२४ माघ २०७९, मंगलवार
प्रतिनिधिसभा

गृह अन्तर्गतका सबै संयन्त्र विगतमा ध्वस्त बनाइएको रहेछः गृहमन्त्री

प्रकाशित मिति :  १० माघ २०७९, मंगलवार १५:०९


१० माघ, काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले गृह मन्त्रालय अन्तर्गतका सबै संरचना विगतमै राजनीतिक दलहरुले ध्वस्त बनाएको आरोप लगाएका छन् । उनले सबै राज्यका संयन्त्र काम चलाउने अवस्थामा पनि नरहेकाले नतिजा निकाल्न ढिला भएको बताएका छन् ।

प्रतिनिधिसभाको मंगलबारको बैठकमा गृहमन्त्री लामिछानेले यसअघि सत्ता सञ्चालन गर्ने दलहरूले राज्यका संयन्त्रलाई थिलथिलो बनाएर छाडेका कारण परिणाम ल्याउन केही समय लागेको बताए । राज्य संरचना र प्रणाली सुधारका लागि अन्य दलहरूको समेत सहयोग आवश्यक पर्ने बताए । विगतमा नातागोता र आफन्तलाई प्राथमिकता दिँदा सबै संयन्त्र खराब भएको उनको भनाइ छ ।

गृहमन्त्रीले भने, ‘राज्यका संयन्त्रहरूलाई थिलथिलो बनाएर छोडिएको छ । काम गर्नेहरूलाई कानुनको पालना गर्नेभन्दा पनि आदेश पालना गराउने गरी यति निरीह बनाएर राखिएको छ । हामी नयाँले जिम्मेवारी सम्हाले पनि हामीमाथि त्यही कोणबाट प्रश्नहरू आउने रहेछन् । तर म कामको माध्यमबाट, परिणामको माध्यमबाट ती प्रश्नहरूको जवाफ दिन चाहिरहेको छु ।’

उनले नेपाली जनताले ठूलो आशा र भरोसा राखेर आफुलाई जिताएर पठाएको भन्दै प्रणालीगत सुधारका लागि धेरै प्रयास गर्नुपर्ने देखिएको र प्रणाली सुधार एवं मापदण्डहरू निर्माणमा गृहमन्त्रालय केन्द्रित रहेको बताए । उनले भने, ‘अहिले सबै विषयहरूलाई लिएर म यही भन्छु कि राज्यका संयन्त्रहरूलाई हिजो चलाएजस्तो गरी अब चलाउन छोडिदिनुहोस्, आधा काम त्यतिकै सहज हुनेछ ।’

उनले सीडीओ आफ्नो, डीएसपी आफ्नो र सकेसम्म राज्यका निकायमा जिम्मेवार व्यक्ति आफ्नो हुनुपर्छ भन्ने सोच सबैले त्याग्न सक्नुपर्ने बताए । ‘सीडीओ आफ्नो चाहिएको छ, डीएसपी आफ्नो चाहिएको छ । सबैलाई राज्यको जिम्मेवार ठाउँमा आफ्नो मान्छे नै चाहिएको छ,’ उनले भने, ‘त्यसरी त प्रणाली सुधार गर्न तपाईहरूको योगदान के हुन्छ ? त्यसैले अब तपाईंहरू गृह प्रशासनले बनाएको संयन्त्रमाथि विश्वास गरिदिनुहोस्, व्यक्ति होइन, प्रणालीलाई बलियो बनाऔँ, प्रणालीले काम गर्छ । त्यसपछि नागरिकले सुशासनको अनुभूति गर्न सक्नेछन् ।’

उनले अघि भने, ‘अहिले किन काम हुँदैन, ढिला हुन्छ त ? यसको जवाफ सजिलो छ, राज्यका संयन्त्रहरूलाई चलाइएको छ, गिज्याइएको छ । ट्रयाकभन्दा बाहिर पुर्याइएको छ । त्यसैले म विश्वास दिलाउन चाहन्छु, त्यस्ता ठाउँहरूलाई ठीक गरेर नै हामी अहिले उठेका विषयहरूमा हामी निष्कर्षमा पुग्छौँ ।’ गृहमन्त्री लामिछानेले अहिले सरकार र आफूमाथि उठेका प्रश्नहरूको जवाफ परिणाममा दिने बताउँदै आफू नतिजा दिने गरी काम गर्ने पक्षमा रहेको दावी गरे ।


39
Shares
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info@nepalbahas.com मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा