९ माघ, काठमाडाैं । सन्दीप लामिछानेविरुद्धको जबरजस्ती करणीको मुद्दामा आज सुनुवाइ नहुने भएको छ । अन्तिम सुनुवाइका लागि जिल्ला अदालत काठमाडौंका न्यायाधीश नारायणप्रसाद दाहालको इजलासमा छैटौं नम्बरमा पेसी तोकिएको थियो ।
जाहेरवाला किशोरीका वकिलले पेसी सार्न निवेदन दिएका हुन् । वरिष्ठ अधिवक्ता सुनिता रेग्मीले आजको पेसी स्थगित गर्न अदालतमा निवेदन दिएकी हुन् ।
जिल्ला अदालत काठमाडौंले कात्तिक १८ गते पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो । तर सन्दिप जिल्ला अदालतको आदेश बदरको माग गर्दै सन्दिप वारेसमार्फत उच्च अदालत पाटन पुगेका थिए । उच्च अदालत पाटनले जिल्लाको आदेश बदर गर्दै सन्दीपलाई २० लाख नगद धरौटीमा रिहा गर्न आदेश दिएको छ ।
उच्चको आदेशसँगै ९९ दिनपछि उनी थुनामुक्त भएका थिए । बलात्कारको उजुरी परेपछि सन्दिप गत असोज २० मा पक्राउ परेका थिए ।