२४ माघ २०७९, मंगलवार
सुदूरपश्चिम प्रदेश

टाइमकार्डले दिनभर अलमलिएर बस्नुपर्ने बाध्यता हट्यो 

प्रकाशित मिति :  ३ माघ २०७९, मंगलवार १४:४३


३ माघ, डडेल्धुरा । जिल्ला प्रशासन कार्यालय डडेल्धुराले गत सातादेखि सुरु गरेको टाइमकार्डले सेवाग्राहीलाई सेवा लिन सहज बनाएको छ । सेवाग्राहीको सुविधाका लागि कार्यालयले गत सातादेखि विभिन्न १० प्रकारका सेवामा टाइमकार्ड लागू गरेको हो ।

नागरिकता लिन, राहदानीका लागि आवेदन दिन, राहदानी विभागबाट प्रिन्ट भई आएका राहदानी वितरण गर्न, राष्ट्रिय परिचयपत्र विवरण दर्ता, सङ्घ संस्था नवीकरण, दलितरजनजाति प्रमाणित, मुद्दा पेसी र तारेख, मुद्दाको फैसला, नाबालक परिचयपत्र र हातहतियार नवीकरण सेवामा प्रशासनले टाइमकार्ड लागू गरेको थियो ।

आवश्यक कागजात पुगेको अवस्थामा १५ मिनेटमा सेवा दिनेगरी टाइमकार्ड लागू गरिएको प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले जानकारी दिए । अशक्त, अपागङ्ता भएका मानिसका साथै ज्येष्ठ नागरिक र अति समस्यामा परेका सेवाग्रहीलाई प्राथमिकता दिने गरी अन्य सेवाग्राहीलाई समेत छिटोछरितो प्रदान गर्न टाइमकार्ड लागू गरिएको प्रजिअ जोशीले बताए ।

टाइमकार्ड लागू भएपछि सामान्य तवरबाट हुने कामका लागि दिनभर अलमलिएर बस्नुपर्ने बाध्यता हटेको सेवाग्राही राजु भट्टले बताए । संस्था नवीकरणका लागि जिल्ला प्रशासन पुगेकी भट्टले समयमा नै सेवा पाएको जनाए ।

टाइमकार्ड लागू भएपछि ४५ मिनेटभित्र नयाँ नागरिकता र नाबालक परिचयपत्र दिनेकार्य भइरहेको र प्रमुख जिल्ला अधिकारीले हेर्ने मुद्दा ६० दिनभित्र फैसला गर्ने लक्ष्य राखी प्रशासनले आफ्नो सेवा प्रदान गरिरहेको मुद्दा फाँटका सुब्बा चन्द्रबहादुर रोकायाले जानकारी दिए ।

अशक्त, ६५ वर्षमाथिका ज्येष्ठ नागरिक, गर्भवती र बच्चासहितको महिलालाई लाइनमा नराखी प्राथमिकताका आधारमा सेवा प्रवाह भइरहेको उनको भनाइ छ ।


1.09k
Shares
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info@nepalbahas.com मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा