२४ माघ २०७९, मंगलवार
विचार - बहस

कांग्रेसको अबको बाटोः प्रमुख प्रतिपक्षको दर्जा त गुमाउने भयो नै अरु पदमा पनि र्याल चुहाइरहने ?

प्रकाशित मिति :  ११ माघ २०७९, बुधबार ०७:३९


राजनीतिलाई सम्भावनाको खेल पनि भनिन्छ । मर्यादामा रहेर अघि बढ्यो भने यसले राष्ट्र र जनतालाई हित गर्छ । दल र नेतालाई नगर्ने कुरा भएन । नेपालको राजनीतिले मर्यादा गुमाउँदै छ । आफूलाई विशेष र अब्बल मान्ने कम्युनिष्ट दलहरु र तिनका नेताहरुले राजनीति र लोकतन्त्रको मर्यादा पालन गरेनन्, कांग्रेस र त्यसका नेताहरुले पनि मर्यादापालन गरेका छैनन् ।

गठबन्धन गर्दा नीतिलाई भन्दा पदलाई केन्द्रमा राखेर राजनीतिलाई अगाडि बढाउन प्रयास गरिँदै छ । पदका लागि जे पनि गर्ने प्रवृत्ति डरलाग्दोसँग बढ्दै छ । राष्ट्र र जनताको कामभन्दा अति क्रान्तिकारी लाग्ने गफमा भुलाउने प्रयत्न भइरहेको छ । कांग्रेस हाँक्ने सभापति शेरबहादुर देउवा र तिनका वरिपरिका नेताहरुले सरकार बनाउने अवसरता गुमाए नै पद र शत्तिको लोभमा प्रमुख प्रतिपक्षको स्थान पनि गुमाउने अवस्थामा कांग्रेसलाई पुर्याएका छन् । संस्थापन इतरको शेखर कोइराला समूहले पनि राजनीतिको समय र प्रभाव ख्याल गरेर अगाडि बढेको देखिन्न । यिनै मूर्खताका कारण कांग्रेसले आफ्नो हातको प्रमुख प्रतिपक्षको स्थान पनि गुमाउने अवस्थामा पुगेको छ ।

कांग्रेसका लागि पनि माओवादी केन्द्र चाहिने, एमालेलाई पनि उही चाहिने भए पनि दाहालले तत्कालै एमाले छाडेर पुनः कांग्रेस पछ्याउने अवस्था छैन । अहिले उनी चल्मलाउन थाले भने उनको अहिलेको शक्ति गुम्नेछ । ठूलो दल भए पनि कांग्रेसले जुनसुकै अवस्थामा दह्रोसँग माओवादीको अस्तित्व जोगाइदिन पनि सक्नेछैन ।

कांग्रेस सभापति देउवा र उनका सहयोगीहरुले सभामुख, उपसभामुख, राष्ट्रपतिदेखि अन्य संवैधानिक पद पाइएला भन्ने लालसाका कारण कांग्रेसलाई माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिन बाध्य पारे । कांग्रेसका सभापति र उनको समूह माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ गठबन्धन त्यागेर प्रधानमन्त्री बन्न केपी ओलीसँग गठजोड गर्दा पनि केही पद पाउने लोभमा डुब्नु डरलाग्दो मूर्खता हो ।

सत्ता र शक्तिका माहिर खेलाडी केपी ओली र प्रचण्डको हातमा परेको सत्ता र शक्ति कुनै भवितव्य नपरी सजिलै कांग्रेसको टपरीमा चुहेला भन्नु राजनीतिक अल्पदृष्टि नै हो । माओवादी केन्द्र वा सरकारमा संलग्न अन्य दल र तिनका नेताहरुले एमालेको प्रस्ताव र चाहनाविरुद्ध न कांग्रेसका राष्ट्रपति उम्मेदवारलाई भोट दिनेछन् न अरु संवैधानिक निकायका पदहरु कांग्रेसलाई दिनेछन् । केपी ओलीलाई सशंकित बनाउन र आफूलाई अप्ठ्यारोमा पर्दा काम लाग्ला भनेर कांग्रेससँग नजिक बनेजस्तो देखिए पनि अहिलेको अवस्थामा दाहालले कुनै पद एमालेबाट खोसेर वा आफ्नो दलले त्यागेर कांग्रेसलाई दिन सक्ने छैनन् ।

कांग्रेसको देउवा पक्षले जति र्याल चुहाएर ढुके पनि अहिले सत्ताको चास्नी केही पनि पाउने छैन । कुनै काकताली परेर पायो भने पनि अब सजिलै कांग्रेसले पचाउन पनि कठिन छ । गठबन्धनको समयमा पनि कांग्रेसले केन्द्र वा प्रदेश कुनै पनि सरकार व्यवस्थित, सशक्त र कुशल रुपमा अघि बढाउन सकेन । कांग्रेसको सबै शक्ति उपयोग गरेर सशक्त र कुशल रुपमा अगाडि बढ्न सकेको भए कांग्रेसको जनमत नै अर्कै हुने थियो । यसमा संस्थापन पक्षको ठूलो विफलता हो ।

एमालेले आफ्नो हातबाट गुमेको र गुम्न सक्ने अवस्थामा पुगेको सरकार केपी ओलीको चातुर्यले पुनः हात पारेको छ । उसले ठूलो दलका हैसियतले र राजनीतिक शक्तिका हिसाबले पनि सभामुख लिइसक्यो, मुख्यमन्त्रीहरु लिइसक्यो अब राष्ट्रपतिदेखि अन्य संवैधानिक आयोगका मुख्य पद लिनेछ । अहिलेको अवस्थामा पुष्पकमल दाहालले एमाले र कपी ओेलीलाई चिढ्याएर कुनै पनि काम गर्ने छैनन् । उनले देउवा र उनका आसेपासेले सत्ताको सिर्तोको र्याल चुहाएकाले सजिलै कांग्रेसको विश्वासको मत पाइन्छ भने किन उपयोग नगर्ने ? उपयोग गरे, सर्वदलीय सहमति, राष्ट्रिय सहमतिको जाल फाले तर उनले ओलीको चाहनाविपरीत केही पनि काम गर्ने छैनन् । कांग्रेसका लागि पनि माओवादी केन्द्र चाहिने, एमालेलाई पनि उही चाहिने भए पनि दाहालले तत्कालै एमाले छाडेर पुनः कांग्रेस पछ्याउने अवस्था छैन । अहिले उनी चल्मलाउन थाले भने उनको अहिलेको शक्ति गुम्नेछ । ठूलो दल भए पनि कांग्रेसले जुनसुकै अवस्थामा दह्रोसँग माओवादीको अस्तित्व जोगाइदिन पनि सक्नेछैन ।

राजनीतिका दाउ अनेक हुन्छन् । एमाले नेतृत्वको अघिल्लो ओली सरकारले संघका १८ मन्त्रालयबाट २२ पुर्यायो । प्रदेशमा पनि मन्त्रालयको संख्य अधिकतम बनायो । कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वको गठबन्धन सरकार हुँदा मुख्यतः माओवादी केन्द्र र अन्य संलग्न दलहरुलाई भाग पुर्याउन प्रदेशका मन्त्रालयहरु थपिए । अहिले दाहाल सरकारले खर्च कम गर्ने भन्दै प्रदेशका मन्त्रालयको संख्या घटाउँदै छ । प्रदेश मन्त्रालयको संख्या घटाएर राष्ट्रिय खर्च घटाउनु उचित हो तर दलहरुमा इमान्दारिता खै त ? एकपटक तिनै दलले सीमित स्वार्थका लागि बढाउने, तिनै दलले पुनः जनतालाई भ्रममा पार्न घटाउने उचित होइन । यदि खर्च घटाउने हो भने सरकारी खर्च पुवरावलोकन आयोगदेखि अन्य समितिहरुका सुभावहरु कार्यान्वयन गर्छ त यो सरकारले ? सम्भवतया त्यो हुने छैन । राम्रो काम नै किन नहोस्, त्यसलाई गलत उद्देश्य प्राप्तिका लागि प्रयोग गरियो भने त्यसले राज्य संयन्त्रमा राम्रो प्रक्रिया (सिस्टम) तयार गर्दैन ।

कांग्रेसको देउवा पक्षले जति र्याल चुहाएर ढुके पनि अहिले सत्ताको चास्नी केही पनि पाउने छैन । कुनै काकताली परेर पायो भने पनि अब सजिलै कांग्रेसले पचाउन पनि कठिन छ । गठबन्धनको समयमा पनि कांग्रेसले केन्द्र वा प्रदेश कुनै पनि सरकार व्यवस्थित, सशक्त र कुशल रुपमा अघि बढाउन सकेन । कांग्रेसको सबै शक्ति उपयोग गरेर सशक्त र कुशल रुपमा अगाडि बढ्न सकेको भए कांग्रेसको जनमत नै अर्कै हुने थियो । यसमा संस्थापन पक्षको ठूलो विफलता हो । यति मात्रै होइन संस्थापन इतर पक्ष अर्थात् शेखर कोइराला पक्षको पनि कम्ती कमजोरी मान्न मिल्दैन ।

प्रजातन्त्रका मूल्यमान्यतालाई पूर्ण आत्मसात गर्दै शिष्ट, नियमसंगत तथा न्यायसंगत शासन प्रणालीमा विश्वास गर्ने उच्चशिक्षा हासिल गरेको युवाहरुको ठूलो जमात भएर पनि देउवाको छायाँमा परिरह्यो । नेतृत्वले गल्ती गर्यो भनेर पछुताउनु वा विरोध गर्नुको सट्टा हस्तक्षेपकारी भूमिका निर्वाह गर्न सक्नुपथ्र्यो । त्यसो हुन सकेन । अहिलेकै अवस्थामा पनि प्रचण्डको राजनीतिक व्यवहार, मनोविज्ञान, महत्वाकांक्षा र ओलीको उनलाई नजिक्याउन गरिरहेको प्रयासलाई यो समूहले पनि समयमै बुझ्न सकेन । अन्तमा देउवा र उनको पक्षको गलत र लोभी प्रवत्तिका सामू झुकेर प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिन बाध्य भयो । देउवा नेतृत्वको सरकारका बेला पनि गलत तथा कमजोर कार्य प्रक्रियाविरुद्ध हस्क्षेपकारी भूमिका निर्वाह गर्न सकेन ।

अबको समय भनेको गल्ती गर्न थाल्दा परबाट हेरेर बस्ने, भइसकेपछि पछुताउने वा विरोध गर्नुको कुनै अर्थ छैन । कांग्रेसले अब सिद्धान्तको पुर्न व्ख्याया, गलतलाई गलत भन्न सक्ने दह्रो हिम्मत राख्न सक्नुपर्छ । सरकारमा भए वा प्रतिपक्षमा भए पनि राष्ट्रलाई एउटा व्यवस्थित बाटो हिँडाउन ठूलो प्रयास थाल्नु पर्नेछ । कांग्रेसले अब पनि सत्ताको र शक्तिमा र्याल चुहाएर बस्दा सरकारका गलत कामको विरोध हुनेछैन भए पनि जनताले पत्याउने छैनन् । जनताले पत्याउने गरी इमान्दार भएर अघि नबढे कांग्रेसको पतन हुन बेर लाग्ने छैन ।


1.11k
Shares
नेपालबहस डटकमका नियमित स्तम्भकार भेषराज पोखरेल वरिष्ठ पत्रकार हुन् । विगत २५ वर्षदेखि अर्थराजनीतिक धारमा कलम चलाउँदै आएका पोखरेलले कान्तिपुर दैनिकमा २० वर्ष भन्दा बढी समय भाषा सम्पादकका रुपमा काम गरेका छन् । स्वतन्त्र लेखकका रुपमा समेत विभिन्न दैनिक पत्रपत्रिकाहरुमा लेखहरु लेख्दै आएका पोखरेलले दुई वर्ष नेपाल तारा डटकमको सम्पादकको रुपमा काम गरेको अनुभव पनि छ ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा




बागलुङको धुल्लु गाउँ
नेपालबहस संवाददाता