९ माघ, काठमाडौं । दैलेख जिल्लाका विभिन्न स्थानीय तहमा कार्यरत जनस्वास्थ्य निरीक्षकहरुको मृत्युले स्वास्थ्य क्षेत्रमा अपूरणीय क्षति पुगेको बताइएको छ ।
छिन्चुदेखि सुर्खेततर्फ आउँदै गरेको बा प्र १०२६ च ९२१३ नंको डबल क्याप हाइलेक्स गाडी आइतबार बिहान २ः३० बजे सडकमा अनियन्त्रित भई वीरेन्द्रनगर नगरपालिका–११ सुर्खेत झुप्राखोलास्थित रत्न राजमार्गमा दुर्घटना भएको थियो । त्यसमा स्वास्थ्यकर्मीहरुको मृत्यु भएको घटनालाई लिएर यहाँस्थित विभिन्न निकाय, संघ संगठनले शोक विज्ञप्ति जारी गरेका छन् ।
सुर्खेत स्वास्थ्य सेवा निर्देशनालय, दैलेखस्थित स्वास्थ्य सेवा कार्यालयका साथै राष्ट्रिय कर्मचारी सङ्गठन (निजामती) कर्णाली प्रदेश समिति अध्यक्ष देवेश्वर गिरीले शोक वक्तव्य जारी गर्दै राष्ट्रसेवक कर्मचारीहरुको मृत्युले स्वास्थ्य क्षेत्र र पारिवारिक जीवनमै ठूलो क्षति पुगेका पुगेको बताइएको छ ।
उक्त दुर्घटनामा परी स्वास्थ्यकर्मीहरु क्रमशः दैलेख डुङ्गेश्वर गाउँपालिका–५ निवासी ३३ वर्षीय दीपेन्द्रजङ्ग शाही, भगवतीमाई गाउँपालिका–५ निवासी ३१ वर्षीय बबिन शाही र गुराँस गाउँपालिका–३ निवासी ३६ वर्षीय राजेन्द्र बिसी घाइते भएका थिए ।
कार्यक्रम सम्पन्न भएपछि उनीहरु बेलुकाको खाना भेरीगङ्गा नगरपालिका–१ मा खाएर राति वीरेन्द्रनगर फर्कने क्रममा दुर्घटना परेका थिए ।