२४ माघ २०७९, मंगलवार
तस्करी
बाग्मती प्रदेश

नेपाली सेनाको सुरक्षा घेराभित्र निकुन्जमा गैंडा मारिनु शंकास्पद

प्रकाशित मिति :  ९ माघ २०७९, सोमबार १२:२९


९ माघ, चितवन । शुक्रबार चितवन राष्ट्रिय निकुन्जको पश्चिम सेक्टरमा दुईवटा गैंडा मारिएको घटनामा सुरक्षा निकायको संलग्नता रहेको आशंका गरिएको छ । नेपाली सेनाले गस्ती गरिरहेको अवस्थामा दुई गैंडा मारिनु र त्यहाँको अवस्था हेर्दा सिकारीले सुरक्षा निकायका व्यक्तिसँग समन्वय नगरी गैंडा मारेर खाग समेत निकाल्न नसक्ने देखिएपछि सुरक्षा निकायका अधिकारीहरुको मिलेमत्तो रहेको आशंका गरिएको हो । गैंडा मारिएको समयमा नेपाली सेनाले गस्ती गरिरहेको पाइएको छ ।

शुत्रबार विहान पूर्वी नवलपरासीको मध्यबिन्दु नगरपालिका वडा नम्बर २ सेहरी नजिकै नारायणी नदीको भंगालोमा दुईवटा गैंडा मारेको अवस्थामा भेटिएको थियो । गैंडा मरेको स्थानमा विद्युतीय तार भेटिएको भनिएपनि त्यस वरीपरी तार जोडेर करेन्ट लगाउन सक्ने अवस्था छैन् । किन भने त्यहाँ नजिकै विद्युतका पोल छैनन् र टाढा बाट ल्याउने अवस्था पनि छैन् । सेना गस्ती रहेको अवस्थामा गैंडा मारेर खाग निकालिएको रगताम्मे भेटिएको थियो ।

शुक्रबारसहित ६ महिना यता १० गैंडा मरिसकेका छन् । आफ्नै अगाडी जोरी निकास भइरहँदा सुरक्षा निकाय भने घटना नसुनेझै बसेको छ । निकुञ्ज आफैसँग पनि पर्याप्त सरक्षा कर्मी छन् । त्यसमाथि निकुञ्जलाई नेपाली सेनाले हेरिरहेको छ । सेनाले निकुञ्ज क्षेत्रमा दैनिक गस्ती गरिरहेको हुन्छ । उसले एसआरपी, एलआरपी, एमआरपी जस्ता विभिन्न नामका गस्तीहरु नियमित चलाइरहेको छ । तर, गस्तीकै बिचबाट गैंडा मारिन्छ र खाग निकालिन्छ ।

निकुञ्ज कर्मचारीका अनुसार सेनाको गस्तबारे पूर्ण जानकारी निकुञ्जका प्रमुख संरक्षण अधिकृतलाई दिइन्छ । कहाँ के भइरहेको छ भनेर प्रमुखले जुनसुकै बेला जीपीएस ‘ट्रयाक’ गरेर हेन सक्ने प्रविधि पनि छ । यसरी सबै कुराले सुरक्षित रहेको निकुञ्जभित्रबाट खुले आम सिकारी छिरेर कसरी तस्करी गर्नसक्न छन् यो नै शंकास्पद विषय छ । कर्मचारीका अनुसार केही समय अघिदेखि सेना र निकुञ्जबीच मनमुटाव चलिरहेको थियो । निकुञ्को सुरक्षाकाबारेमा दुवै निकायबीच समन्वय पनि हुन सकिरहेको छैन् ।

स्थानीय एक प्रत्यक्ष दर्शीले भने, ‘विगत २५ बर्ष देखि यहाँ गैंडा मारेको देख्दै र सुन्दै आएको छु । करेन्ट लगाएर मारिएको भनिएको छ तर, गैंडाले खोस्रिएको वा गाह्रो भएर छटपटाएको कुनै संकेत थिएन, धेरै बेर हेर्न पनि दिएनन् । झण्डै १५/२० मिटरको जीआई तारमा हाई भोल्टको करेन्ट छाडेर गैंडा मारेको संरक्षणकर्मी बताइरहेका थिए ,तर करेन्ट ल्याउन ठाँउ थिएन् । अचम्मको कुरा के छ भने, घटनास्थल वरपर विद्युतका कुनै पनि पोल र तार छैनन् । त्यहाँ तस्करहरूले नयाँ प्रविधि अपनाएर गैंडा मारेको देखिन्छ ।’

चितवन निकुन्जको पश्चिम सेक्टरमा शुक्रबार दुईवटा गैंडा सिकारीले मारेका थिए । चितवन राष्ट्रिय निकुञ्जमा चालु आर्थिक वर्षको ६ महिनामा १० वटा एक सिङ्गे गैँडा मरेका छन् । छ महिनामा मरेका १० मध्ये सात गैंडा प्राकृतिक कारणबाट, एक विद्युत् करेन्ट लागेर र दुई चोरी निकासी गर्ने तस्करका कारण मरेका निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिए ।

प्रहरी उपरीक्षक भुवनेश्वर तिवारीका अनुसार गैंडा मारिएको स्थानमा विद्युतीय तारसमेत फेला परेकाले करेन्ट लगाएर मारिएको अनुमान गरिएको छ । एउटा गैंडाको खागसमेत चोरी भएका कारण चोरी सिकारी समूहले गैंडा मारेको हुनसक्ने प्रहरी र स्थानीयहरूको भनाइ छ । मरेकामध्ये माउ गैंडाको बहुमुल्य खाग चोरी भएको छ भने सानो गैंडाको खाग सुरक्षित छ । घटनाका बारेमा चितवन निकुन्जले अनुसन्धान सुरु गरेको जनाएपनि नेपाली सेनाले केही बोलेको छैन् ।

मारिएको १४ बर्षको पोथी गैंडाको खाग काटिएको र खाग काटेको ठाउँबाट रगत बगिरहेको स्थानीय बताउँछन् । नजिकै खाग नआइसकेको चार बर्षको केटो गैंडा पनि मारिएको थियो । घटनास्थल नजिकै नेपाली सेनाको सुरक्षा पोस्ट छ । निकुञ्जको कोर क्षेत्रमा अर्को सहरी पोष्ट छ । निकुञ्जको सुरक्षा नेपाली सेनाको खड्क दलले गर्दै आएको छ । सेनाको पोस्ट नजिकै खुला ठाउँमा गैंडालाई हृदय विदारक ढंगले मार्नुमा निकुञ्ज प्रशासनको उदासिनता प्रमुख कारण रहेको देखिन्छ ।

निकुञ्जभित्र गैंडा तस्करहरु सजिलै पसेर गैंडा मार्ने क्रम चलिरहेको यस घटनाले पुष्टि हुने अधिकारी बताउँछन् । निकुञ्ज विभागका उपमहानिर्देशक अजय कार्कीले खुला र सहज ठाउँमा गैंडा मारेर खाग काटेर लैजानुले व्यवस्थापकीय कमजोरी देखिएको बताए । उनले भने, ‘यो कुनै अनकान्टार जंगलमा भएको घटना होइन, यसमा पक्कै पनि केही रहस्य लुकेको हुनुपर्छ । हाम्रा पनि कमजोरी भए ।

सेना र निकुञ्ज प्रशासनका बीचमा केही न केही समन्वयमा नभइ गैंडा मार्न सक्ने र खागसमेत निकाल्न सक्ने अवस्था छैन् । किन भने जहाँ गैंडा मारिएको छ त्याँ मुसाले आवज निकाल्दा पनि सुनिन्छ । कर्मचारीका अनुसार गैंडा मारिएको समयमा निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्य भने त्याँ थिएनन् । उनी १२ दिन विदा लिएर बेल्जियम भ्रमणमा छन् । आचार्य लामो समय विदामा रहेकै बेला तस्करले गैंडा मारेका हुन् । २४ घण्टा निकुञ्जकर्मी र सैनिकहरू अलर्ट पोजिसनमा रहेने ठाउँमा गैंडा मारिएकाले पनि सुरक्षा निकायमागि स्थानीयले शंका गरेका हुन् ।

निकुञ्जले केन्द्रीय वन्यजन्तु अपराध नियन्त्रण समन्वय समितिको ठाकेर घटनाका बारेमा कदम चाल्ने बताएपनि अहिलेसम्म केही भएको छैन् । निकुञ्जमा गैंडा मार्ने तस्करहरू पुनः सक्रिय हुने स्थिति देखिएको छ । यस्ता घटना बढ्नुका पछाडि धेरै फ्याक्टरहरु मध्ये निकुञ्जको सुरक्षा सक्रियता र सेनासँगको सामूहिक योजनामा गडबढी भएकै देखिन्छ । चितवन राष्ट्रिय निकुञ्जमा गत आर्थिक वर्षमा मात्र ३७ गैंडा मरेका थिए ।

यसरी सुरक्षा निकाय आधिकारीको संलग्नता भएको आशंका गरिँदा पनि सरकारले भने यसप्रति चासो देखाएको छैन् । निकुञ्जको संरक्षणमा रहेको सेना, उसको गस्ती र समग्र व्यवस्थापकीय कमजोरी देखिँदा पनि सरकारले राष्ट्रिय निकुञ्ज तथा संरक्षण विभाग र सम्बन्धित निकायसँग जानकारी समेत लिएको छैन् । जसले गर्दा तस्करहरुलाई आगामी दिनमा गैंडा सिकारका लागि थप हौसला मिल्दै जाने देखिएको छ ।


221
Shares
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info@nepalbahas.com मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा