२४ माघ २०७९, मंगलवार
राजनीति
राजनीति

गण्डकी प्रदेशले १२ बाट घटाएर ७ मा झार्यो मन्त्रालयको संख्या

प्रकाशित मिति :  ८ माघ २०७९, आईतवार २१:१७


८ माघ, पोखरा । गण्डकी प्रदेश सरकारले मन्त्रालय संख्या घटाएर ७ मा झार्ने भएको छ । मुख्यमन्त्री खगराज अधिकारीले सत्तारुढ दलका नेताहरुसँग छलफल गरी मन्त्रालयको संख्या ७ वटा कायम गर्ने सहमति भएको बताएका छन् ।

ग्ण्डकी प्रदेशमा हाल १२ वटा मन्त्रालय छन । सबै प्रदेशमा सुरूमा बढिमा ७ मन्त्रालय बनाइएको थियो । नेकपा विभाजनले सरकार नै धरापमा परेपछि तत्कालिन पृथ्वीसुब्बा गुरुङले मन्त्रालयको संख्या सुरूमा ८ बनाए, पछि ११ मन्त्रालयसम्म बनाउन उनले नै बाँडफाँड गरेका थिए ।

पछि नेपाली कांग्रेसका कृष्णचन्द्र नेपाली पोखरेलको नेतृत्वमा सरकार बनेपछि ११ वटा मन्त्रालयबाट बढाएर भागवण्डा मिलाउन डोबाटे विलाई आन्तरिक मन्त्री बनाउँदै मन्त्रालयको संख्या १२ पुर्याइएको थियो । मुख्यमन्त्री बन्ने योजनाका साथ प्रदेशमा झरेका अधिकारीले सुरूदेखि नै मन्त्रालयको संख्या घटाउने बताएका थिए ।

मुख्यमन्त्रीले अधिकारीले ७ मन्त्रालय बनाउने भने पनि उनलाई ९ मन्त्रालय बनाउन एमालेबाटै दवाव परेको बताइएको छ । तर, सहमतिमा ७ मन्त्रालय बनाउने निर्णय भएको छ । अब एमालेले मुख्यमन्त्रीसहित ४ मन्त्रालय राखेको छ भने माओवादीले २ मन्त्रालय र राप्रपाले १ मन्त्रालय पाउने सम्भावना छ ।

माओवादी केन्द्रकै चुनाव चिन्ह्बाट चुनाव जितेका बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीका फणिन्द्र देवकोटाले पनि मन्त्रालयको दाबी गरेका छन् । मन्त्रालयको संख्या घटाएसँगै मन्त्रीका आकांक्षीहरुको व्यवस्थापनमा भने सत्तारुढ दललाई असहज भएको छ ।

पुष २९ गते विश्वासको मत लिँदा एमालेका २१, माओवादीका ८ र राप्रपाका २ सांसदसहित ३१ सांसदले उनको पक्षमा मत हालेका थिए । एमालेका ज्येष्ठ सदस्य सांसद मित्रलाल बस्यालले सभामुखको भूमिका निर्वाह गर्दा विश्वासको मत दिने प्रक्रियामा भाग लिएनन् भने मनाङले सोही दिन अनुपस्थित रहे । कांग्रेसका २७ सांसदले उनको विपक्षमा मत हालेका थिए ।


130
Shares
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info@nepalbahas.com मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा