१० माघ, काठमाडौं । नेकपा एमाले सचिव रघुवीर महासेठले सांसद लक्ष्मी महतो कोइरीमाथि अदालतले अपराधी किटानी नगरेको बताएका छन् । उनले सांसद कोइरालाई अदालतले अपराधी भनेर किटान नगरेकाले मन परेन भन्दैमा अपराधी भन्न नमिल्ने बताएका छन् । उनी दोषी भए पक्राउ गर्न एमालेले नरोकेको तर, पक्राउन नभएको विषयमा बारमबार एमाले जोडिनु गलत भएको बताए ।
प्रतिनिधिसभाको मंगलबारको बैठकमा बोल्दै महासेठले लक्ष्मी महतोलाई अपराधीकै रुपमा अदालतले किटान नगरेकाले अहिले उनीबारे धारणा नबनाउन सांसदसँग आग्रह गरे । उनले कोइरी अपराधी भए ३ वर्षसम्म कुनै सरकारले किन नसमातेको भन्दै प्रश्न गरे । पूर्ववर्ती सरकारले उनलाई सम्मानसमेत दिएको उनको भनाइ छ । लक्ष्मी महतोलाई प्रहरीले हिरासतमा लिएको छ भने सार्वजनिक गर्नुपर्ने उनले बताए ।
महासेठले नसमातिएको भए एमालेमाथि लगाएको आरोपमा सत्यत नहुने भन्दै गृहमन्त्रालयलाई कानुनअनुसार काम गर्न आग्रह गरे । उनले यसो भनिरहँदा कोइरी लोकप्रिय नेता रहेको र उनको मुद्दा पुनरावेदनको क्रममा रहेकाले अहिले नै अपराधी भन्न नमिल्ने दोहोर्याइरहे । कोइरी प्रहरीको फरार सूचीमा रहेका छन् ।