२४ माघ २०७९, मंगलवार
लुम्बिनी प्रदेश

राष्ट्रियसभाको उम्मेदवारका लागि कांग्रेसबाट ३ जना सिफारिस

प्रकाशित मिति :  ९ माघ २०७९, सोमबार १६:००


९ माघ, बुटवल । नेपाली कांग्रेस लुम्विनी प्रदेश समितिले रिक्त रहेको राष्ट्रियसभा सदस्यको पदको उम्मेदवारका लागि तीन जनाको नाम सिफारिस गरेको छ । माघ २५ गते हुने उपनिर्वाचनका लागि कांग्रेसले तीनजना नेताको नाम सिफारिस गरेको हो । नेकपा एमालेबाट निर्वाचित रुपन्देहीका खिमलाल भट्टराईले प्रतिनिधिसभा सदस्यमा उम्मेदवार हुन राजीनामा दिएपछि रिक्त रहेको उक्त सीटमा उपनिर्वाचन हुँदैछ ।

कांग्रेसले दाङका वीरकेशरी गौतम, रोल्पाका माधवप्रसाद आचार्य र बर्दियाका अरुणप्रकाश राठौरको नाम सिफारिस गरेको छ । गौतम र आचार्य पुर्वजिल्ला सभापति हुन् । आचार्य २०६४ सालमा हालका प्रधानमन्त्री प्रचण्डसँग संविधानसभा चुनावका प्रतिस्पर्धी हुन् । बर्दियाका राठौर पार्टी सभापति शेरबहादुर देउवा निकट हुन् । उनीहरुमध्येबाट १ जना उम्मेदवार बन्ने बुझिएको छ ।

माघ ११ गते उम्मेदवारको मनोनयपत्र दर्ता गर्ने कार्यतालिका प्रदेश निर्वाचन कार्यालय दाङले सार्वजनिक गरेको छ । नेपाली कांग्रेस लुम्विनी प्रदेश सभापति अमरसिंह पुनले प्रदेशका १२ वटै जिल्लाबाट नाम संकलन गरेर तीमध्ये ३ जनाको नाम केन्द्रमा सिफारिस गरेको जानकारी दिएका छन् ।

राष्ट्रियसभा सदस्यका लागि प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख तथा उपप्रमुख, अध्यक्ष तथा उपाध्यक्षहरूले मतदान गर्ने पाउने व्यवस्था रहेको छ । लुम्बिनीमा सत्ता गठबन्धनमा रहेका दलहरूको स्पष्ट बहुमत छ । माघ २५ गते घोराहीको कर्मचारी मिलन केन्द्रमा हुने उपनिर्वाचनका लागि माघ ८ गते मतदाता नामावली प्रकाशन भइसकेको छ ।

त्यसैगरी माघ १२ गते उम्मेदवारको विरोधमा उजुरी दिने, माघको १३ र १४ गते मनोनयन पत्र र उजुरी उपर जाँचबुझ, माघको १६ गते उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन गर्ने र उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने तालिका रहेको प्रदेश निर्वाचन कार्यालय दाङका सूचना अधिकारी गेहेन्द्र कुँवरले बताए । उपनिर्वाचनबाट निर्वाचित सदस्यको कार्यकाल करिब १ वर्षमात्रै हुनेछ ।


26
Shares
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info@nepalbahas.com मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा