२२ मंसिर, काठमाडौं । प्रदेश एक मा नेकपा एमाले सबैभन्दा ठूलो दल बनेपछि माओवादीसँग सहकार्य गर्ने वातावरण बन्न थालेको छ । एमालेले करिब ४० सिट र माओवादीले १३ सिट प्राप्त गर्ने अवस्थामा यी दुई दलको मात्रै सरकार बन्ने अवस्था देखिएपछि सहकार्यको वातावरण बनेको स्रोतको दावी छ ।
यद्यपि संघीय सरकारमा गठबन्धनमा असर पर्ने भएकाले त्यो विषयलाई बाहिर ल्याइएको छैन । प्रदेश १ को ९३ सांसद मध्ये एमाले र माओवादी मिल्दा ५३ सांसद हुने भएकाले एमाले र माओवादीको सहकार्य संभव देखिएको एक एमाले नेताको दावी छ ।
निर्वाचन सम्पन्न भएर प्रदेशसभाको प्रत्यक्षतर्फ दलहरूले पाएको सिट संख्या निश्चित भइसकेको र समानुपातिक तर्फ पनि दलहरूले पाएको मत टुंगो लागिसकेको अवस्थामा एमाले पहिलो दल बनेको तथा सरकार गठनमा भने अन्यदलसँगको सहकार्यका लागि अघि नबढेको अवस्थामा एमाले र माओवादीको सहकार्यको संभावना बनेको ती नेताको दावी छ । प्रदेश १ मा कुनै पनि दलले स्पष्ट बहुमत पाउन सकेका छैनन । बहुमत नभए पछि दुई वा दुई भन्दा बढी दलको सरकार बनाउनुपर्ने देखिएको छ । मिलीजुली सरकार बनाउनुपर्ने अवस्थामा कुन कुन दलको सरकार बन्ने भन्ने स्पष्ट भइसकेको छैन ।
प्रत्यक्षमा जितेको सिट र समानुपातिकमा पाएको मतका आधारमा नेकपा एमाले प्रदेश १ मा सबै भन्दा ठुलो दल बनेको छ । दोस्रो दल नेपाली कांग्रेस बनेको छ । प्रदेश १ को प्रत्यक्ष तर्फको कुल ५६ सिट मध्ये नेकपा एमालेले २५ सिट जितेको छ । नेपाली कांग्रेसले १७ सिट जितेको छ । नेकपा माओवादी केन्द्रले ९, नेकपा एसले ३, राप्रपाले २ सिट जितेको छ ।
यस्तै समानुपातिक तर्फ नेकपा एमालेले ६ लाख ६५ हजार ४ सय ६०, नेपाली कांग्रेसले ५ लाख ६२ हजार ९ सय ५६, नेकपा माओवादी केन्द्रले १ लाख ८१ हजार २ सय ४५, राप्रपा नेपालले १ लाख ९८ हजार ५ सय ११, जसपा नेपाले ६१ हजार ७ सय २३ र नेकपा एसले ५५ हजार ९ सय ५७ मत पाएका छन् । प्रदेश १ मा समानुपातिक तर्फको ३७ सिट रहेको छ । समानुपातिकतर्फ दलहरूले पाएको मतका आधारमा सेन्ट लग विधिबाट गणना गर्दा नेकपा एमालेले १५, नेपाली कांग्रेसले १२, नेकपा माओवादी केन्द्रले ४, राप्रपा ४, जसपा १ र नेकपा एकीकृत समाजवादीले १ सिट पाउने देखिएको छ ।
यस आधारमा प्रदेश १ को ९३ सांसद मध्ये नेकपा एमालेले ४०, नेपाली कांग्रेसले २९, नेकपा माओवादी केन्द्रले १३, राप्रपाले ६ नेकपा एकीकृत समाजवादीले ४ र जसपाले १ सिट पाउने देखिएको छ । निर्वाचनमा प्राप्त सिटका आधारमा नेकपा एमाले गठबन्धनले बहुमत पु¥याउने देखिएको छ । नेकपा एमाले गठबन्धनमा एमाले, जसपा र राप्रपा रहेका छन् । तीन वटा दलले प्रदेश १ मा बहुमत ४७ सिट पाउने देखिएको छ ।
यस्तै सत्तारुढ गठबन्धनको प्रदेश १ मा ४६ सिट पुग्ने देखिएको छ । तर, दुवै गठबन्धनका नेताहरू सरकार गठनका लागि तयारी गरिरहेका भए पनि दुवै गठबन्धनमा आबद्ध दलहरूबिच विश्वासको संकट भने देखिएको छ । ठुला दल नेकपा एमाले र नेपाली कांग्रेस आफ्नै नेतृत्वमा सरकार गठन गर्न चाहिरहेका छन् । तर कांग्रेसलाई माओवादीको मात्रै साथले पुग्दैन भने एमालेलाई माओवादी वा अन्य दलको साथले सरकार बनाउनसक्ने अवस्था छ ।