९ माघ, काठमाडौं । गएको पुष अन्तिम हप्ता त्रिवि कीर्तिपुरस्थित क्रिकेट मैदानमा सम्पन्न भएको नेपाल टी–२० लिगमा ‘सफ्ट फिक्सिङ’मा ४ नेपालीसहित कम्तीमा १० जना संलग्न भएको प्रहरीले निष्कर्ष निकालेको छ ।
उक्त घटनाको अनुसन्धान गरिरहेको प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो स्रोतका अनुसार ‘सफ्ट फिक्सिङ’ मा ४ जना नेपाली र ६ जना विदेशी संलग्न छन् ।
जसमध्ये क्रिकेटर महबुब आलम र मोहाम्मद आदिल अन्सारीलाई सीआईबीले सोमबार बिहानै पक्राउ गरिसकेको छ । अरुको खोजी भइरहेको जनाइएको छ । घटनामा संलग्न विदेशीले भने नेपाल छाडिसकेको सम्बन्धित देशको प्रहरीसँग समन्वयको काम भइरहेको जनाइएको छ ।
टी–२० लिगमा ‘म्याच फिक्सिङ’ नभई ‘सफ्ट फिक्सिङ’ भएको र खेलाडी व्यक्तिविशेषले खेल जिताउन र हराउन नगद लाभ लिएको आरोप छ ।‘सफ्ट फिक्सिङ’ भएकै कारण देशको क्रिकेटको इज्जत जोगाउन भन्दै लिगमा क्रिकेट कमेन्टेटर सचिन तिमिल्सेनाले बीचमै भूमिका छाडेका थिए ।
‘सफ्ट फिक्सिङ’को उजुरी नेपाल क्रिकेट संघमा समेत परेपछि सोका आधारमा सीआईबीले अनुसन्धान सुरु गरेको थियो ।