाट ठूला भनिएका कांग्रेस र एमाले दुबै दलले एकल सरकार बनाउने हैसियत नबनाएपछि दुई दलको मात्रै पनि सरकार नबन्ने भएको छ ।

दुई दलको सरकार बनाउन नेपाली कांग्रेस र नेकपा एमाले मिल्नुपर्छ । अन्य कुनै पनि दुई दल मिलेर सरकार बन्ने अवस्था छैन् । एमालेका केही नेताहरुले अध्यक्ष केपी शर्मा ओलीलाई नेपाली कांग्रेससँग सहकार्य गर्न सुझाव दिएपनि उनले अहिलेसम्म कांग्रेसका नेताहरुसँग छलफल गरेका छैनन् । जनादेश अनुसार कांग्रेससँग सहकार्य गर्नुपर्ने एमालेका केही नेताहरुको विचार अनुसार कांग्रेस र एमालेको सरकार बन्न सक्ने अवस्था अहिले दखिएको छैन् ।

चुनावमा दुई गठबन्धन बनाएर प्रतिस्पर्धा गरेका कांग्रेस र एमालेमध्ये अहिले कांग्रेस नेतृत्वको गठबन्धनलाई सरकार बनाउन सहज हुने अवस्था छ । कांग्रेससँग पहिले चुनावमा सँगै गएका दलहरु भित्रबाट नपुगे केही अन्य साना दल वा स्वतन्त्र सांसदलाई मनाउन सकेमात्रै पनि सरकार बनाउन सहज छ । तर, एमालेलाई भने चुनावमा गठबन्धन गरेको जनता समाजवादी पार्टीले साथ नदिने भएपछि थप समस्या परेको छ ।

एमाले अध्यक्ष ओलीले उपेन्द्र यादव नेतृत्वको जसपा साथमै रहेको अवस्थामा नेकपा माओवादीले साथ दिएमा सरकार बनाउन अग्रसर हुने मनसाय बनाएका थिए । एमाले नेतृत्वको गठबन्धनमा उपन्द्र साथमै रहँदा र नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समेत साथ दिँदा ओलीलाई केन्द्र देखि प्रदेशसम्म सरकार बनाउन सहज हुने अपेक्षा गरिएको थियो । तर, यो सम्भावना पनि टरेको छ । अहिले ओलीसँग राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मात्रै साथमा छ ।

यता, सत्ता गठबन्धनको नेतृत्व गरिहेका कांग्रेस सभापति शेरबहादुर देउवाले पनि सरकार गठनको लागि गठबन्धन र बाहिरका राजनीतिक दलहरुसँग पनि छलफल अगाडी बढाएका छन् । सत्ता गठबन्धनको बैठकपछि सोबारदेखि सुरु हुँदैछ । सत्ता गठबन्धनलाई यसपटक निर्वाचनमा भाग लिएको सीके राउत नेतृत्वको राष्ट्रिय जनमत पार्टीले साथ दिएमात्रै पनि सरकार गठनका लागि संख्या पुग्छ । यस्तै रेशम चौधरीको नागरिक उन्मुक्ति पार्टीसँग पनि छलफल भइरहेको छ ।

यसका संस्थापक अध्यक्ष रेशम चौधरीसँग गठबन्धनका नेताहरुले छलफल गरिरहेका छन् भने प्रधानमन्त्री देउवाले पनि विशेष प्रतिनिधिमार्फत छलफल चलाइरहेका छन् । उसले पनि आफ्ना माग पुरा भएमा कांग्रेस नेतृत्वको गठबन्धनलाई सरकार गठनमा सहयोग गर्ने आश्वासन दिएको बताइएको छ । अहिले रेशमको पार्टीसँग सहमति भइ नसकेकाले उ तथष्ट जस्तै छ । यस्तै जसपाका अध्यक्ष उपेन्द्र यादवले पनि एमालेसँगको सहकार्य सकिएको बताएका छन् । अहिले तथष्ट रहेपनि उनले पहिले आफु रहेको सत्ता गठबन्धनलाई अन्त्यमा साथ दिनसक्ने सम्भावना कायमै छ ।

यो निर्वाचनबाट उदाएको रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी पनि अहिले तथष्ट अवस्थामै । उसले सरकारमा कुनै एक पक्षलाई सहयोग गर्ने वा प्रतिपक्षमा रहने भन्ने निर्णय गरिसकेको छैन् । यस पार्टीभित्र पनि फरक मत आइरहेका छन् । सरकार जानुपर्ने र नपर्ने मत निर्वाचित सदस्यहरुमै देखिएकाले उसको हिसाब सत्ता गठबनधनले पनि गरेको छैन् । भक्तपुरको नेपाल मजदुर किसान पार्टीले पनि सत्ता गठबन्धनलाई साथ नदिने पक्का जस्तै छ । यद्यपि उसले कुनै निर्णय गरिसकेको छैन् ।

स्वतन्त्र रहेका पाँच जना सांसदमध्ये पनि तीनजना सत्ता गठबन्धनको पक्षमा उभिने संकेत देखिएको छ । स्वतन्त्रहरुले एक समूह बनाएर जता गरेपनि एकमुष्ट सहयोग गर्ने भन्दै छुट्टै स्वतन्त्र समूह बनाउन तयारी पनि गरेका छन् । समूह नबने पनि पार्टीबाट टिकट नपाएर पनि चुनाव जितेका अमरेशकमार सिंह र प्रभु साह उपयुक्त मन्त्रालय पाएमा सत्ता गठबन्धनको सरकारमा जाने मनस्थितिमा बसेका छन् । उनीहरुसँग पनि छलफल गर्न देउवाले प्रतिनिधि खटाएका छन् ।

यसरी अहिलेकै राजनीतिक चलखेलको अवस्थालाई हेर्दा पनि नयाँ सरकार बनाउन सत्ता गठबन्धनको नेतृत्व गरिरहेका देउवालाई नै सहज छ । राष्ट्रिय स्वतन्त्र पार्टी र राप्रपाले साथ दिएपनि ओलीलाई अझै सरकार बनाउन सहज छैन् । उनलाई माओवादीले नै साथ दिनुपर्छ । तर, माओवादीले एमालेसँग सहकार्य नहुने बताईसकेको छ । शनिबारको पदाधिकारी बैठकमा प्रचण्डले पदाधिकारीहरुले राखेको बिषयमा आधारित गरेर चाँडै औपचारिक बैठक राख्ने बताएका छन् । पदाधिकारीहरूको भनाइलाई आधार मान्दै प्रचण्डले पाँच दलीय गठबन्धनको पक्षमा उभिने प्रतिबद्धता समेत व्यक्त गरेका छन् ।

ओलीले निर्वाचनको परिणाम आउँदै गर्दा विगतमा एमाले र माओवादीबीच चरम तिक्ततालाई चिर्न प्रचण्डसँग फोन संवाद पनि गरेका थिए । उनले मिलेर जान आग्रह गरेको कुरा प्रचण्डले बताएपछि उनले सत्ता गठबन्धनलाई धोका दिनसक्ने आशंका गरिएको थियो । तर, आजका मितिसम्म उनले सत्ता गठबन्धनलाई नै अगाडी बढाउने बताइरहेका छन् । माओवादीले एमासँग सहकार्यको कुनै सम्भावना नरहेको बताए पछि दएमालेका वरिष्ठ उपाध्यक्ष विष्णु पौडेलले पनि माओवादीसँग यस विषय कुराकानी नभएको बताए छन् । उनले छलफल नभएको र छलफल हुनुपर्ने आवश्यकता पनि नभएको भन्दै ओलीले शुभकामना मात्र आदानप्रदान गरेको बताएका छन् ।

विगतमा पनि यस्तै जटिल अवस्थामा एमाले र माओवादी मिलेका थिए । २०७४ सालमा माओवादी र कांग्रेस गठबन्धनमा रहेकै बेला एमालेले रातारात नयाँ वाम गठबन्धन बनाइ त्यसमा माओवादीलाई सहभागि गराएको थियो । यसले पनि प्रचण्डमाथि अहिले पनि शंकाको दृष्टिले हेरिएको हो । अहिले तथष्ट भनिएका दलहरुले ओलीलाई साथ दिँदा पनि सरकार गठनकाा लागि आवस्यक संख्या नपुग्ने नै देखिन्छ । त्यसमाथि उपेन्द्रले अब एमालेसँग सम्बन्ध नरहने बताइसकेका छन् ।

अध्यक्ष यादवले एमालेसंगको सहकार्य सकिएको घोषणा गरेपछि मधेश प्रदेशमा पनि सरकार निर्माणमा गठबन्धनलाई थप सहज भएको छ । आइतबार विराटनगर विमानस्थलमा जसपा अध्यक्ष यादले भनेका छन्, ‘हामीले चुनावमा एमालेसँग केही क्षेत्रमा तालमेल गरेका थियौं, चुनावसँगै सहकार्यको कोर्स सकिएको छ । सरकार गठनमा कसलाई समर्थन गर्ने वा नगर्ने विषयमा चाँडै निर्णय गर्छौ ।’ तर, उनको पार्टीका निर्वाचित सांसदले भने सत्ता गठबन्धनसँंग सहकार्य हुन सक्ने बताएका छन् ।

एमाले नेतृत्वको सरकारमा सहभागी हुने सम्भावना नरहेको जसपाको निर्णयले अन्तयमा सत्ता गठबन्धनलाई नै सघाउने अनुमान पनि धेरैको छ । जसपाले सघाएमा मधेशको सबै शक्ति सत्ता गठबन्धनसँग रहनेछ । यसअघि सीट संख्या कम भएको विषयमा असन्तुष्टि जनाउदै जसपा एमालेसँग मिल्न गएको थियो । अहिले उसका नेताहरु एमालेसँग जसपाको गठबन्धन अप्राकृतिक भएको बताउन थालेको छ । अब नयाँ शिराबाट संघीयता पक्षधरसँग गठबन्धन गरेर अघि बढ्नुपर्ने जसपाका नेताहरु बताउँछन् ।


58.41k
Shares
नेपालबहस डटकमका कार्यकारी सम्पादक केदार भट्टराई दुई दशकदेखि नेपाली पत्रकारितामा क्रियाशील छन् । भूगोल साप्ताहिकबाट पत्रकारिता शुरु गरेका पत्रकार भट्टराईले साप्ताहिक बिमर्श, देशान्तर, रेडियो नेपालवाणी नेटवर्कमा काम गरिसकेका छन् । भट्टराईले आर्थिक, राजनीतिक, भ्रष्ट्राचार एवं विकृति र विसंगतिका बिरुद्ध तीखो कलम चलाउँदै आएका छन् ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा


बजारमा मैदा-आँटाको चरम अभाव
नेपालबहस संवाददाता