२४ माघ २०७९, मंगलवार
प्रभु हेलिकोप्टर काण्ड
गण्डकी प्रदेश

नियामक निकायको कारवाहीबाट बच्न प्रभु हेलिकोप्टरको अर्को स्क्याण्डल

के कानुनी राज्यको धज्जी उडाउन खोजिएको हो ?

प्रकाशित मिति :  १० माघ २०७९, मंगलवार १९:०४


१० माघ, काठमाडौं । प्रभु समूह अन्तर्गतको प्रभु हेलिकोप्टर कम्पनीले गत पुष ३० गते शुक्रबार स्याङजाको वालिङमा अन्तराष्ट्रिय स्तरको गोल्ड कप फूटबल खेल चलिरहेका बेला स्थानीय प्रशासनको अनुमति बिना खेल मैदानमा हेलिकोप्टर अवतरण गराएर भएको ठूलो घटनालाई लिएर अर्को स्क्याण्डल मच्चाएको छ । खेलाडीहरू खेल खेलिरहेको र हजारौं दर्शकहरुले खेल हेरिरहेको समयमा जबरजस्ती खेल मैदानमा हेलिकोप्टर अवतरण गराएर झण्डै ठूलो दुर्घटना भएको भन्दै नेपाल नागरिक उड्डयन प्राधिकरणले हेलिकोप्टर उडानमा शनिबारदेखि रोक लगाउँदै कारवाही अगाडी बढाएपछि उक्त हेलिकोप्टर कम्पनीले क्याप्टेन रनेश डंगोललाई कुटपिट गरेको अभियोगमा उल्टै खेल आयोजकमाथि उजुरी दिन लगाएको छ ।

उक्त हेलिकोप्टर कम्पनीका अपरेशन म्यानेजरसमेत रहेका क्यापटने डंगोलले आफुलाई अनाहकमा कुटपिट गरिएको भन्दै खेल आयोजक र स्थानीय केही युवाबिरुद्ध वालिङ प्रहरीमा उजुरी दिएपछि प्रहरीले आज मंगलबार ६ जनालाई पक्राउ गरेको छ । क्याप्टेन डंगोलले टन्न मदिरा पिएर पोखराबाट उडाएको हेलिकोप्टर खेल भईरहेको मैदानमा अकस्मात अवतरण गराएका थिए । नशाको सुरुमा खेल मैदानमा हेलिकोप्टर अवतरण गर्न पुगेका डंगोलबिरुद्ध आयोजक क्लब र स्थानीयले उजुरी दिनुपर्नेमा उल्टै घटनाका विषयमा मिलापत्रको नाटक मञ्चन गरेको मसी सुक्न नपाउँदै वालिङ प्रहरीमा उजुरी दिएका छन् ।

उनको उजुरीपछि पक्राउ पर्नेमा हेलिकनेपाल पप्टर रिर्जब गर्ने यात्रु बिनोद गैह्रे, उज्वल थापा, शुशील गिरी र खिम बहादुर राना तथा खेल आयोजक यामबहादुर गुरूङ र सुरेश श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी निरीक्षक पदमराज थापाले जानकारी दिएका छन् । उनीहरुलाई आज वालिङ प्रहरीले नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय स्याङजा पठाएको डीएसपी ढकेन्द्र खतिवडाले नेपालबहसलाई जानकारी दिए । उनीहरुमाथि अभद्र व्यवहार सम्बन्धी कसूरमा मुद्दा दायर गरी दुई दिन म्याद थप गरी अनुसन्धान भईरहेको उनले बताए । माघ ९ गते वालिङ स्थित वडा प्रहरी कार्यालयमा उड्यन सुरक्षा र हुलहुज्जत गरि क्याप्टेन माथि हातपात गर्ने विरूद्ध कारवाहीको माग गर्दै उजुरी गरिएको हो ।

प्रभु हेलिकोप्टर कम्पनीको पोखरा शाखाका स्टेशन म्यानेजर सुजन जोशीले वालिङमा भएको घटनाका विषयमा खेल आयोजक पक्ष, खेलाडी, स्थानीय, वालिङ नगरपालिकाका मेयर कृष्ण खाँड र प्रहरीको रोहवरमा कुनै पनि उजुरी वा मुद्दा मामिला नगर्ने सहमति भएपछि कम्पनीको सल्लाह विना नै क्याप्टेन डंगोलले उजुरी दिएको हुनसक्ने बताए । उनले कारवाहीबाट बच्चनका लागि उजुरी दिएपनि यसबारे आफुलाई जानकारी नभएको र जानकारी भएमा उपलब्ध गराउने बताए । तर, स्रोतका अनुसार कम्पनीको सहमतिमा नै डंगोलले उक्त उजुरी दिएका थिए ।

स्थानीयको भनाई अनुसार गत पौष ३० गते प्रभु एयरको हेलिकोप्टर वालिङमा अन्तराष्ट्रिय स्तरको गोल्ड कप हुँदै गर्दा खेल रोकेर जोखिमपूर्ण अवतरण गरेपछि स्थिति तनावग्रस्त बनेको थियो । बिना अनुमति आएको र मदिरा पिएर जथाभावी गरेको भन्दै स्थानीय युवाहरूले क्याप्टेन र सवार यात्रुहरू माथि हातपात गरि सामान्य घाइते बनाएका थिए । त्यसपछि क्याप्टेन डंगोलले घाइते अवस्थामै हेलिकोप्टर उडाएर पोखरा अवतरण गराएका थिए । घाइते क्याप्टेनले घाईते अवस्थामै हेलिकोप्टर एउटा आँखाले मात्र तत्काल पोखरा अवतरण गराए ।उनले घटनास्थलमा स्वास्थ्य समस्याको विषयमा प्रहरी प्रशासनसँंग सहयोग नमागी जोखिम उडान गरेको देखिन्छ । उनीसँगै चार्टर गर्ने ४ जना मध्येका एक युवा सँगै फर्केको देखिन्छ ।

माघ ६ गते स्थानीय आयोजक वालिङ युनाइटेड फुटबल क्लब र प्रभु हेलिकोप्टरको स्टेशन मेनेजर सुजन जोशीबीच घटनाको विषयमा वालिङ नगरपालिकाका प्रमुख कृष्ण खाँणको रोहवरमा मिलापत्र भएको थियो । यो घटना भएपछि प्रभु एयरका सबै हेलिकोप्टरको उडानमाथि प्रतिबन्ध गरि लिखित जवाफ दिन नागरिक उड्ययन प्राधिकरणले प्रभु एयर र क्याप्टेनसहितलाई निर्देशन दिएको थियो । तर माघ ९ गते क्याप्टेन रनेश डंगोल वडा प्रहरी कार्यालयमा उजुरी जाहेरी गर्दै हेलिकोप्टर चार्टर गर्ने ४ जना र हातपातमा संलग्न युवाहरूका विरूद्धमा कारवाहीको माग गर्दै मुद्दा दर्ता गरेका छन् ।

आज माघ १० गते वालिङमा आयोजक क्लबको आकस्मिक बैठकले कानुनी परामर्श लिई आरोपितलाई थुनामुक्त गर्न प्रहरी प्रशासनसँग आग्रह पनि गरेको छ । तर, प्रभु एयरको हेलिकोप्टर वालिङ खेल मैदानमा जोखिमपूर्ण अवतरण गर्ने, बीचमा मिलापत्र पनि गर्ने अनि उक्त सहमति तोड्दै क्याप्टेन रनेश डंगोलले हेलिकोप्टरमा सवार ४ जना र हातपात गर्ने विरूद्ध कारवाहीको माग राख्दै उजुरी दिएपछि प्रभु कम्पनीका थप कर्तुतहरु खुल्न थालेका छन् ।

यता, प्रभु हेलिकोप्टर कम्पनीले क्याप्टने डंगोलमार्फत सहमति विपरित उजुरी दिएर कारवाहीबाट बच्ने प्रयास गरेपछि नेपाल नागरिक उड्डयन प्राधिकरणले पनि उसमाथि थप कारवाही चलाउने तयारी गरेको छ । प्राधिकरणका एक कर्मचारीले दिएको जानकारी अनुसार क्याप्टेन डंगोललाई उडानमा प्रतिबन्ध लगाउँदै उनको उडान लाईसेन्स निलम्बन गरिएको छ । प्राधिकरणले प्रभु एयर कम्पनीसँग रहेका ६ वटा हेलिकोप्टर उडानमा पनि रोक लगाएको थियो । बुधबारबाट हलिकोप्टर उडान गर्न लगाइएको प्रतिबन्ध फुकुवा हुनसक्ने भएपनि थप अनुसन्धान, सोधपुछ गर्ने र कागजात माग गर्ने क्रम भने जारी रहेको छ।

प्राधिकरणले प्रभु हेलिकोप्टर कम्पनीबाट सबै कागजात मगाएर छानविन थालेको छ । प्रभुले यसअघि पनि विना अनुमति लापरवाहीपूर्ण हेलिकोप्टर उडान गर्दै आएको पाइएको प्राधिकरण स्रोतको भनाई छ । कर्मचारीका अनुसार हेलिकोप्टरको चार्टर उडान हुने भएकाले हवाइ जहाजको जस्तो सेड्युल नभएपनि उसले उडानका लागि अनुमति भने लिनुपर्छ । विना अनुमति हेलिकोटर उडाउन पाइदैन् ।

कम्पनीबाट मगाइएका कागजातमा चित्त नबुझे थप कागज मगाउने उसको तयारी छ । सबै अनुसन्धान पछि हेलिकोप्टर उडानमा लापर्वाही गर्दै आएको प्रभु एयर कम्पनी र त्यसका अन्य चालकमाथि पनि कारवाही गर्ने प्राधिकरणको तयारी छ । प्राधिकरणका कारवाहीबाट बन्च प्रभु कम्पनीले जो चोर उसैको ठूलो स्वर गरेपछि कम्पनीको सर्वत्र आलोचना भइरहेको छ । प्रभु एयर कम्पनी प्रभु समूह अन्तरगत रहेको छ । यसका मुख्य हर्ताकर्ता देवी भट्टचन हुन् ।

अहिले मोटो रकम बुझाएर नेकपा एमालेबाट समानुपातिक सांसद बनेको आरोप लागेका देवी भट्टचन नेतृत्वमा प्रभु समूह अन्तर्गत रहेको प्रभु हेलिकोप्टरले स्याङ्जाको वालिङ घटनामा राजनीतिक पुहँज देखाएको बताइएको छ । प्रहरी स्रोतका अनुसार भट्टचनकै निर्देशनमा प्रहरी प्रशासनले पनि घटना घटाउने मुख्य दोषीलाई संरक्षण दिँदै खेल अबरुद्ध गराउनेबिरुद्ध प्रतिकार गर्नेहरुलाई समाएर कारवाही चलाएको छ । भट्टचनको दवावकै कारण विना अनुमति हेलिकोप्टर उडाउने र संवेदनशील क्षेत्रमा अवतरण गराएरको भन्दै सम्बन्धित नियामक निकायले लाइसेन्स नै रद्ध गर्ने तयारी गरेको व्यक्तिलाई प्रहरी भने संरक्षण गर्न बाध्य भएको छ ।

र याे पनिः 

वालिङ गोल्डकपमा प्रभु समूहले देखायो ताण्डव: विना सूचना खेल मैदानमा हेलिकप्टर अवतरण, कुटिए चालक


6.38k
Shares
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info@nepalbahas.com मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा