२८ पुष, चितवन । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले सुरक्षा निकायका अधिकारीहरुले कसैको आदेशको पालना गर्ने नभएर कानुनको पालना गर्नुपर्ने बताएका छन् । बिहीबार भरतपुर विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै उनले देशभरका प्रमुख जिल्ला अधिकारीहरुले पनि आदेशको नभई कानुनअनुसार उच्च मनोबलका साथ काम गर्नुपर्ने बताए ।
उनले सबै प्रमुख जिल्ला अधिकारीहरुले कसैको पनि प्रभावमा नपरी काम गर्नुपर्ने र कानुनको पालना गर्न र गल्ती काम नगर्ने विषयमा सचेत रहुनपर्ने बताए । उनले आफुले यसअघि पनि जे सही हो त्यही मात्र काम गर्न र आदेश होइन कानुन पालना गर्नुहोस् भनि सुरक्षा संयन्त्रलाई निर्देशन दिएको जानकारी दिए ।
पत्रकारहरुसँग कुरा गर्दै उनले कुनै पनि राजनीतिक दलको दबाबमा नपरी काम गर्नसमेत निर्देशन दिए । अपराध अनुसन्धानमा राजनीतिक दलले बाधा पुर्याउने वा मेरो मान्छे छोडिदेउ जस्ता कुरा नसुन्न र त्यसरी दवाव दिएको प्रमाणसहित कानुनी दायरामा ल्याएर कारवही गर्न उनको निर्देशन छ ।
उनले आफू सभापति रहेको राष्ट्रिय स्वतन्त्र पार्टीको हकमा झन बढी निर्मम भएर काम गर्न निर्देशन दिएको बताए । नेपाल प्रहरीलाई बलियो बनाउन र प्रहरी सङ्ठनभित्र देखिएका समस्या समाधान गर्दै विधिको शासन कायम गर्नका निमित्त काम आफूले गरिरहेको बताए । यसका लागि योजना बनाइरहेको उनले जानकारी दिए ।