भीम अस्पतालको स्वास्थ्य सेवामा सुधार
नेपालबहस संवाददाता
मंसिर २२, २०७९ बिहिबार १६:५९:२७
♦ नरेश केसी
२२ मंसिर, बेलहिया । रुपन्देहीको सिद्धार्थनगरस्थित भीम अस्पतालको सेवामा उल्लेखनीय सुधार देखिएको छ । नेपाल सरकार, स्वास्थ्य मन्त्रालयको न्यूनतम सेवा मापदन्ड (एमएसएस) को लागि गठित समितिको एक वर्षको अवधिमा विभिन्न सूचाङ्कको आधारमा गरिएको मूल्याङ्कनबाट अस्पतालको सेवा प्रवाहको गुणस्तरीयतामा उल्लेखनीय सुधार देखिएको हो । एमएसएसले सरकारी अस्पतालको गुणस्तरीयता मापन गर्ने गर्दछ । भैरहवामा सार्वजनिक गरिएको तथ्याङ्कमा भीम अस्पतालको सेवा प्रवाहको गुणस्तरीयता अब्बल देखाइएको हो ।
स्वास्थ्य मन्त्रालयले ५० शय्या क्षमता भएका अस्पताललाई क वर्गमा स्तरीकरण गरी प्रदेश सरकार मातहत राख्ने गरेको छ । सोहीअनुसार क वर्गमा रहेका लुम्बिनी प्रदेशका १२ अस्पतालमध्ये भीम अस्पताल एमएसएसको मूल्याङ्कनमा दोस्रो नम्बरमा परेको हो । एमएसएस मूल्याङ्कन समितिका संयोजकसमेत रहेका स्वास्थ्य निर्देशनालय लुम्बिनी प्रदेशका निर्देशक डा विनोद गिरीले भने, “भीम अस्पतालले विगत एक वर्षको तुलनामा आफूलाई अत्यन्तै सुधारेको एमएसएसबाट देखिएको छ ।”
एमएसएस लुम्बिनी प्रदेशका फोकल पर्सन कौशल भन्डारीका अनुसार लुम्बिनी प्रदेशमा एमएसएस मूल्याङ्कनको सय अङ्कमा ९५ अङ्क प्राप्त गरी बर्दिया अस्पताल पहिलो, ८८ अङ्क प्राप्त गरी भीम अस्पताल दोस्रो भएका हुन् । यसैगरी नेपालभरीका क वर्गका अस्पतालको मूल्याङ्कनमा भीम अस्पताल पाँचौँ भएको छ । एक वर्ष अगाडिसम्म एमएसएसमा ५६ अङ्क प्राप्त गरेको यस अस्पतालले एक वर्षमा आफूलाई सुधारेर ८८ अङ्कमा पुर्याउनुमा सबै पक्षीय सहयोग र सहकार्यले सम्भव भएको अस्पताल विकास समितिका अध्यक्ष नारायणप्रसाद भण्डारीले बताए ।
विसं १९९० मा स्थापना भएको भीम अस्पताल यस क्षेत्रकै पुरानो अस्पताल हो । दक्ष जनशक्तिको अभावबीच पनि अस्पतालको सेवामा उल्लेख्य सुधार हुनु सकारात्मक रहेको जिल्ला समन्वय समिति रुपन्देहीका प्रमुख उमाकान्त चपाईँले बताए । उनले भने, “दरबन्दी अनुसार विशेषज्ञ चिकित्सक, कर्मचारी नहुँदा पनि अस्पतालले सेवाको गुणस्तरीयता र अन्य क्षेत्रमा गरेको प्रगतिले राम्रो सन्देश दिएको छ ।”
अस्पतालको सेवामा अझै पनि क्लिनिकल सेवामा अल्ट्रासाउन्ड र रेडियोलोजी सेवा प्रवाहमा कमजोरी देखिएको छ भने अन्य सेवामा राम्रो सेवा देखिएको छ । वर्षमा एक लाख सेवाग्राहीले स्वास्थ्य सेवा लिने गरेको यस अस्पतालले सात वटा ओपिडी सेवासहित २४ घन्टा चिकित्सकीय सेवा प्रदान गरिरहेको अस्पतालको मेडिकल सुपरिटेन्डेट डा. सकुन्तला गुप्ताले बताए ।
भीम अस्पताललाई आगामी वर्ष एमएसएसको मूल्याङ्कनमा एक नम्बर श्रेणीमा पुर्याउन आवश्यक सबै किसिमको सहयोग गर्ने सिद्धार्थनगरका प्रमुख ईस्तियाक अहमद खानले बताए । “हाम्रो नगरका लागि यो अस्पताल सबैभन्दा भरपर्दो स्वास्थ्य सेवा प्रदायक संस्था बनाउन जे सहयोग गर्न पर्छ हामी तयार छौँ”, उनले भनिन्, “विस्तृत योजना हामीलाई दिनुहोस् आवश्यक बजेटको व्यवस्थापन हामी गर्छौं । अहिले जुन गतिमा प्रगति भइरहेको छ त्यो राम्रो छ ।” लुम्बिनी प्रदेशका अस्पतालको मूल्याङ्कन गर्दा भीमले गरेको कार्य प्रशंसनीय नै रहेको स्वास्थ्य निर्देशनालयको इम्प्लिमेन्टेशन अफीसर विनिता काफ्लेले बताइन् ।
पर्याप्त दक्ष जनशक्ति अभाव हुँदा पनि यस अस्पतालको सेवा प्रवाह राम्रो देखिएको न्यूनतम मापदण्ड मूल्याङ्कन समितिको प्रतिवेदनमा उल्लेख छ । हाल अस्पतालमा १० जना विशेषज्ञ चिकित्सकको दरबन्दी रहे पनि दुई जना मात्रै कार्यरत रहेको अस्पतालको मेसु डा. गुप्ताले बताए । उनका अनुसार नौ जना नेपाल सरकारको छात्रावृत्तिबाट आएका र एकजना विकास समितिमार्फत काम गरिरहेको छ ।
स्वीकृत दरवन्दीअनुसारको दक्ष चिकित्सक र कर्मचारीको लागि बारम्बार पहल गरिएको डा गुप्ताले बताए । “भन्न पर्ने सबै ठाउँमा भनेका छौँ, तर जनशक्ति पठाइएको छैन”, उनले भने, “हामी जति जना छौँ त्यतिले सकेको समय दिएर सेवा पुर्याएका छौँ ।” उक्त अस्पतालमा यसैगरी १४ जना मेडिकल अफिसरको दरबन्दी रहेकोमा चार जना नेपाल सरकारबाट प्राप्त भएको छ । आठ जना छात्रावृत्तिका मेडिकल अफिसरले सेवा दिइरहेका छन् । यसैगरी नर्सिंङ स्टाफमा पनि ४६ जनाको दरबन्दी रहेकोमा सात जना मात्रै नेपाल सरकारबाट खटाइएको छ । बाँकी २१ जना छात्रावृत्तिमा र छ जना विकास समितिबाट राखिएको छ । यसैगरी पारामेडिक्समा १३ जनाको दरबन्दी रहेकोमा तीन जना मात्रै खटाइएको भने चार जना विकास समितीबाट कार्यरत रहेका छन् । जिल्लाको धकधई, मर्चवार, लुम्बिनी, कपिलवस्तु, परासी, सिद्धार्थनगर, मायादेवि, सियारीलगायत ग्रामीण क्षेत्रका जनता स्वास्थय सेवा लिन आउने गर्दछन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपस्वास्थ्यमन्त्री यादवले एक तह मुनिका प्रमोदलाई बनाए राष्ट्रिय ट्रमा सेन्टरको मेसु
बैशाख ७, २०८१ शुक्रबार
दमौली अस्पतालमा १२ घण्टा ओपीडी सेवा सञ्चालन गर्ने
बैशाख ६, २०८१ बिहिबार
बेनी अस्पतालमा अर्थोपेडिक सेवा सुरु
बैशाख ३, २०८१ सोमबार
इलाम क्षेत्र न. २ मा कांग्रेस र स्वतन्त्रको देखियो चहलपहल
यज्ञप्रसाद भट्टराई
बैशाख ८, २०८१ शनिबार
हार्दिक पाण्डेयलाई १२ लाख जरीवाना
नेपालबहस संवाददाता
बैशाख ७, २०८१ शुक्रबार
अभिनेत्री शिल्पाका पति कुन्द्राको ९८ करोड सम्पति जफत
नेपालबहस संवाददाता
बैशाख ६, २०८१ बिहिबार
इलाम क्षेत्र न. २ मा कांग्रेस र स्वतन्त्रको देखियो चहलपहल
बैशाख ८, २०८१ शनिबार
सिंगापुरमा एभरेष्ट मसला माथी प्रतिबन्ध, किटनाशक औषधी हालिएको खुलासा
बैशाख ८, २०८१ शनिबार
प्रिमियर कपमा तेस्रो स्थानको लागि नेपाल र हङकङ खेल्ने
बैशाख ७, २०८१ शुक्रबार
एसीसी प्रिमियर कप अन्तर्गत तेस्रो स्थानको खेलमा नेपाल हङकङसँग पराजित
बैशाख ८, २०८१ शनिबार
राहदानीको फिचर्स परिवर्तन र एमआरपी खरिदमा मुख्यसचिवदेखि सुरक्षा सल्लाहकारसम्म तानिने
बैशाख ८, २०८१ शनिबार
सुधारिनेभन्दा झन् अराजक बाटोमा डौडिरहेको राजनीतिलाई कसले बाटोमा ल्याउने ?
बैशाख ८, २०८१ शनिबार
अब आन्तरिक कलह हट्नुपर्छ : नेतान्याहु
बैशाख ८, २०८१ शनिबार
सगरमाथा आरोहण उत्साहजनक : आरोहणबाट उठ्यो ५० करोडभन्दा बढी राजस्व
बैशाख ८, २०८१ शनिबार