१३ माघ २०७९, शुक्रबार
आम निर्वाचन-२०७९
राजनीति

समानुपातिकले दलभित्र चुलियो विवाद, कांग्रेसबाट को को हुँदैछन आउट ?

प्रकाशित मिति :  २३ मंसिर २०७९, शुक्रबार १३:५७


२३ मंसिर, काठमाडौं । प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा टिकट वितरणमै महिलाप्रति कन्जुस्याई देखाएका राजनीतिक दलहरुलाई समानुपातिकतर्फका सांसद छन्न सकस परेको छ । प्रत्यक्षमा धेरै कम महिलाले मात्र टिकट लिएको र पाएका मध्येपनि कमले मात्रै चुनाव जितेपछि संघीय संसदमै संविधानले गरेको व्यवस्था अनुसार महिलाको संख्या पुर्याउन कसरतमा जुटेपनि दलभित्र पक्ष र विपक्षबीच कुन पक्षलाई स्थान दिने भन्नेमा विवाद छ ।

सबैभन्दा धेरै विवाद नेपाली कांग्रेसमा देखिएको छ । कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतलाई जोउन देउवालाई सकस भइरहेको नेताहरु बताउँछन् । खासआर्यको पुरुषतर्फ देउवाले महतलाई दिए महिलातर्फको पहिलाे नम्बरमा रहेका सोही कोटाले नपाउने अवस्था छ । यसो भएमा महिलातर्फ खसआर्यको पहिलो नम्बरमा रहेकी अम्बिका बस्नेतको नाम हटाउनुपर्ने हुन्छ । कांग्रेसमा आदिवासी जनजाति पुरुष समूहमा गोपालमान श्रेष्ठ, खस आर्य पुरुषमा प्रकाशशरण महत, थारू पुरुषमा योगेन्द्र चौधरी, दलित पुरुषमा जीवन परियार, मधेसी पुरुषमा बिमलेन्द्र निधि, मुस्लिम पुरुषमा फरमुल्लाह मन्सुर १ नम्बरमा छन । उनीहरू माथिल्लो तहका नेता हन् ।

तीन पुरुषले मात्रै पाउने भएपछि दलित, मुस्लिम र पिछडिएको क्षेत्रबाट मात्रै पनि पर्न सक्ने सम्भावना रहेको नेताहरु बताउँछन् । तर, जुन कलष्टरबाट पुरुष आउँछ, त्यही कलष्टरको महिला काटिने भएपछि यसमा पनि समस्या नै देखिएको छ । पार्टी सभापति देउवा महतलाई जोगाउन चाहिरहेका छन् भने यसो गर्दा उनले अरु ६ कलष्टर मिलाउनुपर्छ । आन्तरिक रुपमा सहमति जुटाउन नसकेपछि देउवाले पाटीको बैठकमा राख्ने र बहुमतबाट निर्णय गराउने तयार गरिरहेका छन् ।

कांग्रेसले समानुपातिकतर्फ ३२ जना छान्दै गर्दा दलिततर्फको एकनम्बरमा रहेका जिवन परियार पर्ने/नपर्ने निश्चित छैन किनभने महिलाबाट दलितको प्रतिनिधित्व गराएर उनलाई रोक्न पार्टीभित्र कसरत चलिरहेको छ । उनी रोकिए भने प्रतिनिधिसभामा कांग्रेसबाट दलित पुरुषको प्रतिनिधित्व शून्य हुनेछ । यसपटक कांग्रेसबाट संसदमा प्रभावकारी रूपमा मुद्दा उठाउने दलित सांसद नहुने चिन्ता उक्त समूहका नेताहरूले व्यक्त गरिरहेको अवस्थामा सभापति देउवाले भने महतलाई च्यापीरहेका छन् ।

समानुपातिकमा एमालेले नाम छनोट गरिसकेको बताइएपनि पार्टीभित्र नेताहरुबीच विवाद आएपछि आज शुक्रबार डाकिएको सचिवालयको बैठक स्थगित भएको छ । पार्टी अध्यक्ष लगायतका नेताहरु बसेर छनोट भएका नामहरुलाई अनुमोदन गर्न सचिवालयको बैठक डाकिएको थियो । तर, विवाद आएपछि बैठक स्थगित भएको एमाले नेताहरुले सामाजिक सञ्जालमा राखिसकेका छन् ।

एमालेले समानुपातिकमा आदिवासी जनजाति १०, खस आर्य ११, थारू २, दलित ५ र मुस्लिम १ जना छनोट गर्नुपर्ने हुन्छ । एमालेले तयार पारेको प्रारम्भिक प्रस्तावमा खस आर्यतर्फ ६ महिला र ५ पुरुष, आदिवासी तथा जनजातितर्फ ५ महिला र ५ पुरुष, मधेसीतर्फ ३ महिला र २ पुरुष, दलिततर्फ ३ महिला र २ पुरुष, थारूतर्फ १ महिला र १ पुरुष तथा मुस्लिममा एक महिला पठाउने उल्लेख छ । प्रारम्भिक प्रस्तावमा सचिवालय बैठकले शुक्रबार छलफल एवं निर्णय गर्ने तयारी थियो तर, बैठक नै स्थगित भयो ।

समानुपातिकबाट ३३ प्रतिशत संख्या पुर्याउन सहज भएपनि कलष्टर अनुसार सांसद छान्न भने दलहरुले सकिरहेका छैनन् । आन्तरिक विवादका कारण निर्वाचन आयोगले क्रमसंख्या मिलाएर नाम पठाउन दिएको समयभित्र दलहरुले नाम पठाउने सम्भावना देखिएको छैन् ।निर्वाचन आयोगले शनिवार (भोलि) ४ बजेको अन्तिम समय दिएको छ । समयभित्र नाम बुझाउने सम्भावना नभएपछि दलहरुले आयोगसँग थप समय माग गर्ने सम्भावना पनि देखिएको छ । आयोगले दलको आग्रहमा एक दिन समय थप्न सक्ने संकेत पनि दिएको छ ।

प्रतिनिधिसभा र प्रदेशसभामा समानुपातिकतर्फ निर्वाचित हुने उम्मेदवारको सूची तयार गर्ने विषयमा दलभित्रै विवाद आएपछि केहीले पार्टीको बहुमतबाट निर्णय गराउने तयारी गरेका छन् । यसका लागि नेकपा एमालेले आज शुक्रबार बोलाएको बैठक विवादका कारण स्थगित भइसकेको छ । नेपाली कांग्रेसको कार्यसम्पादन समितिको बैठक भोली शनिबार बस्दैछ । संसदमा महिला संख्या पुर्याउन कांग्रेसले २९ र एमालेले १९ महिला समानुपातिकबाट लानुपर्छ ।

जम्मा ३२ सीट पाएको कांग्रेसमा २९ जना महिला लगेपछि ३ जना मात्र पुरुष छान्नुपर्ने अर्को बाध्यता छ । सात कलष्टरबाट तीन जना छनोट गर्न कांग्रेसभित्र मारमार चलिरहेको छ । एमालेले पुरुषतर्फ १५ जनालाई समानुपतिबाट सांसद बनाउन सक्छ । माओवादीमा पनि महिला नै पठाउनुपर्ने बाध्यता छ । महिला सांसद संख्या ३३ प्रतिशत पुर्याउनुपर्ने भएकाले राष्ट्रिय मान्यता प्राप्त सात दलले समानुपातिकको ११० सीटमा बढीमा ३५ मात्रै पुरुष छान्न पाउने देखिएको छ । त्यसमा पनि कुन क्लस्टर बाट कति प्रतिनिधित्व गराउने भन्नेमा विवाद छ । यसमा पनि आयोगले संख्या तोकिदिएको छ ।

दलहरुलाई अहिले देखिएको अर्को समसया भनेको निर्वाचित हुने उम्मेदवार छान्दा बन्द सूचीको क्रम मिच्न नपाउने प्रावधान हो । तर संख्या न्यून भएकाले कुन समूह रोज्ने भन्नेमा नै विवाद छ र यसैमा चलखेलको प्रयास हुने आशंका गरिएको छ । कुनै समूहबाट पुरुषलाई रोज्दा त्यही समूहअन्तर्गत महिलाको नाम काटिने सम्भवना छ भने अर्को समूहबाट पुरुष बाहिरन सक्ने उतिकै सम्भावना छ । त्यही कारण आफू छानिन वा सुरक्षित रहन उम्मेदवारहरूले शीर्ष नेताहरूको घरदैलो गरिरहेका छन् ।

प्रत्यक्षमा चार महिला जिताएको एमालेले समानुपातिकका ३४ सीटमध्ये १५ सीटमा पुरुषलाई निर्वाचित गराउन सक्छ । समानुपातिकमा ३२ सीट पाएको कांग्रेसले ३ जनाभन्दा बढी पुरुष छान्न पाउँदैन । माओवादीले समानुपातिकको १४ सीटमध्ये २, राप्रपाले ७ सीटमा २ र जसपाले ५ सीटमा १ जनाभन्दा बढी पुरुषलाई निर्वाचित गराउन पाउने छैन् । प्रत्यक्षमा दुई महिला निर्वाचित गराएको राष्ट्रिय स्वतन्त्र पार्टीले भने समानुपातिकको १३ सीटमध्ये ८ मा पुरुष छान्न सक्ने देखिएको छ ।

माओवादीमा पुरुष आकांक्षी धेरै भए पनि २ जनाभन्दा बढी पुरुष समानुपातिक सांसद हुन नपाउने अवस्था छ । राष्ट्रियसभासहित संघीय संसदमा ४७ सांसद रहने माओवादीमा महिला १६ जना पुग्नुपर्छ । प्रतिनिधिसभाको प्रत्यक्षमा रेखा शर्माले मात्रै जितेकी छन् । राष्ट्रियसभामा तीन महिला छन् । त्यसैले समानुपातिकमा पाएको १४ जनाको कोटाबाट कम्तीमा १२ जना महिला छान्नैपर्छ  माओवादीलाई ।

उसको बन्दसूचीमा पुरुषतर्फ आदिवासी जनजातिमा अजम्बर राई, खस आर्यमा हितराज पाण्डे, थारूमा सुनीलकुमार भगत, दलितमा रणेन्द्र बराली, मधेसीमा रामेश्वर राय यादव, मुस्लिममा हकिकुल्लाह खाँ १ नम्बरमा छन् । तर उनीहरूमध्ये दुई जनाभन्दा बढी सांसद हुन पाउँदैनन् । आयोगले अल्पसंख्यक, अपांगता र पिछडिएका क्षेत्रबाट प्रतिनिधि छनोट गर्दा क्रमसंख्यामा तल भए पनि मिल्ने आधार तय गरेर पठाउन भनेको छ ।

प्रत्यक्षमा दुई महिलासहित ७ सीट जितेको राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिक १३ सीट पाएको छ । राष्ट्रियसभामा उसको प्रतिनिधत्व छैन । स्वतन्त्र पार्टीले महिला र पुरुष गरी आदिवासी जनजाति ३, खस आर्य ४, थारू १, दलित २, मधेसी २ र मुस्लिम १ जना छान्नुपर्छ । आदिवासी, खस आर्य, थारू, दलित, मधेसी, मुस्लिम, पिछडिएको क्षेत्रमध्येबाट रोज्ने अधिकार दललाई छ ।

समानुपातिकमा ७ सीट पाएको राप्रपाले ५ जना महिला छनोट गर्नुपर्ने हुन्छ । राप्रपाले समानुपातिकको बन्दसूचीमा कसलाई पहिलो प्राथमिकतामा राख्ने भनेर आन्तरिक निर्वाचनसमेत गरेको थियो । जनता समाजवादी पार्टीले समानुपातिकमा ५ सीट पाएको छ । त्यसमा १ जना मात्रै पुरुष पर्न सक्ने देखिएको छ । जसपाले आदिवासीबाट कम्तीमा १ र बढीमा २ तथा खस आर्यबाट कम्तीमा १ जना छनोट गर्नैपर्ने हुन्छ ।

थारू, दलित, मधेसी, मुस्लिम, पिछडिएको क्षेत्रबाट एक जनासम्म छनोट गर्ने छुट उसलाई छ । १ जना पुरुष आदिवासी जनजातिबाट छनोट गर्दा रत्नध्वज लिम्बू, खस आर्यबाट रोजे प्रकाश अधिकारी, मधेसी समूह छाने उसको तयारी छ । जनमत पार्टीले समानुपातिकमा ५ सीट पाएको छ । त्यसमा २ महिला र ३ पुरुष छनोट गर्नुपर्छ । प्रत्यक्षमा उसको १ सीट छ ।


66.24k
Shares
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा


बजारमा मैदा-आँटाको चरम अभाव
नेपालबहस संवाददाता