१३ माघ २०७९, शुक्रबार
आम निर्वाचन-२०७९
राजनीति

थ्रेसहोल्डका कारण नेकपा एससहित ४० दल खरानी, १२ लाख मतदाताको अवमूल्यन

प्रकाशित मिति :  २२ मंसिर २०७९, बिहीबार १७:५५


२२ मंसिर, काठमाडौं । धेरै राजनीतिक दल र सरकार बनाउने प्रक्रियामा साना दलको चलखेललाई नियन्त्रण गर्न संविधानमा दलको संख्या घटाउने उदेश्यले राखिएको थ्रेसहोल्डको व्यवस्थाले यो निर्वाचनमा ४० वटा दलले राष्ट्रिय दलको मान्यता पाउन सकेनन् । जसमा सत्ता गठबन्धनमा रहेको नेकपा एकीकृत समाजवादी र गठबन्धनसँगै सहकार्य गरेको लोकतान्त्रिक समाजवादी पार्टीसमेत परे ।

एकीकृत समाजवादीले लगभग १३ हजार मतले राष्ट्रिय दल बन्ने मौका गुमायो भने केही दलले ३ हजार आसपास पनि समानुपातिकमा मत ल्याउन सकेनन् । समानुपातिकमा खसेको सदर मतको ३ प्रतिशत नकटाई राष्ट्रिय दलको मान्यता नपाइने व्यवस्था संविधानमा छ । यही व्यवस्थाका कारण १२ लाखभन्दा बढी मतदाताले दिएकाे मत खेर गएको छ । थ्रेसहोल्ड कटाउने अपेक्षा गरिएको अर्को दल नागरिक उन्मुक्ति पार्टीले समेत थ्रेसहोल्ड कटाउन सकेन ।

प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा ६१ प्रतिशत मतदान भएको निर्वाचन आयोगको भनाई थियो । कुल एक करोड ७९ लाख ८८ हजार ५७० मतदाता मध्ये ६१ प्रतिशत मतदानमा सहभागी हुँदा देशभरबाट एक करोड ९ लाख ७० हजार बढी मतदान भएको हुनपर्ने हो । यसको एकिन विवरण प्राप्त छैन् । विगतको निर्वाचनमा प्रतिनिधिसभामा र प्रदेशसभा दुवैको समानुपातिक मतपत्र एउटै भएका कारण धेरै मत बदर भएको थियो । प्रत्यक्षतर्फ तीन प्रतिशत बढी मत बदर भएको थियो ।

कुल १ करोड ५ लाख ६० हजार ६७ मत सदर भएको निर्वाचन आयोगको भनाइ छ । जसमा नेकपा एमाले २८ लाख ४५ हजार ६४१ मतसहित पहिलो दल बनेको छ । नेपाली कांग्रेसले २७ लाख १५ हजार २२५ मत पाएको छ । नेकपा माओवादी केन्द्रले ११ लाख ७५ हजार ६८४ मत पाएको छ । प्रमुख तीन दलले समानुपातिकतर्फ मत गुमाएका छन् । एमालेले २०७४ मा ३१ लाख ७३ हजार ४९४ अर्थात ३३.२४८५ प्रतिशत मत पाएको थियो भने कांग्रेसले ३१ लाख २८ हजार ३८९ अर्थात सदर मतको ३२.७७५९ प्रतिशत मत पाएको थियो । यो पटक दुबै दलले करिब ६ प्रतिशतले मत गुमाएका छन् ।

माओवादीले अघिल्लो पटक १३ लाख ३ हजार ७२१ मत अर्थात १३.६५९० प्रतिशत मत पाएको थियो । उसले पनि करिब २ प्रतिशतले समानुपातिक मत गुमाएको छ । ठूला दलहरुको मत राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राप्रपातिर गएको देखिन्छ । यो चुनावमा उदाएको रास्वपाले प्रत्यक्षतर्फ ७ सीट जित्दा समानुपाातिकतर्फ ११ लाख ३० हजार ३४४ मत पाएको छ । अघिल्लो पटक थ्रेस होल्ड कटाउन नसकेको राप्रपाले यो पटक ५ लाख ८८ हजार ३१३ मत पाएको छ ।

तराई मधेश केन्द्रित दलमध्ये जनता समाजवादी पार्टी (जसपा) र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) को भोट सीके राउत नेतृत्वको जनमत पार्टीले काटेको छ । उपेन्द्र यादव नेतृत्वको जसपाले ४ लाख २१ हजार ३१३ मत पाएर थ्रेसहोल्ड कटाएको छ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले भने थ्रेस होल्ड नै कटाउन सकेन । जबकी महन्थ ठाकुर नेतृत्वको तत्कालीन राष्ट्रिय जनता पार्टीले अघिल्लो पटक ४ लाख ७२ हजार २५४ अर्थात ४.९४७८ प्रतिशत भोट पाएको थियो ।

पहिलो पटक संसदीय चुनाव लडेर सप्तरी २ मा उपेन्द्र यादवलाई हराएका सीके राउत नेतृत्वको पार्टी जनमत पार्टीले भने समानुपातिकतर्फ ३ लाख ९४ हजार ६५५ मत पाएको छ । ७ दलले समानुपातिकको थ्रेस होल्ड (कुल सदर मतको ३ प्रतिशत) कटाएका छन्, प्रत्यक्षतर्फ पनि चुनाव जितेका ती पार्टीहरुले राष्ट्रिय दलको मान्यता पाउनेछन् ।

प्रत्यक्षतर्फ १० सीट जितेको एकीकृत समाजवादी, ४ सीट जितेको लोसपा, ३ सीट जितेको नागरिक उन्मुक्ति पार्टी र एक–एक सीट जितेको नेपाल मजदुर किसान पार्टी र राष्ट्रिय जनमोर्चाले भने थ्रेसहोल्ड कटाउन सकेनन् । समानुपातिकतर्फ सबभन्दा थोरै भोट भने सुदीप रुवाली नेतृत्वको नेश्नलिस्ट पिलल्स पार्टीले पाएको छ । उसले २ हजार १८ मत मात्र पाएको छ । यो पार्टीले प्रत्यक्षतर्फ २० क्षेत्रमा उम्मेदवार उठाएको थियो, जसमध्ये सबभन्दा धेरै महोत्तरी ३ का जिवछी देजीले २४२ मत पाएकी थिइन् ।

अघिल्लो चुनावमा २ लाख १२ हजार बढी भोट पाएको विवेकशील साझा पार्टीले ४ हजार ४९ मत पायो भने कमल थापा नेतृत्वको राप्रपा नेपालले १२ हजार ३४० मत पाएको छ । हृदयेश त्रिपाठी नेतृत्वको जनता प्रगतिशील पार्टीले १८ हजार ५९, नेकपा मालेले ३० हजार ५९९ मत पाउँदा राष्ट्रिय जनमोर्चाले ४६ हजार ५०४ मत पाएको छ । नेपाल मजदुर किसान पार्टीले समेत लाख कटाउन सकेन । उसले जम्मा ७५ हजार १६८ मत पाएको छ ।

मत खेर जाँदा ती मतदाताको मतको समेत अवमूल्यन भएको छ । उनीहरुले आफुले चाहेको दललाई मतदान त गरे । तर, उनीहरुले दिएको मत काम लागेन् । थ्रेसहोल्ड नकटाउने दलले पाएको मतलाई थ्रेसहोल्ड कटाएका दलहरुलाई विभाजन गरेर दिने व्यवस्था संविधानमा गरिएको छैन् । एक दललाई दिएका मत अर्को दललाई दिँदा सान्दर्भिक नहुने भएकाले पनि संविधानमा यस्तो व्यवस्था नराखिएको हुनुपर्छ । खेर जाने मत सत्ता गठबन्धनमा रहेका दुई दलले पाएको भए अहिले सरकार बनाउन गठबन्धनले साना दल गुहार्नुपर्ने अवस्था पनि आउने थिएन् ।

राजनीतिक दलसम्बन्धी ऐनको थ्रेसहोल्डसम्बन्धी व्यवस्थाका कारण समानुपातिकतर्फ झण्डै १२ जना सांसद गुमेका छन् । नेकपा एससहित कम मत प्राप्त गर्ने ४० दलले पाएको मत अब खेर गएको छ । यसरी खेर गएको मत १२ लाखभन्दा बढी छ । प्रतिनिधिसभा निर्वाचन ऐनको दफा ६० को उपदफा १२ ले कुल सदर मत गणना हुँदा तीन प्रतिशत भन्दा कम मत प्राप्त गर्ने दलले प्राप्त गरेको मत दलले प्राप्त गरेको कुल मतमा गणना नहुने व्यवस्था गरेको छ । अर्थात उसले पाएका मत अनुसार सांसद पाउने व्यवस्था छैन् ।

सोही दफाको उपदफा (२) बमोजिम दलहरूले प्राप्त गरेको कुल सदर मत गणना गर्दा तीन प्रतिशतभन्दा कम मत प्राप्त गर्ने दलले प्राप्त गरेको मत दलले प्राप्त गरेको कुल मतमा गणना गरिने छैन भनी प्रतिनिधिसभा निर्वाचन ऐनको दफा ६० को उपदफा (१२) मा भनिएको छ । प्रतिनिधिसभा सदस्य ऐन, २०७४ को दफा ६० को उपदफा ११ मा समानुपातिकतर्फ प्रतिनिधित्वका लागि दलले तीन प्रतिशत मत पुर्याउनुपर्ने प्रावधान राखेको छ । समानुपातिक निर्वाचन प्रणालीतर्फको कुल सदर मतको तीन प्रतिशत वा सोभन्दा बढी मत प्राप्त गर्ने दलको तर्फबाट मात्र उमेदवार निर्वाचित हुनेछ भन्ने कुरा उपदफा ११ मा उल्लेख गरिएको छ ।

प्रत्यक्षतर्फ १० सीट जितेको एकीकृत समाजवादीदेखि प्रत्यक्षतर्फ चार सीट जितेको लोसपा, प्रत्यक्षमा तीन सिट जितेको नागरिक उन्मुक्ति पार्टी तथा प्रत्यक्षर्फ १-१ सीट जितेका पाँच पार्टी भने समानुपातिकतर्फ तीन प्रतिशत मत नपाएकै कारण राष्ट्रिय दल बन्नबाट वञ्चित भए । १० राजनीतिक दलले त पाँच हजार मत पनि कटाउन सकेनन् । थ्रेसहोल्डकै कारण आम निर्वाचन २०७९ मा १२ भन्दा बढी मत खेर गएको छ ।


2.85k
Shares
नेपालबहस डटकमका कार्यकारी सम्पादक केदार भट्टराई दुई दशकदेखि नेपाली पत्रकारितामा क्रियाशील छन् । भूगोल साप्ताहिकबाट पत्रकारिता शुरु गरेका पत्रकार भट्टराईले साप्ताहिक बिमर्श, देशान्तर, रेडियो नेपालवाणी नेटवर्कमा काम गरिसकेका छन् । भट्टराईले आर्थिक, राजनीतिक, भ्रष्ट्राचार एवं विकृति र विसंगतिका बिरुद्ध तीखो कलम चलाउँदै आएका छन् ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा


बजारमा मैदा-आँटाको चरम अभाव
नेपालबहस संवाददाता