२३ मंसिर, काठमाडौं । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा राजनीतिक दलहरुले महिलाहरुमाथि राजनीतिक हिंसा गरेको बताएका छन् ।
निर्वाचन आयोगले शुक्रबार काठमाडौंमा आयोजना गरेको ‘निर्वाचन व्यवस्थापनमा लैंगिकता र समावेशिता’ विषयक समीक्षा कार्यक्रममा बोल्दै थपलियाले दलहरुले महिलालाई अधिकार उपभोग गर्नबाट रोकेर राजनीतिक हिंसा गरेको बताएका हुन् ।
उनले उम्मेदवारी दिने काममा महिलाहरूमाथि ठूलो विभेद संविधानले सुनिश्चित गरेको अधिकार प्रयोगमा रोक लगाएको बताए । अधिकार प्रयोगाम रोक लगाउनु एक किसिमले हिंसा नै भएको उनको भनाइ थियो ।
प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षतर्फ महिलाहरूलाई १० प्रतिशत पनि उम्मेदवार नबनाएर राजनीतिक विभेद गरेको बताए । संविधान र कानूनले दिएको अधिकार र अवसरबाट महिलाहरूलाई राजनीतिमा वञ्चित गर्नु कानुनको उल्लंघन भएको उनको भनाइ थियो ।
उनले महिलाहरुमाथि राजनीतिक अन्याय हिंसा हुन नदिनका लागि सम्बन्धित सबै पक्षलाई सचेत हुन आवश्यक भएको बताए । लैंगिक हिंसाविरुद्धको अभियानमा आयोगको ऐक्यवद्धता रहेको र त्यसको पालनाका लागि शून्य सहनशीलताको नीति लिएको उनले बताए ।
निर्वाचनसम्बन्धि कानुन भने अन्य देशको तुलनामा लैंगिक तथा समावेशी रहेको स्मरण गराए । निर्वाचनमा महिला हिंसा भयो भनेर कुनैपनि उजुरी नपरेको जानकारी दिए ।